दुई साताभित्र ‘टि प्लस टु’ कार्यान्वयनमा आउने



काठमाडौं । सीडीएससीले दुई साताभित्र ‘टि प्लस टू’ कार्यान्वयनमा ल्याउने भएको छ । सम्भवत अर्को आइतबारबाट ‘टि प्लस टू’ कार्यान्वयनमा ल्याउनका लागि सीडीएससीले सिस्टम अपडेटदेखि सरोकारवालासँग छलफल समेत शुरु गरेको छ ।

यसको लागि सीडीएससीले शुक्रबार ब्रोकरहरुसँग छलफल गर्ने भएको छ । सीडीएससीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) पूर्णप्रसाद आचार्यका अनुसार यो काम ब्रोकर कम्पनीहरुसँग बढी सरोकार राख्ने भएकाले उनीहरुसँग शुक्रबार छलफल गर्न लागिएको हो ।

‘टि प्लस टू’ कार्यान्वयनका लागि ब्रोकर एशोसिएसनका अधिकारीहरुसँग छलफल गर्ने र कसरी अघि बढने भनेर निर्णयमा जाने उनको भनाइ छ ।

सीडीएससीलाई बोर्डले कम्तीमा एक साताभित्र यो कार्यान्वयन गरिसक्नु भएको छ । सीडीएससीले पनि अर्को देखि यो कार्यान्वयनमा आउने गरी काम शुरु गरेको आचार्यको भनाइ छ ।

बोर्डको निर्देशन अनुसार छिट्टै कार्यान्वयनमा आउनुपर्ने भएकाले ब्रोकरहरुसँग बसेर छलफल गर्न लागिएको हो ।

‘भोलि हामीले ब्रोकरसँग छलफल गरेर आएको निष्कर्षलाई सञ्चालक समितिमा पेश गर्छौ,’ उनले भने, ‘समितिले नै यसको कार्यान्वयनको समय तोक्ने छ । र, त्योे समय माघ दोस्रो साताभन्दा अगाडि नै हुनसक्छ ।’

यसका लागि नेप्सेको सिस्टम भने तयारी अवस्थामा छ । सेटलमेन्ट भएको सेयर लगानीकर्ताको खातामा पठाउने कामलाई सहजीकरण गर्न आवश्यक रहेको सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले बताए । यसका लागि सिस्टममा केही विशेषता थप्ने क्रममा रहेको उनको भनाइ छ । यसका लागि ब्रोकर पूर्णरुपमा तयार हुनुपर्ने उनको भनाइ छ ।

‘टि प्लस टू’मा जाने भएपछि त्यसका लागि ब्रोकर कम्पनीहरुले पनि तयारी गर्नुपर्ने हुन्छ । आगामी आइतबारसम्म ब्रोकरले आवश्यक काम सकेर यो कार्यान्वयनमा आउन सक्ने उनको भनाइ छ ।

समयमा नै सेयर राफसाफ हुँदा लगानीकर्ताको संख्या थपिने र बजारलाई थप चलायमान बनाउन सहयोग गर्ने बताइन थालेको छ ।

अहिले लगानीकर्ताहरुलाई व्यवस्थित बनाउन आवश्यक रहेको देखिएको जानकारहरु बताउन थालेका छन् । लगानीकर्ताहरुले सेयर समयमा नै आउनु पर्ने तर उनीहरुले समयमा नै इडीआईएस नगर्ने जस्ता समस्या देखिन थालेको छ । लगानीकर्ताहरुले सेयर बिक्री गरेको पैसा समयमा नै आएन भनेर गुनासो गर्ने तर आफ्नो काम समयमा नै नगर्दा लागनीकर्ता र ब्रोकरको दुरी बढेको जानकारहरुको भनाइ छ ।

यो समस्या समाधान गर्नका लागि आवश्यक काम गर्नुपर्ने तर्फ पनि सीडीएससीले काम गर्ने जनाएको छ ।

नेपाल धितोपत्र बोर्डले ‘टि प्लस टू’ कार्यान्वयनका लागि धितोपत्र कारोबार राफसाफ तथा फछ्यौट विनियमावली–२०६९ लाई संशोधान गरेर यसलाई कार्यान्वयनमा ल्याउने सीडीएससीलाई जिम्मा दिएको छ ।


क्लिकमान्डु