गत आवमा १९ खर्बको वस्तु आयात, इन्धन मात्रै सवा ३ खर्बको



काठमाडौं । नेपालले आर्थिक वर्ष २०७८/७९ मा १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाख रुपैयाँको वस्तु आयात गरेको छ ।

भन्सार विभागको तथ्याङ्अनुसार नेपालले आव २०७७/७८ को तुलनामा आव २४.७४ प्रतिशतले बढी वस्तु आयात गरेको छ ।

नेपालले आव २०७७/७८ मा १५ खर्ब ३९ अर्ब ८३ करोड ७० लाख रुपैयाँको वस्तु आयात गरेको थियो ।

नेपालले गत वर्ष २ खर्ब रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । आव २०७७/७८ को तुलनामा ४१.७४ प्रतिशत बढीले निर्यात गरेको छ । नेपालले सो वर्ष १ खर्ब ४१ अब १२ करोड ४० लाख रुपैयाँको वस्तु निर्यात गरेको थियो ।

विभागको तथ्याङ्कअनुसार नेपालले गत वर्ष १७ खर्ब २० अबए ४१ करोड ७३ लाख रुपैयाँ व्यापारघाटा व्यहोरेको छ । जसमा नेपालले गत वर्ष २१ खर्ब २० अर्ब ४७ करोड ९३ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको थियो ।

नेपालले गत वर्ष १९ खर्बको वस्तु आयात गर्दा पेट्रोलियम पदार्थ मात्रै ३ खर्ब २२ अर्ब १ करोड ३० लाख रुपैयाँको आयात गरेको । जुन आयात वस्तुको १६.७६ प्रतिशत हिस्सा हो ।

नेपालले सो अवधिमा ७१ अर्ब ३८ करोड ८२ लाख रुपैयाँको ७ लाख ३८ हजार ५३६ किलोलिटर पेट्रोल, १ खर्ब ६८ अर्ब २३ करोड ३२ लाख रुपैयाँको १७ लाख ५५ हजार किलोलिटर डिजेल, ६५ अर्ब ५५ करोड ९ लाख रुपैयाँको ५३ करोड ५८ लाख ६५ हजार ४१५ केजी एलपीजी ग्यास, १५ अर्ब १५ करोड ४९ लाख रुपैयाँको ३० लाख २६ हजार ७२१ किलोलिटरको एटीएफ र १ अर्ब ६८ करोड ५४ लाख रुपैयाँको १७ हजार २८० मट्टितेल आयात गरेको तथ्याङ्कले उल्लेख गर्दछ ।

त्यसैगरी, नेपालले गत वर्ष ५६ अर्ब १८ करोड ३६ लाख ५५ हजार रुपैयाँको ३३ करोड २९ लाख ८३ हजार लिटर कच्चा भटमासको तेल, ५१ अर्ब २९ करोड ५६ लाख रुपैयाँको स्पञ्ज आइरन, ३९ अर्ब ३१ करोड ६ लाख रुपैयाँको कच्चा पाम तेल, ३८ अर्ब ६ करोड ६९ लाख रुपैयाँको मोबाइलफोन, ३५ अर्ब ९५ करोड ८८ लाखको कोइला, ३५ अर्ब ६१ करोड ९५ लाख रुपैयाँको सुन र ३२ लाख ८ करोड ८५ लाख रुपैयाँको भ्याक्सिन आयात गरेको छ ।

त्यस्तै, नेपालबाट २ खर्बको वस्तु निर्यात गर्दा भटमासको तेल मात्रै ४८ अर्ब १२ करोड ४ लाख रुपैयाँको निर्यात गरेको छ ।

विभागअनुसार नेपालले गत वर्ष ४१ अर्ब ६ करोड ४७ लाख रुपैयाँको पाम तेल तथा पामलोन तेल, ९ अर्ब ५६ करोड ७७ लाख रुपैयाँको कार्पेट, ५ अर्ब ६६ करोड ४७ लाख रुपैयाँको फ्याब्रिक, ४ अर्ब ८१ करोड ३४ लाख रुपैयाँको अलैंची, ४ अर्ब ६८ करोड ८० लाख रुपैयाँको फेल्ट, ४ अर्ब ५१ करोड ४५ लाख रुपैयाँको सनफ्लावर तेल, ४ अर्ब ४८ करोड ६३ लाख रुपैयाँको जुस र ८ अर्ब ६१ करोड ७३ लाख रुपैयाँको धागो निर्यात गरेको छ ।


क्लिकमान्डु