कोभिडपछि खस्कियो सोना सिमेन्टको व्यापार, २ अर्ब ३७ करोड आम्दानी



काठमाडौं । कोभिडपछि सोना ब्राण्डमा सिमेन्ट बिक्री वितरण गर्दै आएको सोनापुर मिनिरल्स एण्ड आयल प्रालिको व्यापार झनै खस्किएको छ । कोभिडको समयमा पनि उच्च व्यापार गरेको कम्पनीले कोभिडपछि बजारमा माग नहुँदा व्यापार घटेको जनाएको छ ।

कम्पनीले सन् २०२० मा २ अर्ब ६६ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो भने सन् २०२१ मा २ अर्ब ९२ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । तर, सन् २०२२ मा भने कम्पनीले २ अर्ब ३७ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले सिमेन्ट उत्पादनसँगै बिक्री वितरण गर्दै आएको छ । कम्पनीले ‘सोना सिमेन्ट’ ब्राण्डको ओपीसी र ‘सोना श्री सिमेन्ट’ ब्राण्डमा पीपीसी सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।

निपेश तायल प्रबन्ध निर्देशक रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ७ अर्ब ६४ करोड रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि ३ अर्ब ८ करोड ३ लाख रुपैयाँ अर्थात् ट्रीपल बी माइनस र अल्पकालीन कर्जाका लागि ३ अर्ब ७५ करोड ६१ लाख रुपैयाँ अर्थात् एथ्री रेटिङ पाएको छ ।

रतनलाल तायल अध्यक्ष रहेको कम्पनीले क्लिङ्कर उत्पादनका लागि दुईवटा क्षेत्रबाट चुनढुङ्गा उत्खनन गर्नका लागि अनुमति लिएको छ । कम्पनीले दुईवटा खानीबाट ३ करोड ४६ लाख मेट्रिक टन चुनढुङ्गा उत्खनन गर्ने अनुमान गरेको छ ।

कम्पनीले सन् २०२२ मा आम्दानी गरेकोमध्ये ५८ प्रतिशत क्लिङ्करबाट र ५३ प्रतिशत ग्रान्डिङ सिमेन्टबाट गरेको छ । कम्पनीले सन् २०२१ मा २६ प्रतिशतले उत्पादन बढाएको थियो भने सन् २०२२ मा ५० प्रतिशतले उत्पादन बढाएको थियो ।

कम्पनीअनुसार सन् २०२२ मा कोभिड र तरलता अभावले गर्दा मागमा निकै प्रभाव परेकाले आम्दानी घटेको जनाएको छ । कम्पनीले दैनिक २३ सय टन ग्रान्डिङ सिमेन्ट र १ हजार टन क्लिङ्कर सिमेन्ट उत्पादन गर्दै आएको छ ।

कम्पनीले सिमेन्ट उत्पादनका लागि आवश्यक अन्य कच्चा पदार्थ भने विभिन्न देशबाट आयात गरी उत्पादन गर्दै आएको छ ।

कम्पनीले आइरन ओर, क्ले, फ्लाई एस, कोइला, जिपसम आदि आयात गरी सिमेन्ट उत्पादन गर्दै आएको छ । साथै, अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढ्दा नाफामा निकै असर पुगेको कम्पनीको भनाइ छ ।


क्लिकमान्डु