नेपाल र भारतका उच्च अधिकारीबीच भर्चुअल बैठक, भारतीय सहयोगप्राप्त परियोजनाबारे छलफल



काठमाडौं । नेपाल र भारतका उच्च अधिकारीबीच सोमबार भर्चुअल मिटिङ सम्पन्न भएको छ । भारतबाट सहयोगप्राप्त विकास परियोजनाबारे सोमबार उच्च अधिकारीबीच वार्ता भएको हो ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ७४औं स्वतन्त्रता दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्तापछि सोमबार दुई देशका उच्च अधिकारीबीच वार्ता भएको हो ।

गत बैशाख महिनामा भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटी नेपालले राजनीतिक नक्सा जारी गरेपछि उत्पन्न तनावपछि पहिलो पटक वार्ता भएको हो ।

वार्तामा नेपालका तर्फबाट परराष्ट्र सचिव शंकर दास बैरागी र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राको सह-अध्यक्षतामा दुई पक्षीय वार्ता भएको हो ।

बैठकका क्रममा भारतीय सहयोगमा निर्माणधिन हुलाकी सडक, अन्तरदेशीय रेलवे परियोजना, अरुण तेस्रो जलविद्युत् आयोजना, पेट्रोलियम पाइपलाइन, पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, भूकम्पपछिको पुननिर्माण, सिँचाई, उर्जा र प्रसारण लाइन, नेपाल प्रहरीको एकेडेमी निर्माण, एकीकृत जाँच चौकी, रामायण सर्किट, महाकाली नदीमा निर्माण हुने मोटरेबल पुल, कृषि र सास्कृतिक सम्पदालगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सन् २०१६ मा नेपालका प्रधानमन्त्रीले गरेको भारत भ्रमणका क्रममा नेपालमा भारतीय सहयोगमा सञ्चालित परियोजनाहरुको प्रभावकारी कार्यान्वयनका लागि उक्त संयन्त्र स्थापना गरिएको थियो ।

संयन्त्रमा नेपालका तर्फबाट परराष्ट्र सचिव र भारतका तर्फबाट नेपालस्थित भारतीय राजदूत रहने व्यवस्था छ ।


क्लिकमान्डु