महासंघका वरिष्ठ उपाध्यक्षका प्रत्यासी श्रेष्ठको बाचाः जीवन्त, जिम्मेवार र जोसिलो निजी क्षेत्र



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का वरिष्ठ उपाध्यक्षका प्रत्यासी अन्जन श्रेष्ठ तथा उनको टिमले औपचारिक रुपमा टिम घोषणा गर्दै आफ्नो समूहको वाचापत्र सार्वजनिक गरेको छ ।

वाचापत्र सार्वजनिक गर्दै श्रेष्ठले जीवन्त, जिम्मेवार र जोसिलो निजी क्षेत्रको लागि आफूले उम्मेदवारी दिएको बताए । घोषणा कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी श्रेष्ठले स्थानीय उत्पादनको प्रवर्धन गर्दै औद्योगिक विकासमा अगाडि बढ्नुपर्ने धारणा राखे ।

नेपाल जस्तो मुलुकमा कुनै पनि व्यवसाय टिकाउन व्यवसाय विस्तार गर्न जरुरी भएको भन्दै उनले निजी क्षेत्रको नेतृत्वले साना र मझौला व्यवसायीको समस्यालाई समेत सम्बोधन गरेर सँगै अगाडि बढ्नुपर्ने बताए ।

महासंघलाई नयाँ उचाइमा पुर्याउन र संस्थाको व्यावसायिक क्षमता अभिवृद्धिका साथै संस्थागत प्रभावकारिता बढाउन आफ्नो बाचापत्रलाई आधार मानेर काम गर्ने उनले स्पष्ट पारे ।

आफ्नो टिमले सहभावना र सहकार्यको मूल आधारलाई लिएर अगाडि बढ्ने र हरेक उद्योगी व्यवसायीलाई महासंघमा पहिचान दिलाउने प्रतिबद्धता उनले जाहेर गरे ।

श्रेष्ठको समूहबाट जिल्ला नगरतर्फका उपाध्यक्षमा अरुणराज सुमार्गी र वस्तुगत तर्फका उम्मेदवारतर्फ मनिषलाल प्रधानले उम्मेदवारी घोषणा गरेका छन् ।

श्रेष्ठ समूहसँग सहकार्य गर्दै एसोसिएट्सतर्फ उपाध्यक्ष पदमा स्वतन्त्र प्यानलबाट उम्मेदवारी दिएका भरतराज आचार्यले सामूहिकतामा विश्वास गर्ने हुँदा सोही अनुसार सहकार्य गरिएको बताए ।

यस्तै समूहको तर्फबाट वस्तुगत समूह र जिल्ला नगरतर्फका प्यानल सदस्यहरुले समेत औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छन् ।


क्लिकमान्डु