बजेट बनाउँदा अनुशासन त्यागियाे, कार्यान्वयमा ध्यान नै दिइएनः सांसद पहाडी



काठमाडौं । सांसद गणेश पहाडीले सरकारले आगामी आर्थिक वर्षको बजेट बनाउँदा बजेट निर्माणको सिमा, अनुशासनलाई त्यागेर, कार्यान्वयमा ध्यान नै नदिइ लेख्न सक्नेजति सबै लेखेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको बैठकमा उनले यस्तो आरोप लगाएका हु्न् । सरकारले ल्याएको बजेट विश्सास गर्न योग्य नभएको उनको तर्क छ । सरकारले बजेटबाट प्रदेश र स्थानीय तहको अधिकारलाई कटौती गरेको उनको दाबी छ । साना–साना आयोजनालाई केन्द्रले बजेट पठाएर प्रदेशको भूमिका खोसेको पनि दाबी गरे ।

सरकारले नीति तथा कार्यक्रममा बुढीगण्डकी जलविद्युत आयोजना आफ्नै लगानीमा बन्ने भनिएपनि बजेटमा नभएको भन्दै त्यसको खोजी गरेका छन् । यति ठूलो आयोजनामा बजेट नदिने भनेको भ्रमको खेती मात्रै भएको उनको तर्क छ ।

सरकारले बजेटमा प्रत्येक परिवारलाई विद्युतीय चुल्हो दिने भनेको र त्यसको लागि ३० अर्ब बजेट चाहिने भन्दै त्यसको व्यवस्थापन कहाँ छ ? त्यो विद्युत प्रयोगगर्न सक्ने पुर्वाधार कहाँ छ भन्दै प्रश्न गरेका छन् । नेपालमा त्यो पुर्वाधार बनाउन मात्रै ५ खर्ब खर्च लाग्ने अध्ययनले देखाएको उनको भनाइ छ ।

‘नेपालमा ६० लाख परिवार छन्’ उनले भने, ‘एउटा चुुलोको ५ हजार परेपनि ३० अर्ब लाग्छ, त्यसको स्रोत खै ?’ नीति तथा कार्यक्रममा त्रिभुवन विमानस्थलदेखि माइतिघरसम्म युटिलिटी करिडोर बनाउने भनेपनि बजेटमा नआएको उल्लेख गरे । सरकारले विद्युतीय सवारी साधनमा अन्तशुल्क लागएको भन्सार महसुल बढाएको भन्दै विरोध गरे । सरकारको नीतिले पेट्रोलको प्रयोग बढाउने खालको रहेको उनको तर्क छ ।


क्लिकमान्डु