हरिभक्त शर्माको देउराली जनताले चितवनमा ५ अर्ब खर्चेर नयाँ औषधि उद्योग बनाउने

280
Shares

काठमाडौं । नेपाल उद्योग परिसंघका पुर्वअध्यक्ष हरिभक्त शर्माको कम्पनी देउराली जनता फर्मास्युटिकल्सले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा साढे १ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले चालु आवको ९ महिनाको अवधिमा १ अर्ब ४५ करोड १० लाख रुपैयाँको कारोबार गरेको हो ।

कम्पनीले गत आवमा २ अर्ब ३५ करोड रुपैयाँ, सन् २०२४ मा २ अर्ब २ करोड ३० लाख रुपैयाँ, सन् २०२३ मा १ अर्ब ८६ करोड ४० लाख रुपैयाँ, सन् २०२२ मा १ अर्ब ७० करोड ५० लाख रुपैयाँ र सन् २०२१ मा १ अर्ब ४६ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो।

गत आवमा कम्पनीको कारोबार १६ प्रतिशतले बढेको छ भने १९ प्रतिशत सञ्चालन नाफा गरेको छ । तर, चालु आवको ९ महिनाको अवधिमा गत आवको सोही अवधिको तुलनामा ३ प्रतिशतले कारोबारमा कमी आएको उल्लेख छ ।

सन् १९९१ मा स्थापना भएको कम्पनी नेपालको सबैभन्दा पुरानो र स्थापित औषधि उद्योग हो । कम्पनीले विभिन्न प्रकारका औषधि उत्पादन गर्दै आएको छ । कम्पनीले कार्डियोभास्कुलर, डाइबेटिज, गाइनोकोलोजी एन्ड चाइल्ड केयर, ग्यास्ट्रोलोजिक र हेपाटोलोजी, डर्माटोलोजी एलमेन्ट र अन्य औषधिजन्य वस्तु उत्पादन गर्दै आएको छ । कम्पनीले २५० वटाभन्दा बढी प्रकारका औषधि उत्पादन गर्दै आएको छ ।

कम्पनीले आफ्नो उत्पादन क्षमतालाई बढाउने भएको छ । कम्पनीले ५ अर्ब रुपैयाँ लगानी थप गरी चितवनको मंगलपुरमा नयाँ औषधि उद्योग स्थापना गर्ने भएको हो ।

कम्पनीले उद्योग निर्माणका लागि ७०:३० ऋण र इक्विटी (स्वपुँजी) अनुपात राखेको छ । कम्पनी हालसम्म ऋण व्यवस्थापनको अन्तिम चरणमा रहेको छ भने इक्विटीको प्रतिबद्धता गरिएको रकम भने लगानी गरेको छैन । कम्पनीले इक्विटीको रकम निर्माणको विभिन्न चरणमा लगानी गर्ने जनाएको छ ।

कम्पनीले हालसम्म आन्तरिक स्रोत तथा सीमित मात्रामा बाह्य ऋण प्रयोग गरेर पुँजीगत खर्च गर्दै आएको छ । कम्पनीले आगामी दुई वर्षमा नयाँ औषधि उत्पादन उद्योग स्थापनाका लागि ऋणमा आधारित लगानी गर्ने योजना बनाएको हो । कम्पनीको हालको सम्पत्तिको तुलनामा प्रस्तावित लगानी निकै ठूलो आकारको रहेको उल्लेख छ । कम्पनीको हालको स्थिर सम्पत्ति २ अर्ब २३ करोड ३० लाख रुपैयाँ रहेको छ ।

कम्पनीको पछिल्ला वर्षहरूमा चालू पुँजी क्रमशः बढ्दै गएको देखिन्छ । कम्पनीका अनुसार बजारबाट उठाउन बाँकी रकम ढिलो संकलन हुनु मुख्य कारण रहेको उल्लेख छ । सन् २०२५ मा कार्यशील पुँजी ४३ प्रतिशत रहेकोमा चालु आवको ९ महिनाको अवधिमा बढेर ६४ प्रतिशत पुगेको जनाएको छ ।

हरिभक्त शर्माको ७१ प्रतिशत स्वामित्व रहेको कम्पनीमा अन्य स्वामित्व उनकै परिवारका छन् । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ५ अर्ब २९ करोड ३० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ३ अर्ब ४५ करोड र अल्पकालीन कर्जाका लागि १ अर्ब ८४ करोड ३० लाख रुपैयाँको रेटिङ गराएको हो । कम्पनीले नयाँ परियोजनाका लागि नै ३ अर्ब ४५ करोड रुपैयाँ नयाँ दीर्घकालीन ऋण लिने योजना बनाएको हो ।

ठुलो परियोजनाका लागि लिइने ऋण कै कारण कम्पनीको वित्तीय जोखिम बढ्ने देखिएकाले इक्रा नेपालले कम्पनीको रेटिङ ‘एलए माइनस’ बाट घटाएर ‘एल ट्रिपल बी प्लस’ मा झारेको छ ।