
काठमाडौं । डिजिटल नेटवर्क सोलुसनको व्यापार ७१ प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा ७१ प्रतिशतले बढेको हो ।
कम्पनीले सन् २०२४ मा ५४ करोड ६० लाख रुपैयाँको मात्रै व्यापार गरेको थियो । गत आवमा बढेर ९३ करोड ८० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा ४३ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीअनुसार कारोबार बढ्नुको मुख्य कारण केही ठूला मूल्यका ठेक्का कार्यान्वयन भएको जनाएको छ । कम्पनीले सा् २०२१ देखि सन् २०२४ सम्ममा सञ्चालन मार्जिन ७ प्रतिशत देखि ९ प्रतिशत गर्दै आएको थियो । गत आवमा वस्तु तथा सेवाको मूल्यमा केही कमी आएपनि कम्पनीको सञ्चालन मार्जिन सधार भई १०.७३ प्रतिशत पुगेको छ ।
कम्पनीले गत आवमा कम्पनीले ५.१० प्रतिशत खुद नाफा कमाएको छ । सन् २०२४ मा ३.४६ प्रतिशत खुद नाफा कमाएको थियो ।
कम्पनीको कुल नगद सञ्चिति ६ करोड ८० लाख रुपैयाँ पुगेको छ । सन् २०२४ मा ३ करोड १० लाख रुपैयाँ थियो । त्यस्तै, कम्पनीले चालस आवको ११ महिनासम्ममा कम्पनीले ८६ करोड रुपैयाँको कारोबार गरिसकेको छ ।
कम्पनीको पुँजी संरचना मध्यम स्तरमा रहेको छ । कम्पनीको समग्र गियरिङ १.२७ गुणा रहेको छ । सन् २०२४ मा १.६६ गुणा रहेको छ । गत आवमा ट्यान्जिबल नेटवर्थ र नाफाको मौज्दातका कारण गियरिङमा सुधार आएको हो ।
कम्पनीको ब्याज कभरेज अनुपातमा सुधार भई ४.६९ गुणा रहेको छ । सन् २०२४ मा २.६६ गुणा थियो । कम्पनीले सन् २०२७ मा २० करोड रुपैयाँ बराबरको सर्भर जडान गर्ने योजना बनाएको छ । कम्पनीले उक्त सर्भरको ऋण–इक्विटी अनुपात ८०ः२० राखेको छ । कम्पनीको कुल ऋण/सञ्चालन नाफा १.४१ गुणा रहेको छ ।
साथै, कुल बाह्य दायित्व/ट्यान्जिबल नेटवर्थ २.४३ गुणा रहेको छ । कम्पनीको कुल ऋण/कुल नगद सञ्चितिमा सुधार भई २.०९ गुणा पुगेको छ । सन् २०२४ मा ३.७० गुणा थियो ।
सन् २००६ मा स्थापना भएको कम्पनीले सर्भर, फायरवाल र अन्य आइटी कम्पोनेन्ट, क्लावड बेस्ड सोलुसन र प्रोफेशनल सर्भिसको सेवा दिँदै आएको छ । कम्पनीले आन्तरिक बजारसँगै अन्तर्राष्ट्रिय बजार भारत र बंगलादेशमा पनि सेवा दिँदै आएको छ । कम्पनी अन्तर्राष्ट्रिय प्रविधि ब्रान्डसँग सम्बन्धित रहेको छ ।
शित्तल भट्टराई अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ६२ करोड ६९ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १५ करोड ६९ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ४७ करोड रुपैयाँको रेटिङ गराएको हो ।






प्रतिक्रिया