अर्थमन्त्रीले बजेट भाषण गरेको विशेष भत्ता पाउँछन् कि पाउँदैनन् ?

6.2k
Shares

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज ४ बजे संसदमा आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दैछन् ।

नेपालको संविधानले बजेट सार्वजनिक गर्ने दिन नै जेठ १५ का लागि तोकेको छ । बालेन शाह सरकारका अर्थमन्त्री वाग्लेले पहिलो पटक बजेट ल्याउन लागेका हुन् ।

बालेनको सरकारप्रति जनताको सर्वाधिक चासो छ । सरकारले ‘प्याराडाइम सिफ्ट’ गरी नेपाली अर्थतन्त्रलाई गति दिने अपेक्षा गरिएको छ ।

धेरैको बुझाइ अर्थमन्त्री बजेट भाषण गरेको छुट्टै पैसा पाउँछन् भन्ने रहेको छ । तर,यो बुझाइ सही होइन ।

अर्थमन्त्रीले बजेट भाषण गर्दा कत्ति पनि पैसा पाउदैनन् । नेपाल सरकारको मन्त्रीको हैसियतले पाउने तलब भत्ता बाहेक बजेट भाषण गर्दा केही पनि पाइँदैन ।

यद्यपि यो हल्ला अहिलेसम्म रोकिएको छैन ।

पूर्वअर्थमन्त्री डा प्रकाशशरण महत भन्छन्, ‘अर्थमन्त्रीले बजेट भाषण गरेको छुट्टै पैसा आउँदैन । मैले पनि बजेट पेश गरेको छु, आउने भएको भए त पाउँथे होला नि, मलाई बजेट भाषण गरेको पैसा आउँछ भन्ने जानकारी पनि छैन । आउने भएको भए त अर्थ मन्त्रालयका कर्मचारीहरूले भन्थे होला नि, खोइ मलाई त कसैले भनेनन् ।’

पूर्वअर्थमन्त्री शंकर कोइरालाले अर्थमन्त्रीले बजेट भाषण गरेको पैसा पाउँछन् भन्ने हल्ला आफूले पनि सुनेको तर आफूले बजेट भाषण गर्दा पैसा नपाएपछि वास्तविकता थाहा पाएको बताउँछन् ।

‘नेपालमा बजेट भाषण गर्ने अर्थमन्त्रीले पैसा पाउने हल्ला छ, यो हल्ला मैले पनि सुनेको थिएँ । तर, अहिलेसम्म नेपालका कुनैपनि अर्थमन्त्रीले बजेट भाषण गरेको पैसा पाएको मेरो जानकारीमा छैन,’ कोइरालाले भने, ‘म आफैंले पनि बजेट भाषण गरेँ, पाउने भएको भए त मलाई पनि आइहाल्थ्यो नि ।’

अहिलेसम्म धेरै पटक बजेट प्रस्तुत गरेका पूर्वअर्थमन्त्री डा रामशरण महतले विगतमा क्लिकमाण्डुसँग भनेका थिए,‘मैले पटकपटक भन्दै आएको छु कि, बजेट भाषण गरेको पैसा अर्थमन्त्रीले पाउँदैनन् । बजेट भाषण गर्नु अर्थमन्त्रीको कर्तव्य हो । मन्त्री भएबापत तलब र भत्ता मात्रै हुन्छ ।’

दुईपटक बजेट ल्याएका पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे भन्छन्,‘अर्थमन्त्रीले बजेट भाषण गरेर पैसा पाउने हल्ला निराधार हो, यो निराधार हल्ला हो । यस्तो हल्लाका पछि नलाग्नुस् ।’