बूढानीलकण्ठ हेरिटेजसहित ७ ठूला होटल दर्ता, १० अर्ब लगानी प्रतिबद्धता



काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा देशभर ठूला लगानीमा ७ वटा होटल दर्ता गरेका छन् । देशभर पर्यटन क्षेत्रमा ३० भन्दा बढी उद्योग दर्ता हुँदा ७ वटा होटलमा ठूलो रकमको लगानी प्रतिबद्धता जनाइएको छ ।

उद्योग विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा ७ वटा होटल दर्ता हुँदा १० अर्बको लगानी प्रतिबद्धता जनाइएको हो ।

उक्त अवधिमा साना, मध्यम र ठूला गरी देशभर ३० वटाको हाराहारीमा उद्योग दर्ता भएका छन् । त्यसमध्ये ७ वटा होटलमा मात्रै ठूला लगानी रहेको छ ।

तथ्याङ्कमा ७ वटा होटलले ९ अर्ब ९९ करोड ७४ लाख २७ हजार रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् । ६ महिनाको अवधिमा दर्ता भएका होटलमध्ये आयुष्मान होटल्स लिमिटेडले लगानी गरेको देखिन्छ ।

कम्पनीले २ अर्ब ५१ करोड रुपैयाँ लगानीमा झापाको मेचीनगर नगरपालिका वडा–३ मा ९५ बेडसहित १९० सिटको रेष्टुरेन्ट सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएको छ ।

त्यसैगरी, काठमाडौंको बूढानीलकण्डमा बूढानीलकण्ठ हेरिटेजले २ अर्ब ४० करोड रुपैयाँमा तारे होटल निर्माण गर्ने प्रतिबद्धता जनाएको छ । कम्पनीले १०२ वटा कोठासहित ३ सय सिटको रेष्टुरेन्ट निर्माणका लागि २ अर्ब ४० करोेड रुपैयाँ लगानी प्रतिबद्धता जनाएको छ ।

विभागअनुसार झापा जिल्लाको मेचिनगर वडा–१० मा थप होटल इष्टर्न नेपाल प्रालि निर्माणका लागि उद्योग दर्ता भएको छ । १ अर्ब ६९ करोड ७ लाख रुपैयाँ लगानीमा ९९ वटा बेडको सुविधासहित २५० सिटको रेष्टुरेन्ट बन्नेछ ।

त्यस्तै, रुपन्देही जिल्लाको सिद्धार्थनगरमा मार्स हस्पिटालिटी ग्रुप प्रालिले लगानी १ अर्ब ३८ करोड २६ लाख ५५ हजार रुपैयाँ लगानी प्रतिबद्धता जनाएको छ । कम्पनीले उक्त स्थानमा २ सय बेडसहित ११० सिटको रेष्टुरेन्ट निर्माण गर्नेछ ।

बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले ९७ बेडसहित २५० सिटको रेष्टुरेन्ट सञ्चालनमा ल्याउनेछ । तनहुँ जिल्लाको बन्दिपुर नगरपालिका वडा–४ मा ८६ करोड ४० लाख रुपैयाँ लगानीमा होटल निर्माण गर्ने भएको हो ।

सुनसरी जिल्लाको इटहरीमा ६० करोड लगानीमा ग्राण्ड सेन्ट्रल होटल प्रालि निर्माण गर्ने भएको छ । सुनसरीमा ९८ बेडसहित १२० सिटको रेष्टुरेन्टका लागि लगानी प्रतिबद्धता जनाएको छ ।

साथै, कास्की जिल्लाको पोखरा महानगरपालिकाको वडा–१८ मा दोर्जेज फार्म रिसोर्ट प्रालिले ५५ करोड लगानीमा रिसोर्ट सञ्चालन गर्ने भएको छ । कम्पनीले ५५ बेडसहित २ सय सिटको रेष्टुरेन्ट सञ्चालनमा ल्याउनेछ ।


क्लिकमान्डु