सूचिकृत संस्थालाई साधारणसभाको चटारो, एक महिनाभित्र ७६ संस्थाको साधारणसभा हुने



काठमाडौं । अबको १ महिनाको अवधिमा विभिन्न ७६ वटा सूचीकृत संगठित संस्थाको साधारणसभा हुँदैछ ।

साधारणसभाको लागि अधिकांश संस्थाहरुले बुक क्लोजको मिति समेत तय गरिसकेका छन् । यो अवधिमा साधारणसभा गर्ने कम्पनीहरुमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) समेत रहेको छ ।

पुस महिनामा मात्रै विभिन्न ७२ वटा कम्पनीको साधारणसभा रहेको छ । त्यसमा पनि सबैभन्दा बढी त पुस २९ गते नै रहेको छ । पुस २९ गते मात्रै झण्डै तीन दर्जन कम्पनीको साधारणसभा रहेको छ । प्रत्येक सूचीकृत कम्पनीले आर्थिक वर्ष सकिएको ६ महिना भित्र साधारणसभा सम्पन्न गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ ।

सोही व्यवस्था अनुसार कम्पनीहरुले पुस समान्तमा धमाधम साधारणसभाको बोलाएका छन् । त्यसमा पनि कम्पनीहरुले पुस २२ गतेदेखी २९ गतेसम्म साधारणसभा बोलाएका छन् ।

साधारणसभा बोलाएका कम्पनीहरुले बुक क्लोजको मिति समेत तय गरिसकेका छन् । कम्पनीहरुले समय सकिन लागेको समयमा एकै पटक साधारणसभा र बुक क्लोजको मिति निकाल्ने गरेका छन् ।

केही कम्पनीहरुले भने साधारणसभा गरिसकेका छन् । तर केही कम्पनीहरुले भने कानूनी व्यवस्थालाई उल्लघंन गरेका छन् । अहिलेसम्मको सूचना अनुसार ४ वटा कम्पनीहरुले पुस मसान्तपछि साधारणसभा गर्ने भएका छन् । जसमा एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले माघ ४ गते साधारणसभा बोलाएको छ । तर अहिलेसम्म बुक क्लोजको समय सार्वजनिक गरेको छैन ।

यस्तै स्वदेशी लघुवित्त वित्तीय संस्थाले माघ ४ गते साधारणसभा गर्नको लागि सोही दिन बुक क्लोज गर्ने भएको छ भने सूर्या लाइफ इन्स्योरेन्सले माघ १० गते साधारणसभा गर्नको लागि पुस १७ देखि २४ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

नेशनल लाइफ इन्स्योरेन्सले माघ १५ गते साधारणसभा गर्नको लागि माघ २ गतेदेखि १५ गतेसम्म बुक क्लो गर्ने भएको छ । कम्पनीहरुले समय सकिन लाग्दा साधारणसभा गर्दा लगानीकर्तामा भने अन्योलता धेरै नै हुने देखिन्छ । साथै कम्पनीहरु लगानीकर्ताप्रति कम जिम्मेवार देखिने गरेको छ ।

 


क्लिकमान्डु