आत्मदाहको प्रयास गरेका गणेशको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने, थप उपचारका लागि भारत लगिँदै

0
Shares

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनामा परी गम्भीर रूपमा जलन भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । हाल वीर अस्पतालमा उपचाररत नेपालीको थप तथा विशिष्टीकृत उपचारका लागि तत्कालै भारतको नयाँ दिल्लीस्थित ‘अखिल भारतीय आयुर्विज्ञान संस्थान’ लैजाने तयारी गरिएको छ ।

​बिरामीको स्वास्थ्य अवस्था बुझ्न र उपचार प्रक्रियालाई तीव्र बनाउन गृहमन्त्री सुदन गुरुङ र प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू वीर अस्पताल पुगेका छन् । उनीहरूले वीर अस्पतालका चिकित्सक टोलीसँग घाइतेको पछिल्लो स्वास्थ्य स्थिति र उपचारको प्रगतिका बारेमा प्रत्यक्ष जानकारी लिएका छन् ।

चिकित्सकहरूसँगको परामर्श र अवस्थाको गम्भीरतालाई ध्यानमा राख्दै उनीहरूले बिरामीलाई तत्काल भारत लैजान आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी चुस्त बनाउन निर्देशन दिए ।

​प्रधानमन्त्री वालेन्द्र शाहको विशेष पहलमा नेपालीलाई थप उपचारका लागि भारत लैजाने यो सम्पूर्ण प्रक्रिया अघि बढाइएको हो । यसका लागि आवश्यक सबै व्यवस्थापकीय र प्राविधिक पक्षको अन्तिम तयारी तथा सम्पूर्ण समन्वय प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयले नै गरिरहेका छन् ।

​यस सम्बन्धमा प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले यो नयाँ कदम नभएर कानुन कार्यान्वयन गरिएको बताइन् र यसले निरन्तरता पाउनुपर्छ भन्ने सरकारको स्पष्ट मान्यता राखिन् ।

​स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार घाइतेको उपचारका लागि आवश्यक सम्पूर्ण व्यवस्था मिलाइसकिएको र खर्चका कारण उपचारमा कुनै समस्या हुन नदिइने स्पष्ट पारिएको छ । घटनाको कारणबारे सम्बन्धित निकायबाट अनुसन्धान भइरहेको छ भने प्रभावित नागरिकको स्वास्थ्य, सुरक्षा र उद्धारका कार्यहरूलाई प्रभावकारी बनाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको छ ।

हाल उनको स्वास्थ्य अवस्थाको सम्बन्धित निकायमार्फत निरन्तर अनुगमन भइरहेको छ भने उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित अस्पताललाई आवश्यक निर्देशन दिइएको छ ।

प्रारम्भिक जानकारीअनुसार त्रिपुरेश्वरस्थित राहदानी विभागको गेट नम्बर ३ अगाडि मुगु जिल्ला सोरु गाउँपालिका–१ घर भई हाल भक्तपुर बसोबास गर्दै आएका २५ वर्षीय गणेश नेपालीले शरिरमा पेट्रोल खन्याई आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए । लगत्तै उनलाई उद्धार गरी वीर अस्पताल पुर्‍याइएको थियो । प्रारम्भिक चिकित्सकीय मूल्याङ्कनअनुसार उनको शरीरको करिब ६५ प्रतिशत भाग जलेको छ । हाल उनी बोल्न सक्ने अवस्थामा रहेको अस्पताल स्रोतले जनाएको छ ।

घटनाको कारणबारे सम्बन्धित निकायबाट अनुसन्धान भइरहेको मन्त्रालयले जनाएको छ । प्रारम्भिक विवरणअनुसार सडक किनारामा पार्किङ गरिएको मोटरसाइकलमा ट्राफिक प्रहरीले ह्विल लक लगाएपछि सामान्य विवाद भएको र त्यसपछि उक्त घटना भएको बुझिएको भए पनि यसको यथार्थ कारण अनुसन्धानबाट खुल्ने स्रोत बताउँछ ।