मूल्य अन्तरले नेपालबाट भारततर्फ पेट्रोलियम पदार्थको तस्करीः गत वर्षभन्दा १५% आयात कम



काठमाडौं । कोरोना भाइरस महामारीले गर्दा २०७६ साल चैतदेखि २०७७ असार ६ गतेसम्म पूर्ण लकडाउन भयो । उक्त अवधिमा अत्यावश्यकबाहेक सम्पूर्ण निजी तथा सार्वजनिक यातायात बन्द भएको थियो । यसले गर्दा बजारमा मानिसको चहलपहल पनि निकै कम भएको थियो ।

कोरोनाले गर्दा व्यापार व्यवसाय लगभग बन्द अवस्थामै रहेकाले सवारी साधन पनि ठप्प अवस्थामै थियो । असारपश्चात आंशिक रुपमा खुल्ला भए पनि साउन १ गतेबाट मात्रै नीजि तथा सार्वजनिक सवारी साधन जोर विजोर प्रणालीमा सञ्चालनमा आएको थियो ।

तर, लकडाउनले गर्दा करिब ५ महिना पूर्ण रुपमा बन्द भएको नीजि तथा सार्वजनिक यातायातमा प्रयोग हुने पेट्रोल तथा डिजेलको आयातमा भने केही परिमाणले मात्रै कमी आएको देखिन्छ । लकडाउनको बेलामा पूर्ण रुपमा सवारी साधन तथा यातायात बन्द भएको अवस्थामा पेट्रोलिय पदार्थको आयातमा भारी गिरावट आउनुपर्ने हो । तर, उक्त समयमा आयातमा खासै गिरावट नआएको जानकारहरू बताउँछन् । उनीहरूको अनुसार आयात नघटेको होइन घटेको छ । तर, सम्पूर्ण व्यापार व्यवसाय बन्द हुुँदा पनि उल्लेखनीय पेट्रोल तथा डिजेल आयात भएको छ ।

भन्सार विभागको तथ्याङ्का अनुसार उक्त समयमा केही मात्राले मात्रै आयात घटेको देखिन्छ । त्यस्तै, सान्य अवस्था रहेको २०७५ फागुनदेखि २०७६ को फागुनसम्म र २०७६ फागुनदेखि २०७७ फागुनसम्मको तथ्याङ्क तुलना गर्दा पेट्रोल १५.१७ प्रतिशतले घटेको छ भने डिजेल १२.२३ प्रतिशतले मात्रै घटेको छ ।

सामान्य अवस्था हुँदा २०७५ साल फागुनमा ४६ हजार १७६ किलोलिटर, चैतमा ४६ हजार ४१५ किलोलिटर, बैशाखमा ४९ हजार १५२ किलोलिटर, जेठमा ५४ हजार ७४८ किलोलिटर र असारमा ५३ हजार ९१५ किलोटिर आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

त्यस्तै, सोही अवधिमा गत २०७६ सालको फागुनमा ४८ हजार ५०४ किलोलिटर आयात भएको थियो । तर, कोरोनाले गर्दा चैत १० गतेबाट लकडाउन भएपश्चात भने घटेको देखिन्छ । जसमा चैतमा २९ हजार ७ सय ५६ किलोलिटर, वैशाखमा १३ हजार ६०८ किलोलिटर, जेठमा २३ हजार ८९१ किलोटिर र असारमा ४२ हजार ९ सय ७६ किलोलिटर पेट्रोल आयात भएको छ ।

त्यस्तै डिजेलमा भने उक्त समयमा भारी गिरावट आएको देखिन्छ । जसमा सामान्य अवस्थामा डेढ लाखभन्दा बढी किलोलिटर आयात हुँदै आएको डिजेल चैतमा ७१ हजार ७२८ किलोलिटर, बैशाखमा १ लाख ८१२ किलोलिटर, जेठमा ७७ हजार ५३६ किलोलिटर र असारमा २ लाख २४ हजार १०२ किलोलिटर आयात भएको भन्सार विभागको तथ्याङ्कले उल्लेख गरेको छ ।

असारपश्चात साउनदेखि भने पेट्रोलियम पदार्थ आयातमा विस्तारै लयमा फर्केको नेपाल आयल निगमले जनाएको छ । निगमका प्रवक्ता विनितमणि उपध्यायका अनुसार कोरोनाले गर्दा पनि थोरै मात्रामा भएपनि पेट्रोलियम पदार्थ आयात भएको छ । तर, व्यापार व्यवसाय पूर्ण रुपमा बन्द हुँदा पनि उक्त पदार्थ उल्लेखनीय आयात भएको बताए ।

‘लकडाउन भएपछि ५,६ महिना पेट्रोलियम पदार्थ आयात घटेकै हो । असोजपश्चात पूर्ण रुपमा पिक अप लिएको हो,’ उनले क्लिकमान्डूसँग भने, ‘कोरोनाले गर्दा स्कुल, कलेजलगायत अन्य व्यवसाय मात्रै पूर्ण रुपमा बन्द भएको र अन्य व्यवसाय फाट्टफुट्ट चलेको हुँदा खासै आयात नघटेको हो ।’

उनका अनुसार कलकारखाना बन्द भए पनि मानिसको कम मात्रामा भएपनि मानिसको चहलनपहल थियो । त्यसले गर्दा केहीले मात्रै कम आएको बताए । तर, अहिले लकडाउनभन्दा पनि अगाडिकै चरणमा आइसकेको उनको भनाइ छ ।

भारततर्फ निकासी रोक्न स्थानीय प्रशासनसँग समन्वय

यस्तै, पछिल्लो समय भारतमा भन्दा नेपालमा पेट्रोल डिजेलको मूल्य सस्तो भएकाले तस्कर हुने गरेको छ । चैतमा मात्रै करिब ५ पटकसम्म तस्कर गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ । नेपालमा भन्दा भारतमा प्रति लिटर ३० देखि ३५ रुपैयाँसम्म डिजेल महँगो भएकाले तस्करी गर्दै नेपालबाट भारततर्फ पेट्रोलियम पदार्थ तस्कर हुँदै आएको छ ।

आजको दिनमा नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर ११८ हुँदा भारतमा १४८ रुपैयाँ रहेको छ । साथै डिजेलमा डिजेलको मूल्य १०१ हुँदा भारतमा १३८ रुपैयाँ रहेको छ । जुन नेपालको भन्दा ३६ रुपैयाँले बढी हो । यसले गर्दा भारततर्फ नेपालमा आयात भएको पेट्रोलियम पदार्थ निर्यात हुन नदिन कडा निर्देशन जारी गरेको निगमको भनाइ छ ।

‘नेपालमा आयात भएको पेट्रोलियम पदार्थ भारततर्फ निकासी हुनुहुँदैन । नेपालमा ल्याएको पेट्रोलियम पदार्थ नेपालीले नै प्रयोग गर्न पाउनुपर्छ,’ उनले भने, ‘उक्त गतिविधिलाई रोकथाम गर्नको लागि निगमले स्थानीय प्रशासनसँग समन्वय गरेर अघि बढेको छ ।’

साथै, नेपालबाट भारततर्फ धेरै नाका भएकाले कुन ठाउँबाट कहिले लगेको थाहो हुँदैन । त्यसैले पेट्रोलियम पदार्थ तस्कर नियन्त्रण गर्नको लागि स्थानीय प्रशासनसँग समन्वय गर्न कडा निर्देशन दिएको उनको भनाइ छ ।


क्लिकमान्डु