चार महिनामा १०८ युनिट अपार्टमेन्ट किनेबच



काठमाडौं । चालु आर्थिक वर्षको चार महिनाको अवधिमा देशभर १०८ युनिट अपार्टमेन्ट किनबेच भएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्ममा देशभरका विभिन्न मालपोत कार्यालयबाट १०८ युनिट अपार्टमेन्ट किनबेच भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कले देखाउँछ ।

विभागअनुसार साउनमा देशभर २५ वटा, भदौमा ३१ वटा, असोजमा २२ वटा र कात्तिकमा ३० वटा अपार्टमेन्ट किनबेच भएका छन् ।

नेपालमा अधिकांश अपार्टमेन्ट उपत्यका केन्द्रित छ । त्यसैले कारोबार पनि सोहीअनुसार भएको देखिन्छ । उपत्यकामध्ये पनि सबैभन्दा बढी ललितपुरबाट किनबेच भएका छन् ।

काठमाडौंमा अपार्टमेन्ट निर्माणका लागि पर्याप्त जग्गा उपलब्ध नहुँदा पछिल्ला समय ललितपुरमा अपार्टमेन्ट निर्माणको कार्य तीब्र अगाडि बढेको छ ।

चार महिनाको अवधिमा ललितपुर क्षेत्रमा मात्रै ५८ वटा अपार्टमेन्ट किनबेच भएको तथ्याङ्कले उल्लेख गर्छ । ललितपुरपछि काठमाडौं जिल्लाबाट भएको छ । काठमाडौंमा ९ वटा मालपोत कार्यालय छन् । त्यसमध्ये डिल्लिबजार मालपोत कार्यालयबाट २३ वटा, कलंकीबाट १४ वटा, चावहिलबाट ७ वटा र टोखाबाट ४ वटा अपार्टमेन्ट किनबेच भएको छ ।

त्यस्तै, उपत्यका बाहिरमा कास्की मालपोत कार्यालयबाट एक वटा र पर्साबाट एक वटा अपार्टमेन्ट किनबेच भएको छन्।


क्लिकमान्डु