अञ्जन र उमेशलालको संयुक्त उपाध्यक्षको उम्मेदवार भरत आचार्य, ज्योत्स्नासँग पनि छलफल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्यासी अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठले एसोसिएट उपाध्यक्षमा भरतराज आचार्यलाई अघि सारेका छन् ।

अञ्जनको टिमबाट एसोसिएट उपाध्यक्षको उम्मेदवारी दिएका प्रवलजंग पाण्डेले आफू ब्याक भएको घोषणा गरेसँगै भरत दुबै टिमको साझा उम्मेद्वार बनेका हुन् ।

अञ्जन श्रेष्ठको टिमबाट एसोसिएट उपाध्यक्षको चुनाव उठ्ने भन्दै हिँडेकी ज्योत्स्ना श्रेष्ठले अन्तिम समयमा रामचन्द्र संघईको टिमबाट उम्मेदवारी दर्ता गराएपछि महासंघको राजनीति तातेको थियो । ज्योत्स्नाले मनोनयन दर्ता गरेकै दिन प्रवलले अञ्जनको टिमबाट चुनाव उठ्ने घोषणा गरेका थिए ।

लामो समयदेखिका मिल्ने साथी रहेका भरत र प्रवल एक औषधी कम्पनीका व्यावसायिक साझेदार पनि हुन् । त्यसैले उनीहरु एकै पदमा चुनाव नउठ्ने आंकलन गरिएको थियो ।

अञ्जन र उमेशलालको टिमबाट एसोसिएटका साझा उम्मेदवार बन्न सफल भएका भरत आचार्यले ज्योत्स्नासँग पनि सर्वसहमतिका लागि कुराकानी भइरहेको बताएका छन् ।

‘म त सुरुदेखि नै सर्वसहमतिको पक्षमा थिएँ, आज प्रवलजीले मलाई छाड्नुभयो, ज्योत्स्नाजीसँग पनि कुराकानी भइरहेको छ,’ आचार्यले क्लिकमान्डुसँग भने, ‘सकारात्मक परिणाम आउनेमा म विश्वस्त छु ।’

चैत अन्तिमदेखि महासंघको अध्यक्ष बन्दै गरेका चन्द्र ढकालका विश्वास पात्र मानिने आचार्य सुरुदेखि नै सर्वसहमतिको कुरा गरिरहेका छन् । ढकालले पनि यो कठिन घडीमा सर्वसहमतिमै नेतृत्व चयन गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।

स्रोतहरुका अनुसार उनकै सक्रियतामा आचार्यलाई दुबै प्यानलको साझा उम्मेदवार बनाइएको हो । उमेश र अञ्जनको टिममा रहेका एसोसिएट सदस्य ९-९ राख्ने सहमति भएको छ।


क्लिकमान्डु