उपभोक्ता मूल्य दोब्बरले बढ्यो, सबैभन्दा बढी घ्यू तथा तेलमा



काठमाडौं । चालु आर्थिक वर्षको वैशाख महिनामा उपभोक्ता मूल्य दोब्बरले बढेको छ ।

राष्ट्र बैंकले जारी गरेको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा दोब्बरले उपभोक्ता मूल्य वृद्धि भएको जनाएको हो ।

चालु आर्थिक वर्षको वैशाख महिनामा उपभोक्ता मूल्यवृद्धि ७.८७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.६५ प्रतिशत रहेको थियो ।

तथ्याङ्क अनुसार खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.१३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.४५ प्रतिशत रहेको छ ।

वैशाख मसान्तसम्म वार्षिक विन्दुगत मासिक औषत मूल्यवृद्धि ५.८४ प्रतिशत रहेको छ । गत वर्षको वैशाख महिनाको तुलनामा चालु आर्थिक वर्षमा सबैभन्दा बढी खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेलको वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । जसमा सो अवधिमा घ्यू र तेलको २४.८६ प्रतिशतले मूल्यवृद्धि भएको छ ।

त्यसैगरी, फलफूल १२.६१ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डा ११.३० प्रतिशत, दाल तथा गेडागुडी १०.५३ प्रतिशत र सुर्तीजन्य पदार्थको ९.७० प्रतिशत रहेको छ ।

साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, शिक्षा र मनोरञ्जन तथा संस्कृति उपसमूहको मूल्यवृद्धि क्रमशः २१.८१ प्रतिशत, ११.६४ प्रतिशत र ८.२१ प्रतिशत रहेको छ ।

काठमाडौं उपत्यकामा ७.३९ प्रतिशत, तराईमा ८.१५ प्रतिशत, पहाडमा ७.८९ प्रतिशत र हिमालमा ८.२१ प्रतिशत मुद्रास्फीति रहेको छ । गत वर्ष यी क्षेत्रहरुमा क्रमशः ३.६२ प्रतिशत, ३.५१ प्रतिशत, ४.१४ प्रतिशत र १.३३ प्रतिशत मुद्रास्फीति रहेको थियो ।
त्यसैगरी, थोक मुद्रास्फीति १६.०६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.०५ प्रतिशत रहेको थियो । २०७९ वैशाख मसान्तसम्म वार्षिक विन्दुगत मासिक औषत थोक मूल्यवृद्धि ८.७१ प्रतिशत रहेको छ ।

जसमा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः २२.२० प्रतिशत, १३.९७ प्रतिशत र ७.९७ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि २६.८२ प्रतिशत रहेको छ ।


क्लिकमान्डु