२४ घण्टा क्वारेन्टाइनमा बसेर फेरि आएँ है भन्दै युवराज खतिवडा यसरी पुगे अर्थ मन्त्रालय (भिडियो)



काठमाडौं । मंगलबार मात्रै पदबाट राजिनामा दिएका अर्थमन्त्री युवराज खतिवडा राजिनामा स्वीकृत भएको २४ घन्टा नवित्दै बुधबार फेरि अर्थमन्त्रीमा नियुक्त भए ।

राष्ट्रपतिबाट पद तथा गोपनियताको सपथग्रहण लिएर खतिवडा सरासर पदबहाली गर्न अर्थ मन्त्रालय पुगे ।

राजिनामा दिएको भोलिपल्टै फेरि मन्त्री पदमा नियुक्ति भएर खतिवडाले नेपालको इतिहासमा नयाँ रेकर्ड कायम गरेका छन् ।

मन्त्री खतिवडाको स्वागत गर्न अर्ब सचिव शिशिर ढुंगाना र निमित्त राजस्व सचिव रामशरण पुडासैनीसहित कर्मचारीहरु हातमा खादा, बुके र फुल लिएर लामबद्ध भएर बसेका थिए ।

पदबहाली गर्दै अर्थमन्त्री खतिवडाले भने- योद्धा हुँ, कमाण्डरले फिर्ता नबोलाएसम्म लडिरहन्छु

मन्त्रालयको गेटैमा खतिवडा चढेको गाडी रोकियो । मुस्कुराउँदै खतिवडा बाहिर निस्किए र भने, ‘फेरि पो आइयो त ।’

त्यसपछि खतिवडालाई कर्मचारीले खादा, फुल र बुके दिएर स्वागत गर्न थाले । खतिवडाई फुल र बुके समात्न भ्याइनभ्याइ भयो । कर्मचारीहरुले बधाई छ मन्त्रीज्यू भन्दै फुल दिइरहे ।

सचिव गोपिनाथ मैनालीले दिएको बुके समात्दै अर्थमन्त्रीले भने, ‘फुल बटुल्ने मेलो भयो है ।’

कर्मचारीहरु ग्वाल्ल हाँसे । खतिवडा अघि बढिरहे ।

खतिवडा माथिल्लो तलामा रहेको आफ्नो कार्यकक्षतर्फ लम्किए । अर्थसचिव ढुंगाना र निमित्त राजस्व सचिव पुडासैनी पछिपछि लागे ।

भर्याङमा पुगेपछि खतिवडाले भने, ‘२४ भन्टा क्वारेन्टाइनमा बसेर आइयो, ठ्याक्कै २४ घन्टा हो नि ।’

अर्थसचिवसँग गफिँदै खतिवडा अघि बढे । मन्त्रीको कार्यकक्ष प्रवेश गर्ने ढोकामा पत्रकार र कर्मचारीहरु बसेका थिए । उनीहरुले पनि मन्त्रीलाई बधाई दिए ।

‘ल साथी हो फेरि आइयो,’ खतिवडाले भने ।

त्यसपछि खतिवडा सरासर मन्त्रीको कुर्सी भएति अघि बढे । मंगलबार मात्रै गुमेको त्यो काठको कुर्सी छेउमा पुगेपछि खतिवडाले सोधे, ‘बसौं त ?’

साथमै रहेका सचिवले भने, ‘हस ।’

त्यसपछि खतिवडा कुर्सीमा बसे । सचिव ढुंगानाले पदबहालीको हस्ताक्षर गर्न मन्त्रीलाई फाइल दिए । त्यसमा पहिलो निर्णयको फाइल पनि थियो ।

खतिवडाले फुत्त कलम झिके । हस्ताक्षर गर्नुअघि मुस्कुराउँदै पुलुक्क सचिवको मुखमा हेरे । अनि हस्ताक्षर गरे ।

पदबहाली गरिसक्न नभ्याउँदै पत्रकारहरुले प्रश्न गरे, ‘मन्त्रीज्यू कति समयका लागि आउनुभएको हो ? कार्यकाल कति हो ?’

‘आज मेरो पहिलो दिन हो, पहिलो दिन नै कार्यकालको विषयमा सोधिँदैन,’ मुस्कुराउँदै खतिवडाले जवाफ दिए, ‘पहिलो दिन नै कार्यकालको के हिसाबको कुरा गर्नु ?’

त्यसपछि खतिवडाले पृष्ठभूमि भन्न थाले । आफू विकास, सुशासन, सामाजिक न्याय र समानताको पक्षको लडाइँ लड्ने योद्धा भएको बताए ।

‘योद्धा लडाइँमा त्यो बेलासम्म लडिरहन्छ, जुन बेलासम्म कमान्डरले फिर्ता आउ भन्दैन वा युद्ध जित्दैन,’ उनले भने, ‘मेरो कार्यकाल पनि त्यही हो । त्यसकारण यसको कुनै समयसीमा हुँदैन ।’

जबसम्म युद्ध जितिँदैन मुलुकको गरिबी, अभाव, रोग, भोक, शोक र अन्यायको विरुद्धमा लडिरहने भएकाले यसको कुनै समय सीमा नभएको उनले बताए ।

‘क्रमिकरुपमा अर्थव्यवस्थामा चुनौती थपिएका छन्, त्यसको पनि सामना गर्नुछ,’ उनले भने ।

विश्वमा फैलिएको कोरोना भाइरसले देशको अर्थव्यवस्थमा असर पार्ने तर अहिलेसम्म यति नै असर पार्छ भन्ने तथ्यगत आँकलन नभएको उनको भनाइ छ ।

‘नेपालको अर्थव्यवस्था आयातमूखि भएकाले आपूर्ति सेवा प्रबावित हुन सक्छ, त्यसतर्फ हामी सचेत हुनुपर्छ,’ उनले भने ।

राष्ट्रियसभामा २ वर्षे कार्यकाल सकिएकाले राजीनामा दिएको र प्रधानमन्त्रीले विश्वास गरेका कारण आज फेरि पुरानै भूमिकामा फर्किएको उनले बताए ।


पुष्प दुलाल