उद्योग वाणिज्य महासंघको निर्वाचनको मिति सर्यो, लकडाउन पूर्णरुपमा खुलेको १५ दिनमा निर्वाचन हुने



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको साउन २६ र २७ मा हुने भनिएको निर्वाचन सरेको छ । सरकारले लकडाउन खुलेको घोषणा गरेपनि केही क्षेत्रमा बन्देज कायमै राखेको छ । जसमा २५ जनाभन्दा बढी भेला हुन पाइँदैन ।

महासंघले निर्वाचन गर्ने अनुमति दिनको लागि सरकारसँग माग गरेको थियो । गत सोमबारको मन्त्रिपरिषदको बैठकले लकडाउन हटाउने निर्णय गरेपनि महासंघको निर्वाचन अनुमति दिने विषयमा केहीपनि निर्णय गरेको थिएन ।

महासंघ अध्यक्ष भवानी राणाले निर्वाचनको बारेमा निर्णय लिनका लागि पूर्वअध्यक्षसहित पदाधिकारीको बैठक बिहीबार बोलाएकी थिइन् । जसमा सरकारले लकडाउन पूर्णरुपमा खुलाएको १५ दिनभित्र निर्वाचन गर्ने सहमति भएको महासंघका पूर्वअध्यक्ष सुरज वैद्यले बताए ।

सरकारले भदौं १ देखि लामो दुरीको सवारी साधन तथा हवाई उडान समेत खोल्ने निर्णय गरेको छ । तर २५ जनाभन्दा बढी भेला हुन तथा पार्टी प्यालेस, क्लब, सिनेमा हल तथा स्कुल कलेजमा भने खोल्न अहिलेपनि प्रतिबन्ध छ ।

महासंघको निर्वाचन चैतमा हुनुपर्ने थियो । कोरोना भाइरसको कारण निर्धारित मितिमा महासंघको निर्वाचन हुन सकेको छैन ।

महासंघको साधारणसभापछि अहिलेका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष चुनिनेछन् । बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल र किशोर प्रधानले प्यानल नै बनाएर निर्वाचन लड्ने घोषणा गरेका छन् ।

बैठकमा निवर्तमान अध्यक्ष पशुपति मुरारका, विशिष्ट सदस्य एवं पूर्वअध्यक्ष चण्डिराज ढकाल, महासंघका पूर्वअध्यक्षहरू महेशलाल प्रधान, प्रदीपकुमार श्रेष्ठ, रविभक्त श्रेष्ठ, विनोदबहादुर श्रेष्ठ, कुशकुमार जोशी, सुरज वैद्य, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरू किशोरकुमार प्रधान, उमेशलाल श्रेष्ठ, चन्द्र प्रसाद ढकालको सहभागिता थियो ।


क्लिकमान्डु