सोमबार १० वटा कम्पनीको साधारणसभा, कसको लाभांश कति ?
काठमाडौं । आज (सोमबार) एकै दिन दुई वटा वाणिज्य बैंकसहित १० वटा कम्पनीको साधारणसभा हुँदैछ ।
एभरेष्ट, हिमालयन बैंकसहित १० वटा कम्पनीले वार्षिक साधारणसभा गर्न लागेका हुन् । साधारणसभामा एभरेष्ट बैंकले ५ प्रतिशत बोनस र ५.५३ प्रतिशत नगद गरी १०.५३ प्रतिशत लाभांश दिने निर्णय पारित हुनेछ । साथै हिमालयन बैंकको साधारणसभाले १४ प्रतिशत बोनस र ६ प्रतिशत नगद गरी २० प्रतिशत लाभांश दिने प्रस्ताव पारित हुने छ ।
त्यस्तै सोमबार साधारणसभा हुने अन्य कम्पनीमा छ्याङदी हाइड्रोपावरले ५ प्रतिशत बोनस र ०.२६ प्रतिशत नगद गरी ५.२६ प्रतिशत लाभांश तथा ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्ने छ ।
मितेरी डेभलपमेन्ट बैंकको पनि आज नै साधारणसभा हुँदैछ । साधारणसभामा १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्ने छ । माउन्टेन इनर्जी नेपाल र माउन्टेन हाईड्रो नेपाल तथा समृद्धि फाइनान्सको पनि आज नै साधारणसभा हुँदैछ । यी तीनवटै कम्पनीले लगानीकर्तालाई यो पटक कुनै पनि लाभांश दिने प्रस्ताव ल्याएका छैनन् ।
सोमबार एनएमबी लघुुवित्त वित्तीय संस्थाको साधारणसभा रहेको छ । उक्त साधारणसभाले सेयरधनीहरुलाई १९ प्रतिशत बोनस र १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्दै छ ।
सोमबार नै प्राइम लाइफ इन्स्योरेन्सको पनि साधारणसभा हुँदैछ । लगानीकर्तालाई ७ प्रतिशत बोनस र ८ प्रतिशत नगद लाभांश साधारणसभाले पारित गर्ने छ । त्यस्तै सिडीएससीले पनि १५ प्रतिशत लाभांश दिनेका लागि साधारणसभा बोलाएको छ । आज बोलाएको साधारणसभाले उक्त प्रस्ताव पारित गर्ने छ ।