एससीटीले आइपीओ जारी गर्ने



काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजी (एससीटी) लिमिटेडले साधारण सेयर (आइपीओ) निष्काशन गर्ने तयारीमा जुटेको छ ।
नयाँ व्यवस्थापनसहित एससीटीले आइपीओ जारी गर्ने गरी आवश्यक तयारीमा जुटेको छ ।

कम्पनीलाई थप बलियो र प्रतिस्पर्धात्मक बनाउन सार्वसाधरणलाई साधारण सेयर जारी गर्ने योजना रहेको एससीटीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायणप्रसाद भुजुले बताए ।

सरकारले तोकेको समयअनुसार एससीटीलाई आइपीओ जारी गर्न दुई वर्ष समय बाँकी रहेको र यसअवधिमा कम्पनीले सेयर जारी गर्ने उनको भनाइ छ ।

‘हामीले नयाँ रणनीतिअनुसार आइपीओ जारी गर्ने योजनामा छौं,’ क्लिकमाण्डूसँग कुरा गर्दै भुजुले भने, ‘दुई वर्ष अझै समय बाँकी भएकाले यस अवधिभित्र आइपीयो जारी गर्दै छौं ।’

एससीटीमा नयाँ व्यवस्थापन आएसँगै यसलाई थप उचाइमा पुर्याउन कम्पनीले विभिन्न सुविधा र योजना तयार गरिरहेको उनको भनाइ छ । पेमेन्ट सर्भिस अपरेटर (पिएसओ)को रुपमा चलिरहेको यस कम्पनीलाई कार्ड सेवामात्र नभएर पूर्ण डिजिटल सोलुसन सेवा दिन पूर्वाधार तयारको काम भइरहेको भुजुले बताए ।

पहिला कार्डमा मात्र सीमित रहेको एससीटीले अब क्युआर सेवा, मोबाइल बैंकिङ, पस टर्मिनहरु, पेमेन्ट गेटवे सेवाहरु थप गरेको छ ।
रविन्द्र मल्लले नेतृत्व गरेको व्यवस्थापनले कम्पनी सञ्चालन गर्न नसकेपछि अहिले नयाँ व्यवस्थापन आएको छ । संस्थागतरुपमा मुलुकका अग्रहणी बैंक तथा वित्तीय संस्थाहरुले यसमा लगानी गरेका छन् ।

यस कम्पनीमा ग्लोबल आइएमई बैंक, प्रभु बैंक र हिमालय बैंकको मुख्य लगानी रहेको छ भने विकास बैंकहरुमा सांग्रिला विकास बैंक, कामना सेवा विकास बैंक, गरिमा विकास बैंक, ग्रिन विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंकले एससीटीमा सहकार्य गरेका छन् ।


क्लिकमान्डु