११ महिनामा साढे ६५ अर्बको प्लास्टिकजन्य वस्तु आयात, भारतबाट मात्रै ६१ प्रतिशत



काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा हालसम्मकै उच्च मात्रामा प्लास्टिकजन्य वस्तु आयात भएको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साउनदेखि जेठसम्ममा हालसम्मकै उच्च प्लास्टिकजन्य वस्तु आयात भएको छ । नेपालले ११ महिनाको अवधिमा मात्रै ६५ अर्ब ६२ करोड ७७ लाख १४ हजार रुपैयाँ बराबरको प्लास्टिकजन्य वस्तु आयात गरेको तथ्याङ्क छ ।

आयातित प्लास्टिकजन्य वस्तुबाट सरकारले १७ अर्ब ४७ करोड ८२ लाख ६० हजार रुपैयाँ राजस्व महशुल संकलन गरेको छ । नेपालले गत वर्ष ६३ अर्ब ६ करोड ९६ लाख ७७ हजार रुपैयाँको मात्रै प्लास्टिकजन्य वस्तु आयात गरेको थियो । तर, चालु आवको ११ महिनाको अवधिमै ६५ अर्बको प्लास्टिकजन्य वस्तु आयात हुँदा नयाँ रकर्ड कायम गरेको छ ।

त्यस्तै, नेपालले आव २०७६/७७ मा ४५ अर्ब २७ करोड ४३ लाख ८५ हजार रुपैयाँको, आव २०७५/७६ मा ५२ अर्ब ५५ करोड ७९ लाख ९६ हजारको र आव २०७४/७५ मा ४४ अर्ब ५६ करोड ५२ लाख ४७ हजार रुपैयाँको प्लास्टिकजन्य वस्तु आयात गरेको छ ।

नेपालले ११ महिनाको अवधिमा प्लास्टिकको कच्चा पदार्थमात्रै ४४ अर्ब ८७ करोड १६ लाख ९६ हजार रुपैयाँको आयात गरेको छ । त्यस्तै, २ अर्ब २३ करोड ९४ लाख रुपैयाँको ६२ लाख ३ हजार ६८३ केजी प्लस्टिकको ट्यूब, पाइप आयात गरेको भन्सार विभागको तथ्याङ्क छ ।

त्यसैगरी ९५ करोड १० लाख ९३ हजार रुपौयँको प्लास्टिकको टायल, १० अर्ब १७ लाखको प्लास्टिकको धारा तथा प्लेटलगायत अन्य ब्याग, घरायसी सामग्री, ग्लोभ्स्, गाउन, ह्याङ्गरलगायत अन्य विभिन्न प्लास्टिकजन्य वस्तु आयात गरेको तथ्याङ्कले उल्लेख गरेको छ ।

भारतको हिस्सा ६१ प्रतिशत
वैदेशिक व्यापारमा ठूलो हिस्सा भारतको रहेको छ । त्यस्तै, नेपालले आयात गरेको प्लास्टिकजन्य वस्तुको आयातमा भारतको हिस्सा ६१ प्रतिशत रहेको विभागले जनाएको छ ।

नेपालले ११ महिनाको अवधिमा भारतबाट मात्रै ४० अर्ब ४ करोड रुपैयाँको प्लास्टिकजन्य वस्तु आयात गरेको छ ।

भारतपश्चात नेपालले चीनबाट ७ अर्ब ३२ करोड ८३ लाख ७४ हजारको, साउदी अरेबियाबाट ५ अर्ब ९६ करोड ९० लाख ८२ हजारको, दक्षिण कोरियाबाट २ अर्ब ४८ करोड ९७ लाख १२ हजारको, युएईबाट २ अर्ब १६ करोड ३४ लाखको, थाइल्यान्डबाट २ अर्ब १९ करोड ११ लाखको, भियतनामबाट १ अर्ब १० करोड ७६ लाखको र ताइवानबाट १ अर्ब ६४ करोड ५२ लाखको प्लास्टिकजन्य वस्तु आयात गरेको छ ।

त्यसैगरी, सो अवधिमा नेपालले अमेरिकाबाट ५७ करोड १८ लाख, बेल्जियमबाट २० करोड ७५ लाख ७९ हजारको, जर्मनीबाट १४ करोड .७१ लाखको, जापानबाट १६ करोड २३ लाखको, कतारबाट २१ करोड ६८ लाखको, सिंगापुरबाट ४६ करोड ३२ लाख र स्पेनबाट १० करोड ७१ लाख रुपैयाँको प्लास्टिकजन्य आयात गरेको छ ।


क्लिकमान्डु