
काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेलमा बाँसका सामग्री निर्माणसम्बन्धी सिप विकास तालिम सुरु भएको छ ।
चैत २० गतेसम्म चल्ने तालिममा गोदावरी नगरपालिका भित्र रहेका विभिन्न वडाबाट छानिएका २२ जना प्रशिक्षार्थीहरू तालिममा सहभागी रहेका छन् । तालिममा पहरी र नगरकोटी समुदायका व्यक्तिहरू सहभागी रहेका छन् ।
विशेष गरी पहरी र नगरकोटी समुदायका व्यक्तिहरू बाँसका सामाग्री बनाएर आफ्नो जीविकोपार्जन गर्दै आएका छन् । उनीहरूको थप सीप विकास गर्न र व्यवसायीक बनाउनका लागि तालिमको आयोजना गरिएको जनाइएको छ ।
सोशल डेभलपमेन्ट भिजन, ललितपुरको आयोजनामा सुरु भएको तालिमलाई चीनको सिजाङ ९तिब्बत०मा मुख्यालय रहेको गुडविल फाउण्डेसन र काठमाडौंमा रहेको नेपाल–चाइना कैलाश कल्चर प्रमोशन डेभलपमेन्ट एसोसिएसनले सहयोग गरेका छन् । स्थानीय साझेदारको रुपमा गोदावरी नगरपालिका र गोदावरी उद्योग वाणिज्य संघ रहेका छन् ।
गोदावरी नगरपालिकाका प्रमुुख गजेन्द्र महर्जनले तालिमलाई अवसरको रूपमा लिएको बताए । महर्जनले बाँसका सामग्री निर्माणसम्बन्धी सीप विकासले यस क्षेत्रका जनताको आम्दानीमा वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले वडा नम्बर ४ का पहरी र नगरकोटी समुदायका व्यक्तिहरूको आम्दानीको स्रोत नै बाँस भएको उल्लेख गर्दै अझ राम्रो सामग्री उत्पादनमा तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उनले वडामै पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको तालिम आएकोले ध्यानपूर्वक तालिम अवधिभर सिक्न प्रशिक्षार्थीहरूलाई आग्रह गरे । राम्रो उत्पादन गरेर बाँसको सामग्रीको बजारीकरण गर्नेगरी अघि बढ्नुपर्ने उनले बताए ।
सोशल डेभलपमेन्ट भिजन, ललितपुरका अध्यक्ष शिवकुमार बस्नेतले गोदावरीमा बाँसका सामग्रीबाट जीवन गुजारा गरिरहेका व्यक्तिहरूलाई व्यवसायिक बनाउनका लागि तालिम सञ्चालन गरिएको बताए ।
उनले बाँसको सामग्रीहरूको बजार नेपालमा मात्रै नभई विदेशमा पनि रहेको उल्लेख गर्दै व्यवसायिक रूपमा दक्ष जनशक्ति बनाउने लक्ष्य रहेको उल्लेख गरे ।
गुडविल फाउण्डेसन तिब्बतका अध्यक्ष मा जेजियानले तालिममा बाँसको चोयाबाट विभिन्न सामग्रीहरू निर्माण गर्न सिकाइने बताए । उनले चोयाको माध्यमबाट जीवन कसरी आर्थिक रूपमा समृद्ध बनाउने भन्नेकुरा तालिममा सिकाइने भन्दै यसबाट नेपाल र चीनका बीचमा सीप आदान–प्रदान पनि हुने उल्लेख गरे ।
‘हामी “प्लास्टिकको विकल्पका रूपमा बाँसको अवधारणालाई प्रवद्र्धन गर्दै हरित विकासलाई प्रोत्साहित गर्न चाहन्छौं, जसले हाम्रो वातावरणलाई अझ सुन्दर बनाउनेछ’ उनले भने ‘यस तालिमको माध्यमबाट, नेपाली मित्रहरूले चीन र चीनको बाँस संस्कृति अझ राम्रोसँग बुझ्ने अवसर पाउनेछन् ।’
नेपालमा ६३ हजार हेक्टर जमिनमा ५० भन्दाबढी प्रजातिका बाँस पाइन्छन् । बाँसको व्यवसायिकरणका लागि नेपालमा पनि विभिन्न प्रयासहरू सुरु भएका छन् । गत फागुन १५ गतेदेखि १७ गतेसम्म खोटाङको दिक्तेलमा पहिलो राष्ट्रिय बाँस सम्मेलन समेत सम्पन्न भइसकेको छ ।
प्रतिक्रिया