सेयर बजारमा सुधारको सकारात्मक प्रभाव म्यूचुअल फन्डको न्याभमा देखियो



काठमाडौं । मंसिर महिनामा म्यूचुअल फन्डको समग्र प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) मा धेरै सुधार देखिएको छ । पुँजी बजारमा आएको सुधारसँगै न्याभमा पनि निकै सुधार देखिएको छ ।

कात्तिक महिनाको तुलनामा मंसिर महिनामा सबै फण्डको न्याभमा सुधार देखिएको छ । तर नयाँ आएको एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको भने ९ रुपैयाँ ९९ पैसा छ । अरु सबैको ११ रुपैयाँभन्दा बढी छ ।

सेयर बजारमा आएको सुधारको प्रभाव न्याभमा पनि देखिएको हो । पछिल्लो समयमा समग्र सेयर बजारमा सामान्यतया सुधार देखिएको छ ।

कात्तिक महिनामा फण्डहरुले सूचिकृत सेयरमा १२ अर्ब ८२ करोड १ लाख ४ हजार ७१५ रुपैयाँ सूचीकृत सेयरमा लगानी गरेका थिए । यो रकम मंसिर महिनामा बढेर १४ अर्ब १५ करोड ९५ लाख ४१ हजार २ सय रुपैयाँ लगानी गरेका छन् । यो अवधिमा फण्डहरुले सूचीकृत सेयरमा गर्ने लगानी धेरै नै बढेको छ । जसले पनि बजारलाई चलायनमान बनाउन सुहयोग गरेको देखिएको छ ।

तथापि फण्डहरुको पुँजी बजारमा लगानीभन्दा पनि बैंकमा पैैसा राखेर ब्याज खाने प्रचलन घटेको छैन । कात्तिक महिनामा ३ अर्ब ८२ करोड ६१ लाख ३० हजार १४२ रुपैयाँ बैंकमा रहेकोमा मंसिर महिनामा यो रकम बढेर ५ अर्ब ६६ करोड ३७ लाख ८५ हजार ५६० रुपैयाँ पुर्याएका छन् ।

म्यूचुअल फण्डहरुले पहिला बजार घटेको समयमा पुँजी बजारमा लगानी कम गरेर बैंकमा राखेर ब्याज खाने गरेको थिए । पछिल्लो समय बैंकको ब्याज घटेको र बजार बढेको कारण पुँजी बजारमा लगानी बढेपनि बैंकमा राखेर ब्याज खाने प्रचलनमा भने कमी आएको छैन ।

फण्डलाई सेयर बजारमा लगानी गर्ने र त्यसको असर बजारमा देखिने भन्दै ल्याईएको हो । फण्डले बजार घटेको समयमा सेयर किन्ने र अनावश्यक बढेको समयमा बेचेर बजारलाई स्थिर बनाउने लक्ष्यसहित फण्डको स्थापना गरिएको हो । तर पुँजी बजारमा बजार घटेको समयमा बैंकमा राखेर ब्याज खाने र बढेको समयमा सेयरमा लगानी गर्ने प्रचलन विकास भएको छ ।

बजारको स्थायित्वका लागि भनेर खोलिएका फण्डलाई हरेक कम्पनीले साधारण सेयर जारी गर्दा ५ प्रतिशत साधारण सेयर (आईपीओ) आरक्षण नै दिइएको छ भने करमा छुट पनि दिएको छ । फण्डहरुलाई यस्तो सहुलियत पाएपनि उद्देश्य अनुसार काम गरेका छैनन् ।


क्लिकमान्डु