सेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार रकम बढेन



काठमाडौं । सोमबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । यो दिनको कारोबारमा बजार २६.४४ अंकले बढेर परिसूचक २७१५.३५ बिन्दुमा रोकिएको छ ।

यो दिनको कारोबारमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.१० अंकले बढेर ५०६.५४ बिन्दुमा रोकिएको छ । सोमबार २२८ कम्पनीको ८६ लाख ३६ हजार ६३६ कित्ता सेयर ४ अर्ब ७३ करोड ४६ लाख ५१ हजार ४४४ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा पनि सुधार आएको छ । विकास बैंकको १४१.०४, जलविद्युत ५०.०५, फाइनान्स ५७.८४, निर्जीबन बीमा २१२.४, उत्पादन तथा प्रशोधन समूहको १०९.४९, माइक्रोफाइनान्स ६३.३८, जीवन बीमा समूहको उपसूचक ११३.२४ अंकले बढेको छ ।

कारोबारमा बोटलर्स नेपाल (तराई), मानुसी लघुवित्त, तेह्रथुम पावर कम्पनी, मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी रकमको कारोबार महालक्ष्मी विकास बैंक रहेको छ ।

बैंकको ३५ करोड ४६ लाख ४० हजार ८२३ रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै हाईड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी र लुम्बिनी विकास बैंक दोस्रो र तेस्रोमा रहेका छन् । सोमबार बजार बढेपनि कारोबार रकम भने बढ्न सकेको छैन ।


क्लिकमान्डु