गणतन्त्रका १४ वर्षः महंगीले सेकियो जनताको ढाड, पेट्रोलियम पदार्थको कर ७% बाट बढेर ४०% पुग्यो



काठमाडौं । नेपालमा लोकतन्त्र पुर्नस्थापनापछि आर्थिक वर्ष २०६४/६५ मा २ खर्ब १९ अर्ब रुपैयाँ बराबरको आयात भएको थियो । त्यस वर्ष भारतबाट मात्रै १ खर्ब ३९ अर्ब रुपैयाँ बराबरको आयात भयो । समग्रमा आयातको त्यसवर्ष आयात २.७४ प्रतिशत बढेको थियो ।

तर, पछिल्लो समय आयात उच्च दरले बढ्दो क्रममा छ । चालु आर्थिक वर्षको ९ महिनमै ३२ प्रतिशतले आयात बढेको छ । स्याउ, मकै, केरा, चामल, आलु लगायतका अत्यावश्यक बस्तुमा परनिर्भरता बढ्दा चालु आर्थिक वर्षको ९ महिनामै १६ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको आयात भइसकेको छ । पछिल्लो १४ वर्षको तथ्यांक हेर्दा आयात ५६७ प्रतिशतले बढेको देखिन्छ ।

तर, १४ वर्षको अवधिमा पेट्रोलियम पदार्थको आयात भने ४१५ प्रतिशतले मात्रै बढेको छ ।

आर्थिक वर्ष २०६४/६५ मा ४० अर्ब ५६ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएकोमा चालु आर्थिक वर्ष ९ महिनामै २ खर्ब ८ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।

आर्थिक वर्ष २०६४/६५ मा कुल आयातमा पेट्रोलियम पदार्थको हिस्सा १९ प्रतिशत थियो । चालु आर्थिक वर्षको ९ महिनामा पेट्रोलियम पदार्थको हिस्सा १४ प्रतिशतमात्रै छ ।

चालु आर्थिक वर्षको ९ महिनामा डिजल १ खर्ब ५ अर्ब रुपैयाँ, पेट्रोल ४७ अर्ब २३ करोड रुपैयाँ, खाना पकाउने ग्याँस ४५ अर्ब ३४ करोड रुपैयाँ हवाई इन्धन ९ अर्ब ३० करोड रुपैयाँ र मट्टितेल १ अर्ब ७ करोड रुपैयाँ बराबरको आयात भएको हो ।

चालु आर्थिक वर्षमा सरकारले पेट्रोलियम पदार्थ आयातबाट ८२ अर्ब ८४ करोड रुपैयाँ भन्सार महशुल संकलन गरेको छ ।

डिजलमा ४५ अर्ब २८ करोड रुपैयाँ, पेट्रोलमा २८ अर्ब ३० करोड रुपैयाँ, खाना पकाउने ग्याँसमा ८ अर्ब ४५ करोड रुपैयाँ, हवाई इन्धनमा ६४ करोड ९१ लाख रुपैयाँ र मट्टितेलमा १५ करोड ३४ लाख रुपैयाँ राजस्व संकलन भएको हो ।

१४ वर्ष अगाडी पेट्रोलियम पदार्थको आयात मुल्यमा करिब ७ प्रतिशतमात्रै कर लाग्थ्यो । चालु आर्थिक वर्षमा भने आयात मुल्यको ४० प्रतिशतसम्म कर लाग्छ ।

२०६४/६५ मा ४० अर्ब ५६ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात हुँदा २ अर्ब ७९ करोड रुपैयाँ मात्रै भन्सार महशुल संकलन गरिएको थियो ।

तर, चालु आर्थिक वर्षको ९ महिनामा २ खर्ब ८ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात हुँदा ८२ अर्ब ८४ करोड रुपैयाँ भन्सार महशुल संकलन भएको छ ।


क्लिकमान्डु