उद्योग वाणिज्य महासंघ निर्वाचन: ६४ पदका लागि ११८ जनाको उम्मेदवारी



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि ६४ पदमा ११८ जनाले मनोनयन दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराएकामध्ये लुम्बिनी प्रदेश सदस्यमा जमशेर मियाँ र द्विराष्ट्रिय सदस्यमा नेपाल-भारत उद्योग वाणिज्य संघका प्रतिनिधि सुनिल केसी निर्विरोध निर्वाचित भएका छन् । ती दुई पदका लागि एकल उम्मेदवारी परेको हो ।

चैत २९ गते हुने निर्वाचनका लागि मंगलबारसम्म अन्तिम उम्मेदवारी दर्ताको समय तोकिएको थियो । महासंघका अनुसार ६४ पदका लागि ११८ जनाले उम्मेदवारी दर्ता गराएकोमा द्विराष्ट्रिय र लुम्बिनी प्रदेश सदस्य निर्विरोध निर्वाचित भएका छन् । विभिन्न पदका लागि ११६ जनाले प्रतिस्पर्धा गर्नेछन् ।

वरिष्ठ उपाध्यक्ष पदका लागि ३, जिल्ला/नगरतर्फको उपाध्यक्षका लागि ३, वस्तुगततर्फको उपाध्यक्षका लागि ३ र एसोसिएटतर्फको उपाध्यक्षका लागि २ जनाको उम्मेदवारी परेको छ ।

वरिष्ठ उपाध्यक्षका लागि महासंघका वस्तुगततर्फका पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ, वस्तुगततर्फका वर्तमान उपाध्यक्ष अञ्जन श्रेष्ठ र एसोसिएटतर्फका उपाध्यक्ष रामचन्द्र संघईले आ-आफ्नो प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् ।

उमेशलालको प्यानलबाट जिल्ला/नगरतर्फ उपाध्यक्षमा दिनेश श्रेष्ठले मनोनयन दर्ता गराएका छन् भने वस्तुगततर्फको उपाध्यक्षमा हेमराज ढकाल र एसोसिएटतर्फको उपाध्यक्षमा भरतराज आचार्यले उम्मेदवारी दिएका छन् ।

त्यस्तै अञ्जन श्रेष्ठको प्यानलबाट जिल्ला/नगरतर्फ उपाध्यक्षमा अरुणराज सुमार्गी र वस्तुगततर्फ उपाध्यक्षमा मनीषलाल प्रधानले उम्मेदवारी दिएका छन् । श्रेष्ठले एसोसिएटतर्फको उपाध्यक्षका लागि उमेशलालकै प्यानलका भरतराज आचार्यलाई समर्थन गरेका छन् ।

त्यसैगरी संघईको प्यानलबाट उपाध्यक्ष पदमा जिल्ला नगरतर्फ सुरकृष्ण वैद्य, वस्तुगततर्फ सकुन्तलाल हिराचन र एसोसिएटतर्फ ज्योत्स्ना श्रेष्ठ उठेका छन् ।

जिल्ला/नगरतर्फ १८ सदस्यका लागि ३२, वस्तुगततर्फ १४ सदस्यका लागि २८ र एसोसिएटतर्फ १९ सदस्यका लागि २९ जनाको उम्मेदवारी परेको छ । प्रदेश सदस्यतर्फ कोशीमा १ सदस्यका लागि ३, मधेसमा १ सदस्यका लागि २, बागमतीमा १ सदस्यका लागि २, गण्डकीमा १ सदस्यका लागि २, कर्णालीमा १ सदस्यका लागि ३ र सुदूरपश्चिममा १ सदस्यका लागि २ जनाको उम्मेदवारी परेको छ ।

उम्मेदवारको अन्तिम नामावली चैत २७ गते साँझ ५ बजे प्रकाशन हुने महासंघले जनाएको छ । अन्तिम नामावली प्रकाशन हुनु अघिसम्ममा दाबी विरोध गर्ने र उम्मेदवारी फिर्ता लिन चाहनेले फिर्ता लिन सक्ने व्यवस्था छ ।

हाल महासंघमा जिल्ला/नगर उद्योग वाणिज्य संघतर्फ १२१, वस्तुगततर्फ १२३, द्विराष्ट्रियतर्फ १२ र एसोसिएटतर्फ १ हजार ७६२ गरी २ हजार १८ सदस्य छन् । मतभार पनि फरक-फरक हुन्छ ।

जिल्ला/नगर उद्योग संघको ५०, वस्तुगतको २० तथा द्विराष्ट्रिय र एसोसिएटको १५-१५ प्रतिशत मतभार हुन्छ । साधारणसभामा भाग लिन प्रतिनिधि शुल्कबापत प्रति संघ-संस्थाका लागि ३५ सय रुपैयाँ तोकिएको छ ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । त्यसकारण पनि वरिष्ठ उपाध्यक्ष पदमा कडा प्रतिस्पर्धा हुने गर्छ । विधानअनुसार हाल वरिष्ठ उपाध्यक्ष रहेका चन्द्रप्रसाद ढकाल साधारण सभाबाट स्वत: अध्यक्ष बन्नेछन् ।


क्लिकमान्डु