कोभिड प्रभावितलाई राष्ट्र बैंकमार्फत् ३३ अर्ब पुनरकर्जा, सबैभन्दा होटल क्षेत्रका ऋणीलाई



काठमाडौं । सरकारी सहुलियतमा नेपाल राष्ट्र बैंकले हालसम्म १ खर्ब ४५ अर्ब १३ करोड रुपैयाँ पुनरकर्जा सुविधा प्रदान गरेको छ । हालसम्म प्रवाहित पुनरकर्जामा सबैभन्दा बढी होटल क्षेत्रका ऋणीले उपयोग गरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

राष्ट्र बैंकले पुनरकर्जा सुविधा ऋणीलाई दिँदा कोभिड-१९ प्रभावित क्षेत्रको वर्गिकरणको आधारमा गरिरहेको छ । केन्द्रिय बैंकले कोभिड-प्रभावित क्षेत्रलाई अति, मध्य र न्यून प्रभावित गरी ३ भागमा वर्गिकरण गरेको थियो । होटल तथा पर्यटन क्षेत्र कोभिड-१९ प्रवाभित क्षेत्रमा अति प्रभावितमा वर्गिकृत छ ।

पुनरकर्जाको वितरण प्रक्रिया

पुनरकर्जा सुविधा ऋणीले एकमुष्ट रुपमा बैंक तथा वित्तीय संस्थामार्फत् र ग्राहकऋणी अनुसार प्रत्यक्ष राष्ट्र बैंकमार्फत् नै उपयोग गर्न सक्ने व्यवस्था गरिएको छ ।

एकमुष्ट पुनरकर्जामा बैंक तथा वित्त कम्पनीबाट ग्राहकबाट प्राप्त आवेदनको आधारमा ऋणीको संख्यासहित पुनरकर्जा मागको राष्ट्र बैंक स्वीकृत गर्छ । स्वीकृत पुनरकर्जा बैंकले ऋणीको व्यवसायिक योजना र आवश्यकता मुल्यांकन गरी प्रदान गर्छ ।

ग्राहक ऋणीअनुसारको पुनरकर्जामा बैंक तथा वित्त कम्पनीले ग्राहक ऋणीले दिएको आवेदनलाई नै राष्ट्र बैंक पठाएर सो आवेदनको मुल्यांकन केन्द्रिय बैंकले नै गरी प्रदान हुन्छ ।

प्राप्त तथ्यांकअनुसार राष्ट्र बैंकले प्रत्यक्षरुपमा ग्राहकऋणीको मुल्यांकन गरी प्रदान गर्ने पुनरकर्जा हालसम्म ३३ अर्ब ६ करोड रुपैयाँ प्रवाह भएको छ । जसमध्ये ३७.९५ प्रतिशत अर्थात् १२ अर्ब ५४ करोड रुपैयाँ पुनरकर्जा होटल क्षेत्रका ऋणीले उपयोग गरेका छन् ।

सो अवधिमा सबैभन्दा थोरै ग्याँस उद्योगका ऋणीहरुले कुल ग्राहकऋणी अनुसारको पुनरकर्जामा ०.६० प्रतिशत अर्थात् २० करोड रुपैयाँ उपयोग गरेका छन् ।

होटल क्षेत्र कोभिड-१९ बाट अति प्रभावितको क्षेत्रमा वगिकृत भएको हूँदा यस क्षेत्रका ऋणीले पुनरकर्जा बढी उपयोग गरेका राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकालले बताए ।

‘ग्राहक ऋणीअनुसार मात्र नभएर बैंकहरुले लिएका एकमुष्ट पुनरकर्जा समेत होटल क्षेत्रकै ऋणीले बढी पाएका छन्,’ उनले क्लिकमाण्डूसँग भने, ‘चालु आवमा वितरण गरिएको पुनरकर्जा कोभिड-१९ प्रभावित ऋणीहरुलाई नै प्राथमिकतामा राखेर प्रवाह गरिएको छ, सोही कारण होटल क्षेत्र यसबाट अति प्रभावित भएको हुँदा बढी पाएका हुन् ।’

ग्राहकऋणीका आधारमा वितरण गरिने पुनरकर्जा सुविधा राष्ट्र बैंकले स्यम् कोरोना प्रभावित क्षेत्रको ऋणीको मुल्यांकन गरी प्रदान गरेको उनले जानकारी दिए । जसमा सबैभन्दा बढी कोभिड-१९ बाट अति प्रभावित क्षेत्रका ऋणी नै रहको उनको भनाइ छ ।

ग्राहकऋणी अनुसार प्रवाहित पुनरकर्जा अधिकांश साधारण पुनरकर्जा उपयोग भएको उनले जानकारी दिए राष्ट्र बैंकले बैंकहरुलाई ३ प्रतिशतमा र बैंकले ग्राहकलाई ५ प्रतिशत ब्याजदरमा प्रदान गर्छ ।

ग्राहकऋणी अनुसारको पुनरकर्जा कुन क्षेत्रका ऋणीले कति पाए ?

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका ऋणीलाई दिने तोकिएअनुसार पुनरकर्जा सुविधामा कर्जाको ब्याज सहुलियत अर्थात् छुट पाउँछन् भने बैंक तथा वित्तीय संस्थाले स्वीकृत पुनरकर्जा बराबरको तरलता राष्ट्र बैंकबाट प्राप्त गर्छन् ।

कोरोभिड-१९ प्रावभित ४४ वटा उद्योग व्यवसायी ऋणीले पुनरकर्जा सुविधा उपयोग गरेका छन् । जसमा होटल क्षेत्रका उद्योग व्यवसायीले १२ अर्ब ५४ करोड रुपैयाँ, उत्पादन क्षेत्रले २ अर्ब ६८ करोड रुपैयाँ, शिक्षा क्षेत्रले २ अर्ब ६८ करोड रुपैयाँ, निर्माण क्षेत्रले १ अर्ब ६५ करोड रुपैयाँ र पर्यटन क्षेत्रले १ अर्ब ५२ करोड रुपैयाँ पुनरकर्जा उपयोग गरेका छन् ।

यस्तै, औषधी उद्योगहरुले १ अर्ब ३९ करोड रुपैयाँ, हाइड्रोपावर कम्पनीहरुले १ अर्ब ३९ करोड रुपैयाँ, सिमेन्ट उद्योगहरुले १ अर्ब ३९ करोड रुपैयाँ, हस्पिटलहरुले १ अर्ब १७ करोड रुपैयाँ, खाद्य उद्योगहरुले ९३ करोड २४ लाख रुपैयाँ र निर्माण सामाग्री व्यवसायीले ८९ करोड २ लाख रुपैयाँ साधारण पुनरकर्जा उपयोग गरेका छन् ।

सो अवधिमा ग्राहकऋणी अनुसार पुनरकर्जा उपयोग गरेकामा मिडियाले ८७ करोड ४२ लाख रुपैया, पर्यटन क्षेत्रका यातायतले ४७ करोड २६ लाख रुपैयाँ र सार्वजनिक यातायातले ४० करोड रुपैयाँ गरी ८७ करोड २६ लाख रुपैयाँ र कृषि क्षेत्रका उद्योगी व्यवसायीले ४३ करोड ८३ लाख रुपैयाँ पाएका छन् ।

यस्तै, मरोञ्जन क्षेत्रका उद्योगी व्यवसायी ऋणीले २७ करोड १२ लाख रुपैयाँ, कपडा उद्योगले २६ करोड ८७ लाख रुपैयाँ, आहरा सम्बन्धी व्यवसायीले २० करोड रुपैयाँ, पशु आहरा उद्योगीले २० करोड रुपैयाँ र ग्याँस उद्योगीले २० करोड रुपैयाँ ग्राहकऋणी अनुसार पुनरकर्जा पाएका हुन् ।

कुन बैंकबाट कति पुनरकर्जा ?

बैंक तथा वित्तीय संस्थामा ऋणीले गरेका पुनरकर्जाको आवेदनमा आवेदकको आग्रहमा ग्राहकऋणी र एकमुष्ट पुनरकर्जा विभाजन हुन्छ । जसमा बैंक तथा वित्त कम्पनीले ग्राहकऋणी अनुसार पाउने पुनरकर्जाको आवेदननै राष्ट्र बैंकमा पठाउने र सोही आवेदनको मुल्यांकनमा राष्ट्र बैंकले पुनरकर्जा स्वीकृत गर्छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार सो अवधिमा ग्राहकऋणी अनुसार २७ वटा बैंक तथा वित्त कम्पनीका ऋणीले पुनरकर्जा सुविधा दिएका छन् । जसमध्ये सबैभन्दा बढी नेपाल इन्भेष्टमेण्ट बैंक र सबैभन्दा थोरै एनएमबी बैंकले ग्राहकऋणी अनुसार पुनरकर्जा सुविधा दिएका छन् ।

नेपाल इन्भेष्टमेण्ट बैंकले ४ अर्ब १२ करोड रुपैयाँ ग्राहकऋणी अनुसार पुनरकर्जा प्रवाह गर्दा एनएमबी बैंकले ८ करोड २० लाख रुपैयाँ पुनरकर्जा प्रवाह गरेको छ ।

यस्तै, ग्राहकऋणी अनुसार ग्लोबल आइएमईले २ अर्ब ८८ करोड रुपैयाँ, बैंक अफ काठमाण्डूले २ अर्ब ८१ करोड रुपैयाँ, नेपाल बैंकले २ अर्ब ६८ करोड रुपैयाँ, सिद्धार्थ बैंकले २ अर्ब ६५ करोड रुपैयाँ र नविल बैंकले २ अर्ब ५९ करोड रुपैयाँ ग्राहकऋणी अनुसार पुनरकर्जा प्रवाह गरेका छन् ।

साथै, प्रभु बैंकले १ अर्ब ९५ करोड रुपैयाँ, मेगा बैंकले १ अर्ब ८६ करोड रुपैयाँ, नेपाल एसबिआइ बैंकले १ अर्ब ३३ करोड रुपैयाँ र हिमालयन बैंकले १ अर्ब ७८ लाख रुपैयाँ ग्राहकऋणी अनुसार पुनरकर्जा प्रवाह गरेका छन् ।

यसैगरी, सानिमा बैंकले ८९ करोड ६० लाख रुपैयाँ, एनसीसी बै.कले ८९ करोड ५४ लाख रुपैयाँ, सिभिल बैंकले ८४ करोड ४६ लाख रुपैयाँ, एनआइसी एशिया बैंकले ७६ करोड २२ लाख रुपैयाँ र माछापुच्छ्रे बैंकले ७४ करोड ९० लाख रुपैयाँ ग्राहकऋणी अनुसार पुनरकर्जा प्रवाह गरेका छन् ।

सो अवधिमा साइनरेसुङ्गा डेभलपमेन्ट बैंकले ५६ करोड ३ लाख रुपैयाँ, प्राइम बैंकले ४० करोड रुपैयाँ, नेपाल बंगलादेश बैंकले ३६ करोड ३ लाख रुपैयाँ र स्ट्यान्डर्ड चार्टर्ड बैंकले २० करोड रुपैयाँ ग्राहकऋणी अनुसार पुनरकर्जा प्रवाह गरेका छन् ।

साथै, लुम्बिनी विकास बैंकले १३ करोड ५ लाख रुपैयाँ, सनराइज बैंकले १३ करोड रुपैयाँ, आइसीएफसी फाइनान्सले १२ करोड ९१ लाख रुपैयाँ, सांग्रिला डेभलपमेन्ट बैंकले ११ करोड ९३ लाख रुपैयाँ र एनएमबी बैंकले ८ करोड २० लाख रुपैयाँ ग्राहकऋणी अनुसार पुनरकर्जा प्रवाह गरेका हुन् ।


पुष्प दुलाल