चिनियाँ लगानीको साञ्जेन खोलाले ९ महिनामै बेच्यो ८५ करोडको बिजुली, कन्टिन्जेन्सीबाट हट्दै


काठमाडौं । सालासुंगी पावरको साञ्जेन खोला जलविद्युत् आयोजनाले चालु आर्थिक वर्ष (सन् २०२६)को ९ महिनामा ८४ करोड ९० लाख रुपैयाँको सञ्चालन आम्दानी गरेको छ । ऊर्जा बिक्री र महसुल समायोजनका कारण सञ्चालन आम्दानी बढेको हो ।

७८ मेगावाटको आयोजनाले आर्थिक वर्ष २०२५ मा ५१ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यस्तै, कम्पनीको सञ्चालन नाफा आर्थिक वर्ष २०२५ मा ८५.७० प्रतिशत र चालू आर्थिक वर्षको ९ महिनामा ८८.३६ प्रतिशत रहेको छ ।

कर्जा भुक्तानी र घट्दो ब्याजदरका कारण ब्याज भुक्तानी क्षमता (इन्टरेस्ट कभरेज रेसियो) १.०१ गुणाबाट सुध्रिएर ३.७९ गुणा पुगेको छ । अर्थात् कम्पनीको सञ्चालन नाफा वार्षिक ब्याजको ३.७९ गुणा बढी छ ।

गत आर्थिक वर्षमा २१ करोड ६० लाख नोक्सानी व्यहोरेको कम्पनीले कम्पनीको सञ्चालन आम्दानी बढ्दा यस वर्षको ९ महिनामा १५ करोड २० लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ ।

आयोजनाले व्यावसायिक उत्पादन सुरु गरेपनि चिलिमे सबस्टेशनमा रहेको प्रसारण लाइनको अवरोधका कारण नेपाल विद्युत प्राधिकरणले यसलाई कन्टिन्जेन्सी (आकस्मिक योजना) अन्तर्गत राखेको थियो । कन्टिन्जेन्सीमा पर्नु भनेको कम्पनीले जति विद्युत उत्पादन गरेपनि प्राधिकरणले किन्दैन भन्नु हो । कन्टिन्जेन्सीका पर्नुका विभिन्न कारण हुन्छन्, जसमध्ये मुख्य कारण प्रशारणलाइन नबन्नु हो ।

यसका बाबजुद सन् २०२५ को ५ महिना र २०२६ को ९ महिनामा कम्पनीको सञ्चालन तथा वित्तीय कार्यसम्पादन मध्यम रूपमा बलियो देखिएको छ ।

हालै सम्पन्न भएको मस्र्याङ्दी–भरतपुर प्रसारण लाइनका कारण विद्युत् प्रवाहमा आउने अवरोधको जोखिम न्यूनीकरण हुने र जुलाई २०२६ देखि आयोजना नेविप्राको कन्टिन्जेन्सी योजनाबाट हट्ने अपेक्षा गरिएको छ, जसले आयोजनालाई उच्च क्षमतामा सञ्चालन हुन मद्दत गरी कम्पनीको आम्दानी र नगद प्रवाहमा उल्लेख्य वृद्धि गर्ने अपेक्षा गरिएको छ ।

कम्पनीको मुख्य सबल पक्षका रूपमा यसको अनुभवी व्यवस्थापन टोली र बलियो संस्थागत प्रवर्द्धन रहेका छन् । यस आयोजनाको मुख्य प्रवद्र्धक चीनको बहुराष्ट्रिय कम्पनी ‘चाईना हार्बर इन्जिनियरिङ कम्पनी लिमिटेड’ (सीएचईसी) हो । सीएचईसीको सहायक कम्पनी हङकङको ‘वाइड रिसोर्सेज लिमिटेड’ सालासुंगीमा ८५ प्रतिशत सेयर लगानी छ ।

नेपाल विद्युत प्राधिकरणसँग आगामी दीर्घकालीन अवधिका लागि सुक्खायाममा प्रति युनिट ८.४० रुपैयाँ र वर्षायाममा ४.८० रुपैयाँ (वार्षिक ३% का दरले ८ पटक वृद्धि हुने गरी) मा विद्युत खरिद सम्झौता (पीपीए) भइसकेको छ । साथै नेपाल सरकारले जलविद्युत् क्षेत्रलाई प्राथमिकता दिँदै ल्याएका आकर्षक कर छुट नीति र नेपाल राष्ट्र बैंकको अनिवार्य ऊर्जा क्षेत्र कर्जा नीतिका कारण पनि यस क्षेत्रको दीर्घकालीन माग सुरक्षित देखिन्छ ।

तथापि, आयोजनामा केही अन्तर्निहित जोखिमहरू अझै कायम छन् । यो परियोजना नदी प्रवाहमा आधारित (आरओआर) प्रकृतिको भएकाले जलविज्ञानको जोखिमसँग प्रत्यक्ष जोडिएको छ । यता अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ अवमूल्यन हुँदा आयोजनाको लागत १५ अर्ब ३८ करोड ७० लाखबाट बढेर १७ अर्ब २८ करोड ७० लाख रुपैयाँ पुगेको थियो । लागत वृद्धिको यो खाडल पुर्नका लागि सञ्चालकहरूबाट ३ अर्ब १३ करोड ८० लाख रुपैयाँ बराबरको ऋण लिने तय भएकोमा जुन २०२६ को मध्यसम्ममा करिब ७० प्रतिशत मात्र प्राप्त भएकाले आंशिक वित्तीय जोखिम देखिन्छ । यसका साथै अप्रिल २०२६ को मध्यसम्ममा कम्पनीको कुल पुँजी संरचनामा ऋणको अनुपात (गिएरिङ रेसियो) २.६० गुणा रहेकाले यसलाई केही जोखिमयुक्त मानिएको छ । अर्थात् कम्पनीको कुल कर्जा पुँजीको २.६ गुणा रहेको छ ।

यो परियोजनाको मुख्य प्रवर्द्धक रहेको सीएचईसी विश्वव्यापी सञ्जाल भएको एक स्थापित कम्पनी हो । हाल विश्वका १ सय भन्दा बढी देश र क्षेत्रहरूमा यसका ९० भन्दा बढी शाखाहरू तथा प्रतिनिधि कार्यालयहरू सञ्चालनमा रहेका छन्, जसले सयौं ठूला अन्तर्राष्ट्रिय आयोजनाहरू सफलतापूर्वक सम्पन्न गरिसकेका छन् ।

सालासंगीमा ५ सदस्यीय सबल सञ्चालक समिति रहेको छ । समितिको अध्यक्षमा सु यानसोङ रहेका छन् । जलविद्युत् क्षेत्रमा लामो अनुभव सँगालेका यानसोङले यसअघि विभिन्न व्यवस्थापकीय तहमा रहेर महत्त्वपूर्ण जिम्मेवारीहरु सम्हालेका छन् ।

त्यस्तै, कम्पनीको प्रबन्ध निर्देशक विष्णुराज अधिकारी हुन् । अधिकारीसँग ऊर्जा (विद्युत), शिक्षा, पर्यटन (ट्राभल) तथा वित्तीय सेवा जस्ता विभिन्न क्षेत्रहरूमा दुई दशकभन्दा बढी समय काम गरेको व्यावसायिक र नेतृत्वदायी अनुभव छ । अनुभवी र दक्ष टोलीको नेतृत्वमा रहेको यस सञ्चालक समितिलाई कम्पनीका अन्य प्राविधिक तथा प्रशासनिक विज्ञहरूले समेत पूर्ण रूपमा सहयोग गरिरहेका छन् ।

कम्पनीले हालै ९ अर्ब ९ करोड ४५ लाख १० हजार रुपैयाँ बराबरको दीर्घकालीन बैंक सुविधाका लागि क्रेडिट रेटिङ गराएको छ । रेटिङ एजेन्सी इन्फोमेरिक्सले सालासुंगी पावरको कर्जाका लागि यसअघि डबल बी रेटिङ दिएकामा हाल स्तरोन्नती गर्दै डबल बीप्लस कायम गरेको छ ।

सन् २५ फेब्रुअरी ११ मा तोकिएको व्यावसायिक उत्पादन मिति (आरसीओडी) भित्रै कम्पनीले सफल व्यावसायिक उत्पादन सुरु गरेकाले यो रेटिङमा सुधार आएको हो । रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिकामा अवस्थित साञ्जेन खोला जलविद्युत् आयोजनाले आगामी दिनमा प्लान्ट लोड फ्याक्टर (पीएलएफ) मा सुधार गर्ने, नेविप्राको कन्टिन्जेन्सी योजनाबाट पूर्ण रूपमा बाहिर निस्कने र ऋणको भार कम गर्दै वित्तीय सूचक मजबुत बनाउने कम्पनीको क्षमता नै रेटिङको मुख्य संवेदनशीलता रहने इन्फोमेरिक्स नेपालले जनाएको छ ।