तरलता बढी हुँदा सस्तो निक्षेपमा बैंकको ध्यान, कासा डिपोजिट १७% ले बढ्यो, कस्को कति ?



काठमाडौं । बैंकहरुमा सस्तो निक्षेपको (कासा डिपोजिट) १७.१६ प्रतिशतले बढेको छ । लगानी योग्य रकम (तरलता) पर्याप्त हुँदा सस्तो निक्षेपमा बैंकहरुको ध्यान गएको हो ।

बैंकर्स संघ स्रोतद्वारा प्राप्त तथ्यांकअनुसार २०७७ भदौ मसान्तसम्म बैंकहरुमा १४ खर्ब ८ अर्ब ७२ करोड रुपैयाँ कासा डिपोजिट थियो । जुन ०७७ फागुन मसान्तसम्म १७.१६ प्रतिशत अर्थात् २ खर्ब ४१ अर्ब रुपैयाँले बढेर १६ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ ।

पछिल्लो समय आर्थिक क्रियाकलाप बढ्दै गएपछि बैंकहरुमा कासा डिपोजिट बढेको राष्ट्र बैंकका सह–प्रवक्ता नारायण प्रसाद पोख्ररेलले बताए । तर बैंकहरुमा कासा डिपोजिट बढ्नु भनेको लामो समयको लागि लगानी गर्ने बैंकहरुको क्षमता घट्नु रहेको उनको भनाइ छ ।

‘बैंकमा निक्षेप राखेर चाँडै झिक्नु पर्नेले ब्याज नआउने खातामा पैसा जम्मा गर्छन्, ब्याजको आसा नगरी अन्य क्षेत्रमा लगानी गर्नको लागि यसरी जम्मा गरिने पैसा बढ्नु भनेको आर्थिक क्रियाकलाप बढ्नु हो,’ पोखरेलले क्लिकमाण्डूसँग भने, ‘तर यस्तो निक्षेपमा बैंकहरुले लामो समयसम्म कर्जा लगानीको व्यवस्थापन गर्न सक्दैनन् ।’

बैंकको कर्जा व्यवस्थापनको संतुलन मिलाउन चालु खाता अर्थात् कासा डिपोजिटको हिस्सा बचत निक्षेपको भन्दा बढी नबनाउन राष्ट्र बैंकले निर्देशन दिएको छ ।

बैंकहरुले सकेसम्म स्थिर लगानी बढाउन चालु र बचतमा भन्दा मुद्दति खातालाई प्रोत्साहन गर्नुपर्छ भने सोही अनुसार बैंकहरुले चालु खाता र बचत खातामा संकलन हुने निक्षेपको संतुलन मिलाएको उनको भनाइ छ ।

कासा भनेको के हो ?

सामान्यतया चालु खाता र बचत खाताबीचको मिश्रण अनुपातलाई (कासा) भनिन्छ । एक ब्यक्तिबाट बचतकर्ताले ब्याज प्राप्त गर्ने गरी खोलिएको खाता बचत खाता हो भने एक संस्था तथा कम्पनीले कुनै पनि प्रकारको ब्याज नपाउने गरी खोलिएको खाता चालु वा चल्ती खाता हो ।

कासा अनुपात भन्नाले कुनै पनि बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा बचत तथा चालु खातामा रहेको जम्मा निक्षेप कति हिस्सा छ भन्ने अनुपातलाई जनाउछ । मुद्दति खातामा जम्मा गरिएको निक्षेपको ब्याजदर चालु वा बचत खाताको तुलनामा बढी र स्थिर हुन्छ ।

मुद्दति निक्षेपको ब्याजदर बढी हुँदा बैंकहरुलाई लागत बढी पर्ने भएकाले मुद्दतिको हिस्सा बढी अर्थात् कासाको हिस्सा कम भएको बैंकहरुको कष्ट बढी हुन्छ । सोही कारण ती बैंकहरुले कर्जामा कायम गर्ने बेसरेट समेत धेरै हुन्छ ।

बचत र चालु खातामा पैसा बढी हुने बैंकहरुको कोष लागत (कस्ट अफ फन्ड) सस्तो पर्छ । यस्तो निक्षेप बढी हुने बैंकले तुलनात्मक रूपमा सस्तो ब्याजमा कर्जा दिन्छन् ।

कासा डिपोजिटको हिस्सा समेत ७ महिनामा २.९७ प्रतिशतले वृद्धि गरेका छन् । गत भदौ मसान्तमा बैंकहरुले कुल ३५ खर्ब ८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । जसमा कासा निक्षेपको हिस्सा ४०.१५ प्रतिशत थियो । फागनु मसान्तसम्म आइपुग्दा बैंकहरुले ३८ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेकामा कासा डिपोजिडको हिस्सा ४३.१३ प्रतिशत पुगेको छ ।

कुन बैंकमा कासा डिपोजिटको हिस्सा कति ?

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म कुल डिपोजिटमा ३ वटा बैंकको कासा डिपोजिट ५० प्रतिशभन्दा बढी र ११ वटा बैंकको ३० प्रतिशतभन्दा माथि ५० प्रतिशतसम्म छ ।

साथै, सो अवधिमा १० वटा बैंकको ३० प्रतिशतभन्दा माथि ४० प्रतिशतसम्म र ३ वटा बैंकको ३० प्रतिशतभन्दा थोरै हिस्सा कुल डिपोजिटमा कासा डिपोजिटको छ ।

सबैभन्दा बढी कासा डिपोजिटको हिस्सा राष्ट्रिय वाणिज्य बैंकमा ६९.२४ प्रतिशत छ भने सबैभन्दा थोरै सिभिल बैंकमा २६.८५ प्रतिशत छ ।

सो अवधिमा राष्ट्रिय वाणिज्य बैंकको कुल निक्षेप २ खर्ब ४२ अर्बरुपैयाँ छ । जसको ६९.४२ प्रतिशत अर्थात् १ खर्ब ६८ अर्बरुपैयाँ कासा डिपोजिटको हिस्सा छ ।

यसैगरी, स्ट्यान्डर्ड चार्टर्ड बैंकमा ८४ अर्ब ५३ करोड रुपैयाँ कुल डिपोजिटमा ६४.५८ प्रतिशत, नेपाल बैंकको १ खर्ब ५० अर्बरुपैयाँ कुल डिपोजिटमा ६३. ६० प्रतिशत, कृषि विकास बैंकको १ खर्ब ४५ अर्ब रुपैयाँ कुल डिपोजिटमा ४६.५९ प्रतिशत र हिमालयन बैंकको १ खर्ब ३७ अर्ब रुपैयाँ कुल डिपोजिटमा ४६.३४ प्रतिशत कासा डिपोजिटको हिस्सा छ ।

यसैगरी, फागुन मसान्तसम्म नबिल बैंकमा २ खर्ब २ अर्ब रुपैयाँ कुल डिपोजिटमा ४५.६४ प्रतिशत, नेपाल एसबीआइ बैंकको १ खर्ब २ अर्ब रुपैयाँ कुल डिपोजिटमा ४५.४३ प्रतिशत, नेपाल इन्भेष्टमेण्ट बैंकको १ खर्ब ६४ अर्ब रुपैयाँ कुल डिपोजिटमा ४४.२६ प्रतिशत र ग्लोबल आइएमई बैंकको २ खर्ब ५६ अर्ब रुपैयाँ कुल डिपोजिटमा ४३.६५ प्रतिशत कासा डिपोजिटको हिस्सा छ ।

सो अवधिमा सानिमा बैंकको १ खर्ब २० अर्ब रुपैयाँ कुल डिपोजिटमा ४३.१४ प्रतिशत, एभरेष्ट बैंकको १ खर्ब ५३ अर्ब रुपैयाँ कुल डिपोजिटमा ४३.१४ प्रतिशत र सनराइज बैंकको १ खर्ब २ अर्ब रुपैयाँ कुल डिपोजिटमा ४२.२२ प्रतिशत कासा डिपोजिटको हिस्सा रहेको छ ।

यसैगरी, प्रभु बैंकको १ खर्ब ६६ अर्ब रुपैयाँ कुल डिपोजिटमा ४२.१९ प्रतिशत, लक्ष्मी बैंकको १ खर्ब ८ अर्ब रुपैयाँ कुल डिपोजिटमा ४०.७७ प्रतिशत, सिद्धार्थ बैंकको १ खर्ब ७० अर्ब रुपैयाँ कुल डिपोजिटमा ३९.९२ प्रतिशत, बैंक अफ काठमाण्डूको ९५ अर्ब ४१ करोड रुपैयाँ कुल डिपोजिटमा ३९.०७ प्रतिशत र माछापुच्छ«े बैंकको १ अर्ब २५ अर्ब रुपैयाँ कुल डिपोजिटमा ३८.९२ प्रतिशत हिस्सा कासा डिपोजिटको छ ।

यस्तै, एनएमबी बैंकमा १ खर्ब ५२ अर्ब रुपैयाँ कुल डिपोजिटमा ३८.७९ प्रतिशत, कुमारी बैकको १ खर्ब २६ अर्ब रुपैयाँ कुल डिपोजिटमा ३८.०६ प्रतिशत, एनआइसी एशिया बैंकको २ अर्ब ८६ अर्ब रुपैयाँ कुल डिपोजिटमा ३७.७७ प्रतिशत र मेगा बैंकको १ खर्ब ३९ अर्ब रुपैयाँ कुल डिपोजिटमा ३५.३३ प्रतिशत कासा डिपोजिटको हिस्सा छ ।

यसैगरी, सो अवधिमा नेपाल बंगलादेश बैंकको ७२ अर्ब २५ करोड रुपैयाँ कुल डिपोजिटमा ३४.४५ प्रतिशत, एनसीसी बैंकको १ खर्ब ४६ करोड रुपैयाँ कुल डिपोजिटमा ३२.९८ प्रतिशत र सिटिजन्स बैंकको १ खर्ब ९ अर्ब रुपैयाँ कुल डिपोजिटमा ३२.९८ प्रतिशत, हिस्सा कासा डिपोजिटको छ ।

साथै, प्राइम बैंकको १ खर्ब ३९ अर्ब रुपैयाँ कुल डिपोजिटमा २९.०५ प्रतिशत, सेञ्चुरी बैंकको ८८ अर्ब ६२ करोड रुपैयाँ कुल डिपोजिटमा २८.५४ प्रतिशत र सिभिल बैंकको ८१ अर्ब २२ करोड रुपैयाँ कुल डिपोजिटमा २६.८५ प्रतिशत कासा डिपोजिटको हिस्सा छ ।


पुष्प दुलाल