भाटभटेनीका अध्यक्ष गुरुङले ११ करोड लागतमा त्रिवि शिक्षण अस्पतालमा अर्को भवन बनाइदिने



काठमाडौं । भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले त्रिवि शिक्षण अस्पतालमा अर्को भवन बनाइदिने भएका छन् ।

भवनको शिलान्यास बुधबार भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उक्त भवनको शिलान्यास गरेका हुन् ।

भवन १० महिनाभित्रै तयार पारेर हस्तान्तरण गर्ने योजना छ ।

भाटभटेनी सुपरमार्केट्सका प्रबन्ध निर्देशकसमेत रहेका गुरुङ र भाइ पहलमान गुरुङले स्वर्गीय बुबा वृषबहादुर गुरुङ र आमा धनमाया गुरुङको स्मृतिमा उक्त भवन बनाउन लागेका हुन् ।

अध्यक्ष गुरुङका अनुसार नयाँ भवन निर्माणमा करिब ११ करोड रुपैयाँ लागत लाग्ने अनुमान छ ।

बेसमेन्टसहित पाँचतलाको हुने उक्त भवनमा एउटा तला २६ सय वर्गफिटको हुनेछ ।

गुरुङले यसअघि पनि करिब १० करोड लागतमा त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षसहितको भवन निर्माण गरिदिएका थिए ।

‘हामीले यसअघि पनि १० करोडजति लगानीमा त्यहाँ भवन बनाइदिएका थियौं,’ भाटभटेनीका अध्यक्ष गुरुङले भने, ‘अहिले बनाउन लागेको भवनमा फर्निचर र आवश्यक सामग्री पनि उपलब्ध गराउने भनेका छौं । त्यहाँ भेन्टिलेटरसहितको व्यवस्था हुन्छ । यसअघि ६ महिनाभित्रै तयार गर्ने योजना थियो तर कोरोनामहामारीका कारण निर्माणको काम केही लम्बिने देखेका छौं । १० महिनाभित्रै हामीले उक्त भवन हस्तान्तरण गर्ने योजना छ ।’


क्लिकमान्डु