
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले मन्त्रालयमा उपस्थित हुन नसक्दा नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्षको सपथ तथा पदभार ग्रहणमा ढिलाइ भएको छ । गत शुक्रबार बसेको सरकारको मन्त्रिपरिषद बैठकले बोर्डको अध्यक्षमा डा. गोपाल भट्टलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापति समेत रहेका अर्थमन्त्री वाग्ले आइतबार (असार ७ गते)बाट सुरु भएको आफ्नो पार्टीको महाधिवेशनका क्रममा हालसम्म चितवनमा नै छन् । वाग्ले पार्टीको महाधिवेशनमा व्यस्त हुँदा यता धितोपत्र बोर्डको अध्यक्षको पदभार ग्रहणमा ढिलाई भएको हो ।
‘यसअघिको अभ्यासअनुसार धितोपत्र बोर्डको अध्यक्ष नियुक्तीपछि पदभार ग्रहण गर्दा अर्थमन्त्री उपस्थिति रहने प्रचलन छ,’ बोर्डका एक अधिकारीले भने, ‘पदभार ग्रहण गर्दा तथा कार्यभार सम्हाल्दा हामीलाई पनि जानकारी आउनुपर्ने हो । तर, हालसम्म केही जानकारी आएको छैन । सायद, अब अर्थमन्त्री काठमाडौंमा फर्किएपछि मात्रै सो प्रक्रिया अगाडि बढ्ला भन्ने छ।’
उनले अर्थमन्त्रालयबाट पनि सोही किसिमको जानकारी आएको बताए । यसरी वैशाख १५ गते दरखास्त आह्वान भएको बोर्डको अध्यक्ष नियुक्ति गत शुक्रबार भएपनि कार्यभार सम्हाल्ने काम भने थप लम्बिन पुगेको हो ।
आइतबारबाट सुरु भएको रास्वपा महाधिवेशनमा हालैमात्र निर्वाचन सकिएर मत गणनाको थालनी भएको छ । तर, प्रधानमन्त्री समेत रहेका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह भने मतदान नै नगरी बुधबार नै काठमाडौं फर्किसकेका छन् ।
अर्थमन्त्री वाग्ले भने हालसम्म पनि चितवनमा नै रहेकाले अब आउँदो साता मात्रै बोर्डका अध्यक्षको पदबहाली हुने देखिएको छ । २०८१ मंसिर १० गते धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त भएका सन्तोषनारायण श्रेष्ठले गत वैशाख ४ गते राजीनामा दिएदेखि हालसम्म बोर्ड नेतृत्व बिहीन अवस्थामा रहेको छ ।
अध्यक्ष सिफारिस समितिले बैशाख १५ गते सार्वजनिक सूचना निष्काशन गर्दै योग्यता पुगेकाहरूको बायोडाटा माग गरेको थियो । जसमा ४७ जनाले बायोडाटा बुझाएका थिए ।
बायोडाटा बुझाएका ४७ मध्येबाट सिफारिस समितिले ४ जनाको नाम सर्टलिस्ट गरेको थियो । सर्टलिस्टमा पर्नेमा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशकद्वय डा. गोपाल भट्ट र मुकुन्द क्षेत्री तथा नेपाल धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक नवराज अधिकारी र बोर्डकै वर्तमान कार्यकारी निर्देशक विनयदेव आचार्य थिए ।
सर्टलिस्टमा पर्नेहरूलाई सिफारिस समितिले छलफलमा बोलाएर सोही दिन ३ जनाको नाम सिफारिस गरेको थियो । जसलाई लामो समय होल्ड गरेर सरकारले भट्टलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।








प्रतिक्रिया