बजारमा माग घट्दा भगवती स्टीलको व्यापार आधाले घट्यो



काठमाडौं । आर्थिक मन्दीका कारण बजारमा स्टिलको माग घट्दा भगवती स्टिल उद्योग प्रालिको व्यापार करिब आधाले घटेको छ । कम्पनीको व्यापार सन् २०२१ को तुलनामा सन् २०२२ मा ४३ प्रतिशतले घटेको हो ।

कम्पनीअनुसार सन् २०२२ मा कोभिडका कारण आर्थिक मन्दी छाएकाले लगानी र पूर्वाधार क्षेत्रको गतिविधि बढ्न नसक्दा व्यापार ह्वात्तै घटेको जनाएको छ ।

कम्पनीले सन् २०२२ मा १ अर्ब ८३ करोड ५० लाख (अपरिष्कृत) रुपैयाँको मात्रै व्यापार गरेको छ । कम्पनीले सन् २०२१ मा ३ अर्ब २२ करोड रुपैयाँ र सन् २०२० मा ४ अर्ब १० करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् १९९० मा स्थापना भएको कम्पनीले पाइप, सिट्स, ढोका र ढोकाको फ्रेम, शटर प्रोफाइल, साइड च्यानल्स, ट्रस, पोल्स र टावर, सस्पेन्सन र मोटोरेबल पुल र त्यससम्बन्धी वस्थु उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ ।

यससँगै कम्पनीले , जीपी सिट, हट रोल्ड कोयल सिट र कोल्ड रोल्ड कोयल विभिन्न आकारमा उत्पादन गर्दै आएको छ ।

बारामा उद्योग रहेको कम्पनीले वार्षिक ८५ लाख ५ सय मेट्रिक टन स्टिलजन्य वस्तु उत्पादन गर्न सक्ने क्षमता छ ।

कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि ३ अर्ब ५ करोड ७६ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ७ करोड ७६ लाख रुपैयाँ अर्थात् ट्रीपल बीमाइनस र अल्पकालीन कर्जाका लागि २ अर्ब ९८ करोड रुपैयाँ अर्थात् एथ्रीको रेटिङ पाएको छ ।

तीन जना सञ्चालक समिति रहेको कम्पनीको सुमितकुमार अग्रवाल अध्यक्ष हुन् । कम्पनीले ‘बीएसटी’ ब्रान्डमा स्टिलजन्य वस्तु बिक्री गर्दै आएको छ ।

कम्पनीले ५ करोड ५० रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सन् २०२१ मा २७ करोड ४० लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीले आम्दानी गरेकोमध्ये कच्चा पदार्थको हिस्सा ८८ प्रतिशत रहेको छ । कम्पनीअनुसार बजारमा कच्चा पदार्थको मूल्य बढ्दा मूल्यसँगै आम्दानीमा असर परेको छ ।


क्लिकमान्डु