गोल्छा ग्रुपद्वारा सञ्चालित नियोटेरिक नेपालले एकै वर्ष गर्‍यो करिब ४ अर्बको व्यापार



काठमाडौं । गोल्छा ग्रुपद्वारा सञ्चालित डेल ल्यापटपको नेपालको लागि आधिकारिक विक्रेता नियोरेटिक नेपाल प्रालिले एकै वर्ष करिब ४ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२१ मा ३ अर्ब ७८ करोड ८० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२० मा २ अर्ब ३२ करोड ७० लाख र सन् २०१९ मा १ अर्ब ९२ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनी सूचना प्रविधि क्षेत्रमा पनि संलग्न छ । कम्पनीले डेल ल्यापटपसँगै सर्भर थ्रुआउट नेपाल पनि सञ्चालन गर्दै आएको छ । कम्पनी नेपालका लागि नोकिया कर्पोरेशनको टेलिकमको सामग्री बेच्ने आधिकारिक विक्रेता पनि हो ।

कम्पनीअनुसार सन् २०२१ मा कोभिडको समयमा प्रविधिको उच्च प्रयोगकर्ता बढेकाले आम्दानीमा उछाल आएको जनाएको छ । आम्दानी गरेकोमध्ये कम्पनीले प्रविधि क्षेत्रको सेवाबाट गरेको जनाएको छ ।

कम्पनीले ३० वटाभन्दा बढी ब्रान्डमा र १ हजारभन्दा बढी सामग्री विक्री वितरण गर्दै आएको छ । कम्पनीले नोकिया, डेल टेक्नोलोजिस, डेल इएमसीड आइकभिजन, लोजिटेक, पिपललिंक, एसएपी र अन्य विभिन्न सामग्रीको बिक्री वितरण संलग्न छ । कम्पनीको देशभर ५ वटा शोरुम छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३ अर्ब ४० करोड ४८ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ४८ लाख रुपैयाँ अर्थात् बी प्लस र अल्पकालीन कर्जाका लागि ३ अर्ब ४० करोड रुपैयाँ अर्थात् एफोर रेटिङ गराएको छ ।

बजारमा सूचना प्रविधि क्षेत्रमा साना र ठूला कम्पनीहरुको उच्च प्रतिस्पर्धा छ । तर, पनि कम्पनीले राम्रो आम्दानी गरेको कम्पनीको भनाइ छ ।

सन् २००४ मा स्थापित भई सूचना तथा सञ्चार प्रविधि सम्बन्धी सामग्री आयात गरी बजारमा बिक्री वितरण गर्दै आएको कम्पनी देशकै ठूलो आयातकर्ता हो । गोल्छा ग्रुपद्वारा सञ्चालित कम्पनीले सन् २०२१ मा ७ प्रतिशत नाफा कमाएको जनाएको छ ।


क्लिकमान्डु