
विराटनगर । शारडा समूहको पायोनियर मोटो कर्पले विराटनगरबाट ओमोडा ई फाइभ प्रो मोडलका गाडीको मङ्गलबारदेखि बिक्री सुरु गरेको छ ।
पायोनियरले ओमोडा ई फाइभ प्रो मोडलका सिङ्गल टोन र डुअल टोन दुई भेरियन्टका गाडीको यहाँस्थित आफ्नो शोरुमबाट आधिकारिक बिक्री सुरु गरेको हो ।
शारडा समूहकै एसपीजी अटोमोबाइलले आयात गरेको उक्त गाडी पायोनियर मोटो कर्पबाट बिक्री सुरु गरिएको हो । सिङ्गल टोनको मूल्य ५१ लाख ५९ हजार र डबल टोनको ५१ लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीले उल्लेख गरेको छ ।
गाडीको नेपाल उद्योग परिसङ्घ कोशीका अध्यक्ष पवनकुमार शारडासहित एसपीजीका सन्दीप शारडा, प्रदीप शारडा, गौरव शारडा, अमित शारडा र राजेश शर्माले संयुक्त रूपमा ओमोडा ई फाइभ प्रो गाडी सार्वजनिक गरेका थिए ।
विराटनगरमा गाडी सार्वजनिक गर्दै सिङ्गल भेरियन्टको मूल्य पहिलो ५० ग्राहकका लागि ४९ लाख ९९ हजार राखिएको र एक वर्षको अटो प्लस इन्स्युरेन्स पनि उपलब्ध हुने घोषणा गरिएको थियो ।
एसपीजीका उपाध्यक्ष राजेश शर्माले नेपालमा लन्च भएदेखि नै यो सवारी साधनले आफ्नो फ्युचरिस्टिक डिजाइन, उत्कृष्ट रेन्ज, उच्च ग्राउन्ड क्लियरेन्स र आधुनिक प्रविधिका कारणले लोकप्रिय स्पोर्ट युटिलिटी भेहिकल (एसयुभी) बन्न सफल भएको दाबी गरे । यी सवारी साधनले आफ्नो नयाँ डिजाइन र स्मार्ट फिचरबाट आधुनिक नेपाली ग्राहकलाई प्रिमियम अनुभव प्रदान गर्ने उनको दाबी थियो ।
गाडीमा ५० दशमलव ७ किलोवाट आवर ब्याट्री प्याक, ९९ किलोवाट इलेक्ट्रिक मोटर र २८८ न्युटन मिटर टर्क (गुड्ने क्षमता) रहेको कम्पनीले जनाएको छ ।
एसपीजीले यसबाट गाडीले एक पटक फुल चार्ज गर्दा ३५० किलोमिटर दूरी तय गर्न सक्ने दाबी कम्पनीले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै १९१ एमएम ग्राउन्ड क्लियरेन्सका कारण यो गाडी नेपालका विभिन्न सडक अवस्थाका लागि उपयुक्त भएको विज्ञप्तिमा उल्लेख छ ।
यसमा १८ इन्चका अलोय चक्का समावेश छन् । यसले गर्दा सतहसितको सन्तुलन र प्रिमियम उपस्थिति अझ आरामदायी हुने बताइएको छ ।
कम्पनीले गाडीलाई सडकमा शक्तिशाली उपस्थिति गराउन यसको बाहिरी डिजाइन ओमोडाको फ्युचरिस्टिक डिजाइन फिलोसफीका आधारमा तयार गरिएको जनाएको छ ।
यसमा बोल्ड फ्रन्ट फेसिया, एरोडायनामिक प्रोफाइल र विशेष फ्यान्टम विङ टेललाइटहरू समावेश छन्, जसले सडकमा शक्तिशाली उपस्थिति सिर्जना गर्ने र भित्री भागमा प्रिमियम केबिन अनुभव प्रदान गर्ने इलेक्ट्रिक सनरुफ र उच्च गुणस्तरका इन्टेरियर सामग्री रहेको कम्पनीका सञ्चालक प्रदीप शारडाको भनाइ थियो ।





प्रतिक्रिया