९ मिडिया हाउसले कोरोना प्रभावित भएको भन्दै साढे ८७ करोड पुनरकर्जा लिए, कसले कति ?



काठमाडौं । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ९ वटा सञ्चारमाध्यमले ५ वटा बैंक तथा वित्त कम्पनीबाट ८७ करोड ४२ लाख रुपैयाँ पुनरकर्जा लिएका छन् ।

यी सञ्चारमाध्यमहरुले कोभिड-१९ प्रवाभितको नाममा उपयोग गरेका हुन् । राष्ट्र बैंकले कोभिड-१९ प्रभावित क्षेत्रलाई अति, मध्यम र न्यून प्रभावित गरी ३ भागमा वर्गिकरण गरेको थियो । जसमा सञ्चारमाध्यमहरु मध्यम प्रवाभित वर्गमा वर्गिकृत भएका थिए ।

हालसम्म एकमुष्ट र ग्राहक ऋणीअनुसार गरी राष्ट्र बैंकले १ अर्ब ४२ अर्ब रुपैयाँ पुनरकर्जा स्वीकृत गरेको छ । जसमा एकमुष्ट पुनरकर्जा १ खर्ब २ अर्ब रुपैयाँ र ग्राहक ऋणीअनुसार ४२ अर्ब ११ करोड रुपैयाँ स्वीकृत भएको छ ।

कसरी प्रदान गरिन्छ पुनरकर्जा ?

एकमुष्ट पुनरकर्जामा बैंक तथा वित्त कम्पनीबाट ग्राहकबाट प्राप्त आवेदनको आधारमा ऋणीको संख्यासहित पुनरकर्जा मागको राष्ट्र बैंकले स्वीकृत गर्छ । स्वीकृत पुनरकर्जा बैंकले ऋणीको व्यवसायीक योजना र आवश्यकता मुल्यांकन गरी प्रदान गर्छ ।

ग्राहक ऋणीअनुसारको पुनरकर्जामा बैंक तथा वित्त कम्पनीले ग्राहकऋणीले दिएको आवेदनलाई राष्ट्र बैंक पठाउछन् । सोे आवेदनको मुल्यांकन गरी राष्ट्र बैंकले माग गरिएको पुनरकर्जा प्रदान गर्छ । जस राष्ट्र बैंकले वर्गिकरण गरेको क्षेत्रमा परेकामा ऋणीले पुनरकर्जा न्यूनतम १ प्रतिशतदेखि ५ प्रतिशत ब्याजदर अनुुदानमा उपयोग गर्न पाउँछन् ।

यी सञ्चार माध्यमहरुको बैंक तथा वित्त कम्पनीमार्फत् आएको ग्राहक ऋणीअनुसार साधारण पुनरकर्जा स्वीकृत भएको राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकालले बताए ।

‘ग्राहक आधारमा पाउने पुनरकर्जा सुविधा यी मिडियाहरुलाई ६ महिनाको लागि दिइएको हो,’ ढकालले क्लिकमाण्डूसँग भने, ‘बैंक तथा वित्त कम्पनीहरुमा यी मिडियाले लिएको कर्जाको ब्याजदर तिर्न नसकेर व्यवसाय बन्द गर्ने अवस्था आउन नदिन सो सुविधा दिइएको हो ।’

साधारण पुनरकर्जा राष्ट्र बैंकले बैंकहरुलाई ३ प्रतिशतमा र बैंकले ग्राहकलाई ५ प्रतिशत ब्याजदरमा प्रदान गर्छ ।

‘मिडियाबाट कोभिड-१९ का कारण समस्या भयो पुनरकर्जा दिनुस् भनेर आवेदन दिने सबैको माग स्वीकृत गरिएको छ, यी मिडियाले सम्बन्धित बैंकमा लिएको कर्जाको ब्याजदर तोकिएको समयमा तोकिएको ब्याजदरमा पुनरकर्जा सुविधा उपयोग गर्छन्,’ उनले थपे ।

कुन सञ्चार माध्यमलाई कति पुनरकर्जा ?

प्राप्त तथ्यांकअनुसार राष्ट्र बैंकले स्वीकृत गरेको ग्राहक ऋणीअनुसार ४२ अर्ब ११ करोड रुपैयाँ पुनरकर्जाको २.०८ प्रतिशत अर्थात् ८७ करोड ४२ लाख रुपैयाँ सञ्चार माध्यमले पाएका छन् ।

पुनरकर्जाको सुविधा उपयोग गर्नेमा मिडियाहरुमा नेपाल रि-पब्लिक, कान्तिपुर पब्लिकेशन, कान्तिपुर टेलिभिजन, हिमालयन टेलिभिजन, जनता प्रशारण तथा प्रकाशन, नेपाल ब्रोकास्टिङ च्यानल, कामना न्यूज पब्लिकेशन, राजधानी न्यूज पब्लिकेशन र कान्तिपुर एफ एम रहेका छन् ।

यी मिडिया हाउसले ६ महिनाको लागि सो कर्जा ५ प्रतिशत ब्याजमा उपयोग गर्न पाउँछन् । जसमध्ये सबैभन्दा बढी नेपाल रि-पब्लिक मिडियाले पाएको छ भने सबैभन्दा थोरै कान्तिपुर एफएमले पुनरकर्जा लिएको छ ।
नेपाल रि-पब्लिक मिडियाले मेगा बैंकमार्फत् २० करोड रुपैयाँ पुनरकर्जा गत असोजदेखी उपयोग गरिरहेको छ ।

यस्तै, कान्तिपुर पब्लिकेशनले सिद्धार्थ बैंकमार्फत् १९ करोड २९ लाख रुपैयाँ, कान्तिपुर टेलिभिजनले कुमारी बैंकमार्फत् १५ करोड रुपैयाँ र हिमालयन टेलिभिजनले प्रभु बैंकमार्फत् ११ करोड १९ लाख रुपैयाँ साधारण पुनरकर्जा उपयोग गरिरहेका छन् ।

यसैगरी, जनता प्रशारण तथा प्रकाशन (जनता टेलिभिजन) ले प्रभु बैंकमार्फत् ६ करोड ६४ लाख रुपैयाँ, नेपाल ब्रोकास्टिङ च्यानल (न्यूज २४ टेलिभिजन)ले आइसीएफसी फाइनान्समार्फत् ६ करोड ३ लाख रुपैयाँ, कामना न्यूज पब्लिकेशन (नेपाल समाचारपत्र दैनिक)ले प्रभु बैंकमार्फत् ५ करोड ४२ लाख रुपैयाँ साधारण पुनरकर्जा उपयोग गरेका छन् ।

साथै, राजधानी न्यूज पब्लिकेशनले प्रभु बैंकमार्फत् १ करोड ९६ लाख रुपैयाँ र कान्तिपुर एफएमले कुमारी बैंकमार्फत् १ करोड ८८ लाख रुपैयाँ साधारण पुनरकर्जा उपयोग गरिहेको छन् ।


क्लिकमान्डु