
नेपालमा बचत तथा ऋण सहकारी अभियान वित्तीय सेवा प्रदायक संस्थाको रुपमा विकास भइ सकेको अभियान हो । सदस्यहरूको नियन्त्रणमा स्वनियमनमा आधारित भई विगत सात दशकमा बचत तथा ऋण सहकारी अभियन सञ्चालन भएका थिए । बचत तथा ऋण सहकारी अभियानमा आबद्धता, कारोवारको आकार तथा व्यवस्थापनको स्तर निरन्तर वृृद्धि भइरहेको पनि छ ।
नियामकीय प्रबन्धहरूमा पनि निरन्तर परिमार्जन पनि भएको छ । सहकारी ऐन २०७४ पनि धेरै छिटो संशोधन भइरहेको छ भने भएको ऐनको व्यवस्था पनि कार्यान्वयन भएको अवस्था छैन । यद्यपि बचत तथा ऋण सहकारी अभियान नेपाल दूरदराजसम्मका समुदायमा पुगेको छ ।
स्वस्फुर्त समुदायको संस्थाको रुपमा संगठित भएको र समुदाय स्तरमा बचत संकलन तथा परिचालनका कार्यहरूमा संलग्न भएको छ । बचत तथा ऋण सहकारी अभियानमा भएको विकासले जिम्मेवार सामुदायिक वित्तीय संस्थाको रुपमा बचत तथा ऋण सहकारी संस्थाहरू स्थापित भएका छन् । समुदायको आर्थिक सहयात्रीको रुपमा बचत तथा ऋण सहकारीहरू सञ्चालनमा रहेका छन् ।
विगत सात दशकमा बचत तथा ऋण सहकारी अभियानले विभिन्न अर्थराजनीतिक प्रणाली व्यहोरेको छ । नियन्त्रित, खुल्ला, मिश्रीत सबै प्रणालीमा सहकारी समुदायको अभियानको रुपमा स्थापित भएको छ । अर्थराजनीति परिवर्तन भएको छ तर समुदायको अभियानको रुपमा सहकारी आफ्नै स्वरुपमा अघि बढेको छ । त्यसैले बचत तथा ऋण सहकारी अभियान आज पनि राजनीति भन्दा माथि रहेर समुदायको सेवा अविच्छिन्न अविरल रुपमा क्रियाशिल रहेको छ ।
बचत तथा ऋण सहकारी अभियानका सिद्धान्त मूल्य तथा मान्यताहरूको अनुसरण गरेका समुदायमा आधारित भएका संस्थाहरूमा न त समुदायको विस्वासको कमी आएको छ न त विकासको मार्ग रोकिएको छ । सरकारको कानूनी वातावरण भित्र रहेर आर्थिक सामाजिक सांस्कृतिक विकासमा एकजुट भएर अघि बढेको छ र बढिरहनेछ ।
अविरल अभियान
सात दशकको यात्रामा ऐन फेरिएको छ, सरकार फेरिएको छ, सरकारको प्राथमिकता फेरिएको छ, समाज फेरिएको छ, प्रविधि फेरिएको छ, जनअपेक्षा फेरिएको छ तर सहकारी अभियानको लक्ष्य फेरिएको छैन, क्रियाशिलता फेरिएको छैन । आज पनि राज्यले लिएको आर्थिक आकार वृद्धिको लक्ष्य होस् वा विकासको स्तर वृद्धिको लक्ष्य होस् दुबैमा योगदान गर्न सक्षम र आवश्यक सहयात्रीको रुपमा बचत तथा ऋण सहकारीहरू समुदायमा क्रियाशिल भएका छन् ।
चक्रीय अर्थव्यवस्थाको आधार स्तम्भको रुपमा बचत तथा ऋण सहकारीहरू क्रियाशिल भएका छन् । कार्यान्वयनमा भएका समस्याहरूको सामूहिक समाधान प्रजातान्त्रिक विधिबाट गरेका छन् । व्यवस्थापन कानूनी आधारमा सम्पादनको अभ्यास गरेर अभियानको अविरलतालाई निरन्तरता दिएका छन् ।
पछिल्लो ऐन संशोधनले बचत तथा ऋण सहकारी अभियानमा छेकवार लाग्ने हो की भन्ने द्विविधा बचत तथा ऋण सहकारी अभियानका हिमायतीहरूमा रहेको पाइएको छ । किनकी राज्यले सहकारी बचत तथा ऋण सहकारी अभियानका आधार स्तम्भहरू कमजोर पार्ने नियतले कानूनी प्रबन्ध गरेको छ ।
नेपालको बचत तथा ऋण सहकारी अभियानको रुपमा संस्था गठन हुनुपूर्व नै जन्मिएर संस्थाहरूको विकाससँगै विकास भएका संघहरूको कारोबारको सन्दर्भमा स्पष्ट खाका बिना रोक्ने नीतिगत व्यवस्थाको चेष्टा गरेको छ । यसले बाघको डमरुलाई घाँस खान भनिएको जस्तो अवस्था बचत तथा ऋण सहकारी अभियानमा भएको छ । सबैलाई थाहा छ, बाघको बच्चा मर्छ तर घाँस खाँदैन । बचत तथा ऋण सहकारी अभियानलाई आज राज्य र निजी क्षेत्रको स्वार्थको कारण कमजोर बनाउन प्रयास भएको छ ।
नेपालमा बचत तथा ऋण सहकारी संस्था नजन्मँदैदेखि क्रियाशिल संघहरूको कारोवारमा प्रतिबन्ध लगाइएको छ । यसले बचत तथा ऋण सहकारी अभियान कमजोर बन्छ भन्ने कल्पना पनि नगरे हुन्छ । बचत तथा ऋण सहकारी अभियान कसैको स्वार्थमा सञ्चालन भएको अभियान होइन । समुदायको अभियान हो । अविरल अभियानको रुपमा अघि बढ्ने क्षमता राख्छ ।
बचत तथा ऋण कारोवार
सहकारी संघहरूले बचत तथा ऋणको कारोवार गर्न सहकारी ऐनको दफा ५० मा ९ थप गरी यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि सहकारी संघहरूले बचत तथा ऋणको कारोबार गर्न सक्नेछैनन् भन्ने उल्लेख गरिएको छ । तर यो उपदफा प्रारम्भ हुँदाका बखत बचत तथा ऋणको कारोबार गरिरहेका सहकारी संघहरूले यो उपदफा प्रारम्भ भएको मितिले तीन वर्ष भित्र उक्त कारोबार बन्द गर्नुपर्नेछ भनी ऐनमा संशोधन गरिएको छ । संघहरूले आज पनि कारोवार होइन । अभियानको स्रोतको अभियानमा परिचालनको अभ्यास गरिरहेको हो ।
सरकारले के बुझ्न आवश्यक छ भने संघहरू मुनाफा केन्द्रीत कारोवार गर्ने इच्छाले कारोवार गरिरहेको होइन र गर्ने पनि छैन तर बचत तथा ऋण सहकारी अभियानको स्रोत अभियान मार्फत नै परिचालन हुने प्रणालीमा योगदानका लागि प्रयास गरिएको हो । बचत तथा ऋण सहकारी अभियानमा कारोवारको आकारसँगै जोखिमको स्तर पनि बढेको होला तर त्यसको व्ययवस्थापन जरा काटेर सम्भव छैन । यो भयानक दुर्घटनाको सुनियोजित तयारी मात्र हो ।
व्यवस्थापनका नयाँ नयाँ प्रणाली खोज्न आवश्यक छ । सहकारिताको डीएनए नै मासेर अभियान अविच्छिन्न चल्न सक्दैन । विकासको गति कमजोर हुन्छ । यसको असर राज्यको आर्थिक लक्ष्यमा नै पर्छ । संघहरूको कारोवार बन्द होइन सुरक्षित र थप व्यवस्थित गर्न आवश्यक छ ।
संसारभर सहकारीका संघहरू स्वःअनुशासन र स्वःव्यवस्थापनमा योगदान गर्नका लागि नै क्रियाशिल भएका हुन्छन् । बचत तथा ऋण सहकारीको स्रोत बचत तथा ऋण सहकारीहरू मार्फत नै परिचालन हुने नीतिगत व्यवस्था आवश्यक छ । सहकारी क्षेत्र स्रोत बाहिर राखेर समृद्ध र सुरक्षित हुन सक्दैन । जोखिम विहिन बन्न सक्दैन । जोखिम बहन गर्ने क्षमता विकास हुने नीति, योजना र कार्यक्रमको आवश्यकता छ । पवित्र बचत तथा ऋण सहकारी अभियानको छानो र गजुर ढालेर सरकारले सुरक्षित महसुस गर्न सक्छ जस्तो लाग्दैन । भएका कमजोरीहरूको नियन्त्रण गर्न आवश्यक छ । निमिट्यान्न गर्न आवश्यक छैन । बचत तथा ऋण सहकारी अभियान सुरक्षित बाटो यात्रा गर्न तयार छ तर गन्तब्य भुलेर यात्रा रोकेर विकास छेकेर बस्न तयार छैन ।
आर्थिक स्रोत बिना विकास सम्भव छैन । बचत तथा ऋण सहकारीको समुदायस्तरको योगदानलाई नजरअन्दाज गरेर विकास गरेको समाजिक पुँजीलाई रित्याएर चुप लागेर बस्न सक्दैन । बचत तथा ऋण सहकारी अभियान विधि भित्र बसेर विकास हुन चाहन्छ तर बचत तथा ऋण सहकारी संघहरूको जन्मसिद्ध बचत तथा ऋण गर्न पाउने नैसर्गिक अधिकार हनन भएको सहन गर्न कठिन भएको छ । सरकारले देखेको जोखिम व्यवस्थापन गर्न संघहरू तयार छन् । सुरक्षित र व्यवस्थित बचत ऋण सहकारी कारोवार अभियानको आवश्यकता र जिम्मेवारी हो ।
अविच्छिन्न पैरबी, परामर्श र प्रतिनिधित्व
बचत तथा ऋण सहकारी अभियान कमजोर भएर अघि बढ्दैन । एक भएर सबल बनेर सदस्यहरूको बचत सुरक्षा गरेर अघि बढ्न सक्षम छ । यसका लागि अविच्छिन्न पैरबी, परामर्श र प्रतिनिधित्वमा अभियान लागि रहनेछौ । हामीले भन्यौं, बचत तथा ऋण सहकारीहरू वित्तीय संस्था हुन् । कारोवारको आकार निरन्तर बढ्छ । कारोवारको आकारसँगै जोखिम पनि बढ्छ । हाम्रो लागि वित्तीय सहकारी ऐनको आवश्यकता छ ।
वित्तीय क्षेत्रलाई राज्यले दिएको संरक्षण बचत तथा ऋण सहकारीहरूको लागि पनि आवश्यक छ । राज्यको नीतिगत संरक्षणबिना कुनै पनि क्षेत्रको विकास हुन सक्दैन । यदि राज्यले सुरक्षित बचत तथा ऋण सहकारी अभियान चाहन्छ र समुदायको बचतको सुरक्षा चाहन्छ भने वित्तीय सहकारी ऐन आजको आवश्यकता हामी दशकाँैदेखि यसैका लागि पैरबी गरिरहेका छौँ । बचत तथा ऋण सहकारी अभियानको बन्ध्याकरण गरेर वा चीरहरण गरेर न राज्य बलियो हुन्छ न अभियान सुरक्षित । बचत तथा ऋण सहकारी अभियान मैत्री वित्तीय सहकारी ऐनका लागि पैरबी हाम्रो क्रियाशिलता हो ।
सेवाहरूमा सुधार र जोखिम व्यवस्थापन
बचत तथा ऋण सहकारी अभियान बाह्य कारणले मात्र कमजोर भएको छैन । अभियान संचालनको ढाँचाले पनि कमजोर बनाएको छ । हामीले सहकारीका कुरा गरेका छौँ । सहकार्य भएको छैन । अभियानका सेवाहरू सहकार्यमा विकास भएको छैन, प्रतिश्पर्धामा विकास भएको छ । व्यवसायिक आकार सहकार्यमा वृद्धि भएको छैन, प्रतिश्पर्धामा वृद्धि भएको छ ।
सहकारी सुरक्षा र विकासको आधार प्रतिश्पर्धा होइन सहकार्य नै हो ।
त्यो पनि मूल्य न्यूनीकरण तथा गुणस्तर सुधारका लागि हामीले सोच्ने बेला आएको छ । प्रतिश्पर्धा कि साझा सेवा ? हामीले बचत तथा ऋण सहकारीहरू एक भएर साझा सेवाहरूको विकास गर्न सकेनाँै भने अस्तित्व खतरामा छ । अभियान सञ्चालनको दैनिक आवश्यकता बजारले होइन सहकार्यले विकास गरेको सेवामा आधारित हुनुपर्दछ । एक्लै छिटो हिँड्न सकिएला टाढा पुग्न सकिंदैन । अभियानका साझा सेवाहरूको सवलीकरण अभियानको भविष्यका लागि आवश्यक छ ।
राज्य बलियो बन्न अभियान कमजोर बनाउने नीतिमा आजका योजनाकारहरू हिंडेको देखिन्छ । साझा सेवाहरूको थप सबलीकरण आजको आवश्यकता हो । आज भइरहेका साझा सेवाहरूमा पनि निरन्तर सुधार गरिने छ । तालिम, शिक्षा, बजारीकरण र प्रबिधिमा साझा सेवाहरूको विकास गर्न अत्यावश्यक छ । सहकार्यबाट जोखिम व्यवस्थापन गर्न सकिन्छ । अभियानको आफ्नै जोखिम व्यवस्थापन प्रणाली स्थापित गर्न आवश्यक छ ।
अभियानको केन्द्रीय तरलता सुविधा
आज बचत तथा ऋण अभियान किन कमजोर छ भने औपचारिक वित्तीय क्षेत्रले पाएको केन्द्रीय तरलता सुविधा यस अभियानले पाएको छैन । नीति निर्माताहरू यो सुविधा दिन तयार भएको अवस्था पनि छैन । त्यसैले अभियानले मिलेर केन्द्रीय तरलता सुविधा विकास गर्न आवश्यक छ । संकट कसलाई कति बेला आउँछ थाहा हुँदैन । ठुलो कारोवार गर्ने संस्थाहरूको लागि यो झन जरुरी छ । अब मिठो कुरा गरेर मात्र अभियान बन्दैन । योगदान गर्न आवश्यक छ । साँचो अभियानकर्मीहरू भने बचत तथा ऋण सहकारीहरूको केन्द्रीय तरलता सुविधाको नीतिगत ढाँचामा छलफल हुन आवश्यक छ ।
सदस्यहरूको बचत सुरक्षा हाम्रो प्राथमिकता हो भने मिलेर केन्द्रीय तरलता कोष बनाउन सकिन्छ । केन्द्रीय तरलता कोष त्यागबाट मात्र प्राप्त हुन्छ । राज्यबाट हुंदैन । अभियानको केन्द्रीय तरलता कोष निर्माणका लागि ढिलो भइसकेको छ । आज बजारमा व्याजदर शून्यप्रायः भएको छ । १५ प्रतिशत अनिवार्य तरलताको नीतिगत व्यवस्था छ तर तर जगेडा तरलता कोष छैन हामी निष्फ्रिक्री रुपमा यात्रा गरिरहेका छौँ, यो राज्यले गर्दैन । ऐन संशोधनमा पर्दैन । हामीले जन्माएको अभियानको संरक्षणको अभिभारा हाम्रो हो । अभियानको अविच्छिन्नताका लागि राज्यको मुख ताकेर होइन अब केन्द्रीय तरलता कोष स्थापना गरेर अघि बढ्न अत्यावश्यक छ । यसको नेतृन्व केन्द्रीय विषयगत संघले गर्नेछ ।
भुक्तानी फछ्र्यौट सेवा
बचत तथा ऋण सहकारी अभियानको पहिचान र स्वामित्व भएको अत्याधुनिक भुक्तानी फछ्र्यौट सेवा आजको आवश्यकता हो । कानुन बाधा देखाएर पर्खेर बस्ने समय छैन । सदस्यहरूको विद्युतीय कारोवारमा बचत तथा ऋण सहकारीहरूको योगदान हुन आवश्यक छ । राज्यले आज पनि निजी क्षेत्रलाई मात्र यो सेवा दिएकोमा वित्तीय क्षेत्र सुधार योजनामा सहकारी क्षेत्रमा पनि जाने योजना निर्माण गरेर बचत तथा ऋण सहकारी क्षेत्रलाई प्रोत्साहन गरेको छ । यो संचालन र व्यवस्थापनको अभिभारा अब बचत तथा ऋण सहकारी अभियानको छ ।
सहकारीहरूको स्वामित्व वा अपनत्व भएको सेवा विकास र सञ्चालनका लागि सहकार्य आवश्यक छ । अभियानको सोच बदलिन आवश्यक छ । सहकार्यको जगमा प्रविधि विकास गर्न आवश्यक छ । बचत तथा ऋण सहकारीहरूको आवश्यक यस सेवाका लागि तयारी हाम्रो अबको गन्तव्य हो । एउटा संघ वा संस्थाले सक्छ वा सक्दैनको विषय होइन । सबैको योगदानमा सम्भव छ भन्ने अवधारणा हो । बचत तथा ऋण सहकारी अभियान सबै प्रकारका सेवा विकास र प्रवाहका लागि सक्षम बन्न आवश्यक छ ।
जगेडा पूँजीकोष
बचत तथा ऋण सहकारी अभियानको नियामकीय प्रबन्ध बमोजिम निरन्तरताको एक मात्र अबको आधार भनेको जगेडा पूँजीको कोषको अवधारणाको कार्यान्वयन हो । बचत तथा ऋण सहकारीहरूमा जोखिम बढेको समयमा राज्यले तोकेको पूँजी पर्याप्ता अनुपात नपुग्न सक्छ । पूँजी नकारात्मक हुन सक्छ । बचत, ऋण र सेयर संकलनमा प्रतिबन्धको अवस्था आउन सक्छ । यसबाट बच्न आजै तयारी गर्नुपर्नेछ वा जगेडा पूँजीको अवधारणा अभियानका कार्यान्वयन गर्न आवश्यक छ ।
बचत तथा ऋण सहकारी अभियानमा गरेको आर्थिक योगदानको आधारमा अल्पकालीन पूँजी बचत तथा ऋण सहकारीहरूले पाउने प्रबन्ध हुन आवश्यक छ । बचत तथा ऋण सहकारीहरू सबैको निरन्तरताको आवश्यकता छ । बचत तथा ऋण सहकारीहरूको संस्थागत निरन्तरता बिना सदस्यहरूको बचतको सुरक्षा हुन सक्दैन । जगेडा पूँजीकोषको विषयमा पनि अभियानले सोच्ने समय भएको छ । यसका लागि केन्द्रीय संघमा जगेडा पूँजीकोष निर्माण गर्न सकिन्छ । अबको बचत तथा ऋण सहकारी अभियान कुनै पनि दिन न्यूनतम पूँजी व्यवस्थापन गर्न सक्षम बन्न पनि सहकार्यको आवश्यकता छ ।
नेतृत्व सवलीकरण
बचत तथा ऋण सहकारी अभियान मार्फत समाज निर्माण गर्न सकिन्छ । समाजमा योगदान गर्न सकिन्छ । गर्नुपर्छ भनेर निस्वार्थ अभियानमा जोडिएका अभियानकर्मीहरूको योगदानको कदर हुन आवश्यक छ । बचत तथा ऋण सहकारी क्षेत्र यो स्तरमा पुग्न नेतृन्वको योगदान छ र अझै थप योगदानको आवश्यकता छ । नेतत्व मैदान छोडेर सफल बन्न सक्दैन । गन्तव्य भुलेर सफल बन्न सक्दैन ।
अभियानका चुनौतिहरूको सामना नगरेर सफल बन्न सक्दैन । यसका लागि स्वःसवलीकरणको आवश्यकता छ । नेतृत्वको आचरण व्यवहार र योगदानमा प्रबलीकरण आवश्यक छ । पेशागत विकासले मात्र नेतृत्व नहुन सक्छ । समुदाय र सदस्यको हित र सुरक्षामा योगदान गर्न सक्ने । बचत तथा ऋण सहकारीहरूको कारोवारमा विद्यमान जोखिम व्यवस्थापन गर्न सक्ने तथा निरन्तर योगदान दिन सक्ने नेतृत्व आजको आवश्यकता हो । नवीन युगको चुनौति सामान गर्न नेतृत्व सीप क्षमता र इच्छाशक्ति बढ्न आवश्यक छ ।
बचत तथा ऋण सहकारी व्यवस्थापनमा चुनौती छ । राज्य संरक्षित औपचारिक वित्तिय क्षेत्रका सेवाहरू परिमार्जन भएका छन् । प्रविधिले समावेशीकरणलाई सहयोग गरेको छ । सहकारी क्षेत्रमा उच्च स्तरको प्रविधि खरिदमा समस्या विद्यमान छ । समस्याग्रस्त वा समस्या उन्मुख संस्थाहरूमा सदस्यहरूको बचत फिर्तामा जटिलता देखिएको छ । जनशक्तिको आकर्षण कमजोर भएको छ । स्रोत व्यवस्थापनमा संघहरूलाई अलग गर्ने प्रयास गरिएको छ । कडा नियमनको नाममा अभियानलाई डर देखाइएको छ । आन्तरिक रुपमा स्रोत व्यवस्थापनमा पनि केही समस्या भएको छ । भाखा नाघेको ऋण बढेको छ ।
सदस्यहरूको व्यवसाय निरन्तर रुपमा असफल भएको छ । सरकारको संरक्षणात्मक पहल पुगेको छैन । तर यी सबै समस्या अल्पकालीन हुन् । अभियानको नेतृन्व सबल बन्दा व्यवस्थापन सरल बन्न सक्छ । अभियानको नेतृत्व कमजोर बनेर समस्याको समाधान हुँदैन । एक भएर बलियो बन्न आवश्यक छ । आज बचत तथा ऋण सहकारी अभियानमा कुनै पनि संस्था एक्लै छैन र हुनुहुँदैन । समस्याको व्यवस्थापन गर्ने क्षमता र सक्रियता अभियानसँग छ । बचत ऋण सहकारी अभियान कमजोर बनेको छैन । संविधानले दिएको एक तिहाइ जिम्मेवारी लिन निष्ठापूर्वक सक्रीय रहन नेतृत्वको सवलीकरण आवश्यक छ ।
अन्त्यमा,
बचत तथा ऋण सहकारी अभियान आजका दिनसम्म औपचारिक रुपमा वित्तीय क्षेत्र पनि हुन नसक्नु र यो विषयमा राज्य बेखबर हुनुले वित्तीय सहकारी ऐनको आवश्यकताको पुष्टी गरेको छ । विश्वव्यापी रुपमा बचत तथा ऋण सहकारी क्षेत्र औपचारिक वित्तीय क्षेत्र हो । हामीले कार्यदल वा समिति आदिबाट पनि समाधान पाउन सकेनौँ ।
अबको एउटै बाटो भनेको बचत तथा ऋण सहकारीहरूका लागि वित्तीय सहकारी ऐनका लागि पैरबी हो । बचत तथा ऋण सहकारी अभियान अब नेपालीहरूको जीवन पद्धती हो । समुदायको आधारभूत संस्था हो र औपचारिक वित्तीय क्षेत्र हो । उत्कृष्ट सहकारिता सहितको वित्तीय सेवा प्रवाह गर्न अभियान प्रतिबद्ध छ । यसका लागि अविच्छिन्न अविरल अभियानको अभिभारा लिन अभियानको नेतृत्व सक्षम छ । संकुचित कानून र सोचले अभियानको बृहत लक्ष्य फेरिन सक्दैन ।
(ढकाल नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)का अध्यक्ष हुन् ।)











प्रतिक्रिया