असार मसान्तमा बजेट सक्ने चटारो, एकै दिन साढे २५ अर्ब खर्च



काठमाडौं । आर्थिक वर्ष सकिन एक साता बाँकी रहँदा सरकार भने बजेट खर्चमा व्यस्त बनेको छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार शनिबारसम्म ७५.८ प्रतिशत बजेट खर्च भएको छ । शनिबारसम्म १२ खर्ब ३७ अर्ब ७० करोड १० लाख रुपैयाँ खर्च भएको छ । शनिबार मात्रै २५ अर्ब ५५ करोड ८६ लाख रुपैयाँ खर्च भएको छ ।

यस्तै शनिबारसम्म ८९.०५ प्रतिशत चालुृ खर्च भइसकेको छ । शनिबारसम्ममा ९ खर्ब ४८ अर्ब ६१ करोड ३१ लाख रुपैयाँ, खर्च भएकोमा एकै दिनमा १० अर्ब ५८ करोड ४१ लाख रुपैयाँ खर्च भएको छ ।

कार्यालयका अनुसार शनिबारसम्म पुँजीगत खर्च ५०.११ प्रतिशत मात्रै भएको छ । अहिलेसम्म पुँजीगत तर्फ १ खर्ब ८९ अर्ब ४८ लाख १५ हजार रुपैयाँ खर्च भएको छ । शनिबार मात्रै १४ अर्ब ७२ करोड ७४ लाख रुपैयाँ खर्च भएको देखिएको छ ।

सरकारले निर्माण आयोजनाको चेक समयमा नै भुक्तानी नगरी रोकेर राख्ने र असार मसान्तमा मात्रै बजेट नियकासा गर्ने परिपाटीका कारण शनिबार बढी रकम खर्च भएको देखिएको छ ।

कार्यालयका अनुसार शनिबारसम्म सरकारले ८४.९२ प्रतिशत राजस्व संकलन भएको छ । अहिलेसम्म १० खर्ब २ अर्ब ५४ करोड ९० लाख रुपैयाँ संकलन भएको छ ।

यो अवधिमा कर राजस्व ९ खर्ब २७ अर्ब ८५ करोड २२ लाख, गैर कर राजस्व७४ अर्ब ६९ करोड ६८ लाख रुपैयाँ संकलन भएको छ । यस्तै अनुदानबाट १३ अर्ब ८८ करोड ३३ लाख रुपैयाँ संकलन भएको छ ।


क्लिकमान्डु