गुगलले गोरा र एसियाली कमर्चारीलाई बढी तलब दिएर उच्च पदमा राखेको मुद्दा हार्‍यो, साढे ३ अर्ब तिर्नुपर्ने


एजेन्सी । गुगलले गोरा र एसियाली कर्मचारीहरूलाई अरू कर्मचारीभन्दा बढी तलब दिएको र उच्च पदमा राखेको भन्दै परेको मुद्दामा जरिबाना तिर्ने भएको छ । त्यसका लागि गुगलले २५ मिलियन डलर (३ अर्ब ४५ करोड नेपाली रुपैयाँ) तिर्ने सहमति जनाएको छ । यो रकम क्यालिफोर्नियामा २०१८ फेब्रुअरी १५ देखि २०२४ डिसेम्बर ३१ सम्म काम गर्ने कम्तिमा ६ हजार ६३२ जना कर्मचारीको हितमा रहेको सीएनएनले जनाएको छ ।

अल्फाबेटको इकाई गुगलसँगको यो सहमतिलाई क्यालिफोर्नियाको सान्टा क्लारा काउन्टी सुपीरियर कोर्टका न्यायाधीश चार्ल्स एडम्सले गत हप्ता प्रारम्भिक स्वीकृति दिए। उनले यो सम्झौता उचित, युक्तिसंगत र प्रभावित कर्मचारीहरूको लागि राम्रो नतिजा भएको बताए ।

गुगलका प्रवक्ता कोर्टने मेन्सिनीले सम्झौता पुष्टि गर्दै भनिन्, ‘हामी आरोपहरूसँग असहमत छौं । सबै कर्मचारीलाई निष्पक्ष रूपमा तलब, नियुक्ति र पदोन्नति दिने प्रतिबद्धता कायम छ ।’

मेक्सिकन र आदिवासी मूलकी अन कान्टुले हिस्पानिक, ल्याटिनक्स, आदिवासी, नेटिभ अमेरिकन, अमेरिकी भारतीय, नेटिभ हवाइयन, प्रशान्त द्वीपवासी र अलास्का मूल निवासी कर्मचारीहरूको तर्फबाट यो मुद्दा दायर गरेकी हुन् ।

कान्टुले सात वर्षसम्म गुगलको पिपल अपरेशन्स र क्लाउड डिपार्टमेन्टमा उत्कृष्ट काम गरे पनि समान पदमै सीमित भएको तर गोरा र एसियाली सहकर्मीहरूले बढी पैसा र पदोन्नति पाएको दाबी गरेकी छन् । उनले गुगलले समान काम गर्ने गोरा र एसियालीहरूलाई अरूभन्दा उच्च ‘स्तर’मा राखेको र आपत्ति जनाउनेहरूलाई बढुवा नदिएको अभियोग लगाएकी छन् ।

कान्टुकोअनुसार, यसले क्यालिफोर्निया समान तलब ऐन उल्लंघन गरेको छ । उनले २०२१ सेप्टेम्बरमा गुगल छोडेकी हुन् ।

न्यायाधीश एडम्सले गुगलले चाहेजस्तै कान्टुका वकिलहरूले कालाजातीका कर्मचारीहरूलाई यो मुद्दाबाट हटाएपछि सम्झौता भएको बताए ।

सम्झौतालाई अन्तिम स्वीकृति दिने सुनुवाई सेप्टेम्बर ११ मा हुनेछ ।

Skip This