
काठमाडौं । पछिल्लो केही वर्ष यता निरन्तर घटिरहेको निर्जीवन बिमा कम्पनी (बिमक)को नाफा थप संकुचनमा धकेलिन पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत आर्थिक वर्ष २०८१/८२ मा निर्जीवन बिमकको नाफामा २९ प्रतिशतको गिरावट आएको थियो ।
आर्थिक वर्ष २०८०/८१ को एक वर्षमा ५ अर्ब ८५ करोड २९ लाख रुपैयाँ रहेको निर्जीवन बिमकको नाफा गत आर्थिक वर्ष २०८१/८२ मा आईपुग्दा ४ अर्ब १६ करोड ३ लाख रुपैयाँमा खुम्चिन पुगेको थियो । तर, हालै निर्जीवन बिमकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरणले पनि कम्पनीहरुको नाफा थप संकुचनमा धकेलिएको देखाएको हो ।
खासगरी, आम्दानी र खर्चको मात्रा झन्डै बराबरको स्थितिमा पुगेपछि निर्जीवन बिमा कम्पनीहरुको नाफामा ४७ प्रतिशतको गिरावट आएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार १४ निर्जीवन बिमा कम्पनीहरूको कुल आम्दानी १९ अर्ब ५ करोड ८५ लाख रुपैयाँ रहेको देखिन्छ । सोही अवधिमा कम्पनीहरूको कुल खर्च पनि आम्दानीकै हाराहारी अर्थात् १७ अर्ब ३६ करोड ३४ लाख रुपैयाँ भएको छ ।
गत वर्षको तुलनामा आम्दानीमा जम्मा २.९१ प्रतिशतको झिनो सुधार गरेका निर्जीवन बिमा कम्पनीको खर्च भने १७ प्रतिशतले बढेको छ । जसको असर कम्पनीको कुल नाफामा देखिन पुगेको हो । बिमा कम्पनीले चालु आवको नौ महिनामा १ अर्ब २७ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । जबकि, गत आर्थिक वर्षको सोही अवधिमा भने यी कम्पनीले २ अर्ब ४१ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।
नाफामा ४७ प्रतिशतको गिरावट देखिएकोमा बिमा कम्पनीको खुद बिमाशुल्क संकलन भने ११ प्रतिशतले बढेको छ । गत आवको नौ महिनामा ११ अर्ब ५९ करोड ६ लाख रुपैयाँ बराबरको खुद बिमाशुल्क संकलन गरेका बिमकले चालु आवको नौ महिनामा भने १२ अर्ब ८६ करोड ८९ लाख रुपैयाँ बराबरको खुद बिमाशुल्क संकलन गरेको देखिन्छ ।
गत आवको तुलनामा निर्जीवन बिमा कम्पनीको कुल खर्चमा भने १७ प्रतिशतको वृद्धि देखिएको छ । गत आवको नौ महिनामा १४ अबै ७३ करोड ६७ लाख रुपैयाँ कुल खर्च गरेका निर्जीवन बिमा कम्पनीले चालु आवको सोही अवधिमा भने १७ अर्ब ३६ करोड ३४ लाख रुपैयाँ बराबरको कुल खर्च गरेका छन् ।
यता, समिक्षा अवधिसम्म निर्जीवन बिमा कम्पनीको कुल आम्दानीमा भने करिब ३ प्रतिशतको मात्रै वृद्धि देखिएको छ । गत आवको नौ महिनामा १८ अर्ब ५१ करोड ९१ लाख रुपैयाँ कुल आम्दानी गरेका निर्जीवन बिमकले चालु आवको सोही अवधिमा भने १९ अर्ब ५ करोड ८५ लाख रुपैयाँ बराबरको कुल आम्दानी गरेका थिए ।
गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शन र वर्षेनी भइरहने बाढी पहिरोका कारण निर्जीवन बिमा कम्पनीको नाफा निरन्तर घट्दोक्रममा देखिएको हो । नेपाल बिमा प्राधिकरणको २०८२ फागुन १९ गतेसम्मको तथ्यांकअनुसार निर्जीवन बिमा कम्पनीले जेनजी प्रदर्शनबाट भएको क्षतिको ७ अर्ब १ करोड ५५ लाख रुपैयाँ बिमा दाबी भुक्तानी (अग्रिम भुक्तानी समेत) गरेका छन् । कुल २३ अर्ब ३८ करोड ११ लाख रुपैयाँ बराबरको दाबी परेकामा हालसम्म सो बराबरको मात्रै भुक्तानी भएको हो ।
यस्तै, २०८२ असोज १८ गते अविरल वर्षा तथा बाढी पहिरोका कारण भएको क्षतिबापत् बिमा कम्पनीले १९ करोड ६३ लाख रुपैयाँ भुक्तानी गरेका छन् । कुल ४ अर्ब १९ करोड २५ लाख रुपैयाँ बराबरको बिमा दाबी परेका बिमा कम्पनीले अझै ठूलो रकम भुक्तानी गर्न बाँकी नै रहेको देखिन्छ । यसरी, बाढी पहिरो र जेनजी प्रदर्शनबाट भएको क्षतिका कारण त्यसको असर बिमा कम्पनीको वित्तीय विवरणमा पर्न गएको देखिन्छ ।
कसको नाफा कति?
चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार निर्जीवन बिमा कम्पनीहरूको नाफामा ४७ प्रतिशतको गिरावट आएको छ । गत आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म २ अर्ब ४१ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएकामा निर्जीवन बिमा कम्पनीले चालु आवको सोही अवधिमा भने १ अर्ब २७ करोड ७३ लाख रुपैयाँ नाफा कमाएका छन् ।
वित्तीय विवरणअनुसार सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा ९१.१५ प्रतिशतले, आईजीआई प्रुडेन्सियलको ९९.८३ प्रतिशत, शिखर इन्स्योरेन्सको ८०.२३ प्रतिशत र सानिमा जीआईसीको ७८.०१ प्रतिशतले घटेको छ । यस्तै, नेको, हिमालयन एभरेष्ट, राष्ट्रिय बिमा कम्पनी र सगरमाथा लुम्बिनी कम्पनीहरूको नाफामा उल्लेख्य गिरावट आएको छ ।
गत वर्षको चैत मसान्तसम्म नाफामा रहेको युनाइटेड अजोड इन्स्योरेन्स चालु आवको सोही अवधिसम्म आईपुग्दा ६ करोड ९७ लाख रुपैयाँ ऋणात्मकमा धकेलिएको छ । नेसनल इन्स्योरेन्सको नाफा अझै पनि १७ करोड ६४ लाख रुपैयाँले ऋणात्मक छ तथापि, गत वर्षको तुलनामा भने केही मात्रामा सुधार भएको छ ।

अधिकांश कम्पनीको नाफामा भारी गिरावट आउँदा पनि प्रभु इन्स्योरेन्सको नाफा भने ५.६३ प्रतिशतले बढेको छ । चालु आवको चैतसम्ममा कम्पनीले २१ करोड १५ लाख रुपैयाँ नाफा कमाएको छ ।
गत वर्षको चैतसम्म १३ करोड ८३ लाख रुपैयाँले ऋणात्मक रहेको दि ओरिएन्टलको नाफा चालु आवको सोही अवधिसम्म आईपुग्दा ३० करोड ६६ लाख रुपैयाँ पुगेको छ ।
खुद बिमाशुल्क संकलनमा सुधार
चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार निर्जीवन बिमा कम्पनीहरूको व्यवसाय (खुद बिमा शुल्क संकलन) मा भने सकारात्मक सुधार भएको देखिन्छ ।
१४ निर्जीवन बिमा कम्पनीले गत आवको चैत मसान्तसम्म ११ अर्ब ५९ करोड ६ लाख रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेकामा चालु आवको सोही अवधिमा १२ अबै ८६ करोड ८९ लाख रुपैयाँ बराबरको बिमाशुल्क आर्जन गरेका छन् । जुन गत आवको तुलनामा ११.०३ प्रतिशतले बढी हो ।
यस अवधिमा व्यवसाय विस्तारका आधारमा युनाइटेड अजोड इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएको छ । यस कम्पनीको खुद बिमाशुल्क ३६.८६ प्रतिशतले बढेर ९८ करोड ६० लाख रुपैयाँ पुगेको छ । यस्तै, नेपाल इन्स्योरेन्सको खुद बिमाशुल्क आर्जन २९.७७ प्रतिशत र द ओरिएन्टल इन्स्योरेन्सको २८.१३ प्रतिशतले बढेको छ ।

शिखर इन्स्योरेन्सको व्यवसाय ८.२० प्रतिशत र आईजीआई प्रुडेन्सियलको १२.१४ प्रतिशतले बढेको छ । यद्यपि, केही कम्पनीहरूको व्यवसायमा भने सामान्य संकुचन देखिएको छ ।
जसअनुसार सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको खुद बिमा शुल्क ५.०९ प्रतिशतले घट्दा नेसनल इन्स्योरेन्सको ७.३९ प्रतिशत र सरकारी स्वामित्वको राष्ट्रिय बिमा कम्पनीको ३.१३ प्रतिशतले घटेको छ ।
रकमका आधारमा हेर्दा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले चैत मसान्तसम्ममा१ अर्ब ४७ करोड ४६ लाख रुपैयाँ बराबरको खुद बिमाशुल्क संकलन गरेको छ भने हिमालयन एभरेष्टले १ अर्ब ४३ करोड ६६ लाख रुपैयाँ बराबरको खुद बिमाशुल्क संकलन गरेको छ ।
कुल आम्दानीमा सामान्य सुधार
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार निर्जीवन बिमा कम्पनीहरुको कुल आम्दानीमा सामान्य सुधार देखिएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार निर्जीवन बिमा कम्पनीहरुको नाफामा २.९१ प्रतिशतको सुधार आएको छ ।
गत आर्थिक वर्षको नौ महिनमा १८ अर्ब ५१ करोड ९१ लाख रुपैयाँ कुल आम्दानी गरेका निर्जीवन बिमा कम्पनीले चालु आवको सोही अवधिमा १९ अर्ब ५ करोड ८५ लाख रुपैयाँ बराबरको कुल आम्दानी गरेका छन् ।

यस अवधिमा सुधारको आधारमा सबैभन्दा राम्रो प्रगति एनएलजी इन्स्योरेन्सले गरेको छ । यस कम्पनीले आफ्नो आम्दानीमा २५.१६ प्रतिशतको सुधार गर्दै १ अर्ब ३० करोड ५४ लाख रुपैयाँ कमाएको छ ।
यस्तै, गत आवको तुलनामा समिक्षा अवधिसम्म हिमालयन एभरेष्टले १४.८६ प्रतिशत, युनाइटेड अजोडले १३.९७ प्रतिशत र द ओरिएन्टल इन्स्योरेन्सले १३.५९ प्रतिशतले आम्दानी बढाएका छन् ।
नेपाल इन्स्योरेन्सको आम्दानीमा पनि ११.४० प्रतिशतको सुधार आएको देखिन्छ । यस अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले कुल २ अर्ब ११ करोड १८ लाख रुपैयाँ आम्दानी गरेको छ ।
हिमालयन एभरेष्टले १ अर्ब ९७ करोड, शिखर इन्स्योरेन्सले १ अर्ब ९४ करोड र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ९२ करोड रुपैयाँ कुल आम्दानी गरेको छ ।
वित्तीय विवरणअनुसार सरकारी स्वामित्वको राष्ट्रिय बिमा कम्पनीको आम्दानी १३.२९ प्रतिशतले गिरावट आएको छ । यस्तै सानिमा जीआईसीको १२.२२ प्रतिशत र सिद्धार्थ प्रिमियरको आम्दानी १०.९१ प्रतिशतले घटेको छ । नेसनल र नेको इन्स्योरेन्सको व्यवसायमा पनि क्रमशः ७.८४ र ३.०८ प्रतिशतको गिरावट आएको छ ।
कुल खर्चमा १७.८२ प्रतिशतको वृद्धि
चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार निर्जीवन बिमा कम्पनीहरूको कुल खर्चमा पनि उल्लेख्य वृद्धि भएको देखिन्छ ।
गत आर्थिक वर्षको नौ महिनामा १४ अर्ब ७३ करोड ६७ लाख रुपैयाँ कुल खर्च गरेका निर्जीवन बिमा कम्पनीले चालु आवको सोही अवधिमा भने १७ अर्ब ३६ करोड ३४ लाख रुपैयाँ गरेका छन् जुन गत आवको तुलनामा १७.८२ प्रतिशतले बढी हो ।

समिक्षा अवधिमा खर्च बढाउने सूचीमा एनएलजी इन्स्योरेन्स र युनाइटेड अजोड इन्स्योरेन्स सबैभन्दा अगाडि ्छन् । गत आवको तुलनामा एनएलजीको खर्च ४४.९० प्रतिशतले बढेर १ अर्ब २५ करोड ५६ लाख रुपैयाँ पपुगेको छ भने युनाइटेड अजोडको खर्च ४४.६२ प्रतिशतले बढेर १ अर्ब ३६ करोड २५ लाख रुपैयाँ पुगेको छ ।
हिमालयन एभरेष्टको खर्च ४०.३६ प्रतिशत, आईजीआई प्रुडेन्सियलको ३६.८६ प्रतिशत र शिखर इन्स्योरेन्सको ३५.१५ प्रतिशतले वृद्धि भएको छ ।
यस अवधिसम्मको सिद्धार्थ प्रिमियरको खर्च १ अर्ब ८६ करोड ५१ लाख र नेको इन्स्योरेन्सको खर्च १ अर्ब ४८ करोड ११ लाख रुपैयाँ छ । सरकारी स्वामित्वको राष्ट्रिय बिमा कम्पनी र सानिमा जीआईसीको खर्चमा क्रमशः २४.०५ र १९.४६ प्रतिशतको वृद्धि देखिएको छ ।
रकमका आधारमा हेर्दा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सबैभन्दा धेरै १ अर्ब ९२ करोड १५ लाख रुपैयाँ खर्च गरेको छ । यद्यपि, केही कम्पनीहरूको कुल खर्च भने घटेको छ । नेसनल इन्स्योरेन्सको खर्चमा ४१.६१ प्रतिशतको संकुचन आउँदा द ओरिएन्टलको २४. ८७ प्रतिशतले घटेको छ ।






प्रतिक्रिया