
अवधारणा
बचत तथा ऋण सहकारीहरुको लागि अति आवश्यक सुविधाहरु मध्ये केन्द्रीय तरलता सुविधा पनि एक हो ।
केन्द्रीय तरलता सुविधा (सेन्ट्रल लिक्विडिटी फ्यासिलिटी – सीएलएफ) बचत तथा ऋण सहकारीहरुबीचको आपसी तरलता सुरक्षा सञ्जाल हो । केन्द्रीय तरलता सुविधा सदस्य सहकारीहरूले योगदान गरेर बनाइएको सामूहिक कोष वा तात्कालिक तरलता अभावका समयमा छोटो अवधिका लागि उपलब्ध गराइन्छ ।
सीएलएफ बैंक जस्तै निक्षेप संकलन गरी दीर्घकालीन ऋण दिने संस्था होइन । यसको केन्द्रीय ध्येय तरलता अपुग हुन नदिने हो अथवा स्वस्थ संस्था तर अस्थायी नगद अभाव (सदस्यता फिर्ता, सिजनल माग, भुक्तानी चाप, सेटलमेन्ट आवश्यकता वा प्रणालीगत झट्काबाट उत्पन्न अस्थायी आवश्यकतामा तात्कालिक स्रोत उपलब्ध गराउनु) केन्द्रीय तरलता सुविधाको काम हो ।
सीएलएफ नियामक निर्देशन, स्वनियमन मापदण्ड र जोखिम सीमाभित्र रहेर सञ्चालन हुन्छ । सहकारी क्षेत्रगत सुरक्षाका लागि सहकारी क्षेत्र भित्रैको ‘पहिलो सुरक्षा तह’ को रूपमा यसले काम गर्न सक्छ । केन्द्रीय तरलता सुविधा बचत तथा ऋण सहकारीहरुको वैधानिक अधिकार हो ।
उद्देश्यहरु
केन्द्रीय तरलता सुविधा अभियानको दिगोपन र जतिसुकै बेला हुन सक्ने तरलता संकट व्यवस्थापनको आधार भएकोले यस्तो सेवा विकासका लागि तलका उद्देश्यहरु रहनेछन् :
– अस्थायी तरलता अभाव हटाई स्वस्थ सहकारीलाई निरन्तर सञ्चालन योग्य बनाउने ।
– सदस्यको निक्षेप र बचतमा विश्वास कायम राख्न तरलता जोखिम घटाउने ।
– सामूहिक पूँजी र कोष निर्माणमार्फत अभियानमा जोखिम साझेदारी संस्थागत गर्ने ।
– भुक्तानी, सेटलमेन्ट र नियामक तरलता अनुपात (लिक्विडिटी कभरेज) पूरा गर्न सहयोग गर्ने ।
– संकटको समयमा बजारबाट महँगोमा स्रोत स्वीकार गर्नु पर्ने स्थितिलाई प्रतिस्थापन गर्दै लागत घटाउने ।
– मर्जर, सुधार र संरचनागत रूपान्तरण प्रक्रियालाई ‘ब्रिज–लिक्विडिटी’ मार्फत सहयोग गर्ने ।
– तथ्याङ्कमा आधारित तरलता पूर्वानुमान, स्ट्रेस–टेस्ट र प्रारम्भिक चेतावनी प्रणालीलाई प्रभावकारी कार्यान्वयन गर्ने ।
– सहकारी सिद्धान्त “एकका लागि सबै र सबैका लागि एक” को अवधारणाको वास्तविक कार्यान्वयन गर्ने ।
– केन्द्रीय विषयगत संघलाई अभियानको तरलता व्यवस्थापनमा जिम्मेवार बनाउने ।
– सदस्यहरुको थप विश्वास जित्ने ।
केतसुको महत्त्व
औपचारिक वित्तीय क्षेत्रका सुविधाहरु सहकारी क्षेत्रले नपाइरहेको सन्दर्भमा वा कतिपय सुविधाहरु सञ्चालन क्षमता पनि विकास नभएको अवस्थामा केतसु सहकारी अभियान संरक्षणका लागि एउटा ज्यादै महत्त्वपूर्ण समाधान हुन सक्छ । बचत तथा ऋण सहकारी अभियानको संरक्षण व्यवहारिक रूपमा गर्न यसका महत्त्वहरु यस प्रकार पाउन सकिन्छ :
– विश्वास र स्थिरता : सामूहिक तरलता सुरक्षा सञ्जालले सदस्यहरुमा सार्वजनिक भरोसा वृद्धि गरी अभियान प्रतिको विश्वास बढाउँछ ।
– सिस्टमेटिक जोखिम न्यूनीकरण : एक वा दुई संस्थाको समस्याले सम्पूर्ण क्षेत्रलाई संक्रमित हुन नदिने ‘फायरवाल’ को रूपमा कार्य गर्दछ ।
– लागत प्रभावकारिता : केन्द्रीय तरलता कोषले सस्तो स्रोत उपलब्ध गराउँछ जसले संकटको समयमा ‘सञ्जीवनी’को काम गर्दछ ।
– वित्तीय समावेशीकरणको निरन्तरता : ग्रामीण, साना र सदस्य–केन्द्रित संस्थाहरुको सेवामा अवरोध आउनबाट बचाउन सजिलो हुन्छ ।
– नियामक अनुपालन : एसएलआर तथा विश्लेषणमा आधारित सीमाहरु पूरा गर्न सहज हुन्छ ।
– संस्थागत अनुशासन : सीएलएफ पहुँचका लागि मापदण्डले सुशासन, रिपोर्टिङ र जोखिम व्यवस्थापन संरचना विकासलाई उन्नत बनाउँछ ।
– अभियानको जिम्मेवारी वृद्धि : सदस्यहरुको बचत सुरक्षामा वास्तविक रूपमा केन्द्रीय संघ जिम्मेवार बनाउन सकिन्छ ।
केन्द्रीय तरलता सुविधा कार्यान्वयन ढाँचा
केतसु कार्यान्वयनका लागि केन्द्रीय विषयगत संघलाई जिम्मेवार बनाउनु पर्दछ । सहकारी ऐन २०७४ को दफा ९९ बमोजिम सदस्यहरुको आर्थिक तथा वित्तीय अवस्थाको अनुगमन गर्नु पर्ने विधायिकी दायित्व पूरा गर्न यसको लागि अभियान र सरकार सचेत हुन आवश्यक छ । केन्द्रीय तरलता सुविधा कार्यान्वयन गर्ने निकायको रूपमा केन्द्रीय विषयगत संघ हुन आवश्यक छ ।
केन्द्रीय विषयगत संघको रियल–टाइम सुपरिवेक्षण प्राधिकरणबाट हुनुपर्दछ र केन्द्रीय विषयगत संघलाई नेपाल राष्ट्र बैंकबाट अन्य बैंकहरुले प्राप्त गर्ने केन्द्रीय तरलता सुविधा प्रदान गर्ने नीतिगत व्यवस्था हुन आवश्यक छ । केतसु सम्बन्धी कानून बनाउन सरकार सकारात्मक हुन आवश्यक छ । यो वास्तवमा सरकारको काम अभियानले गरेर सहयोग गर्न खोजेको हो । बचत तथा ऋण सहकारी अभियानको संरक्षण, विकास र विश्वास आर्जनका लागि हामी जिम्मेवार बन्ने समय आएको छ । हैसियत, भूमिका वा अन्य कारणले अब केन्द्रीय तरलता कोष कार्यान्वयनमा ढिला हुनु हुँदैन । केन्द्रीय तरलता सुविधा अपरिहार्य सदस्यहरुको समस्या समाधान र छवि विकासका लागि हुनु पर्दछ । आजसम्म अभियान केन्द्रीय तरलता सुविधा विना पानी विनाको माछा जस्तो भएको छ ।
केन्द्रीय तरलता सुविधा कार्यान्वयन गर्न आवश्यक पर्ने सञ्चालक समिति, त्यसको फिट एन्ड प्रपर टेस्ट परीक्षण गर्न तथा सरोकारवाला सबैसँग समन्वयमा कार्यगर्ने गरी कार्यान्वयन हुन आवश्यक छ । बचत तथा ऋण सहकारी अभियान नै नाफाका लागि होइन भने केन्द्रीय विषयगत संघको सेवा झन् नाफाका लागि नभएकोले कानूनी रूपमा नै केन्द्रीय तरलता सुविधाको संरचना कार्यान्वयन हुन जरुरी छ । यसका लागि पनि तलका व्यवस्था हुन आवश्यक छ :
– डिजिटल आवेदन, रियल–टाइम डेटा फिड, तरलता पूर्वानुमान र अलर्टको व्यवस्थापन ।
– सापटी आकलन, आर्थिक, सञ्चालन र शासन सूचकाङ्कको स्कोरिङ ।
– स्वीकृति पछि क्लियरिङ र आरटीजीएस\आईपीएस् मार्फत भुक्तानी र रिपोर्टिङ अनिवार्य ।
– पोस्ट–डिस्बर्सल निगरानी, कोभनेन्ट र समयमै सेटलमेन्ट तथा उल्लंघनमा दण्ड र निलम्बन ।
केतसुका लागि स्रोत तथा जोखिम व्यवस्थापन
केन्द्रीय तरलता सुविधाका लागि स्रोत अभियानकै हुन आवश्यक छ । अभियानको स्रोत संरचना विकास गर्न सम्भव छ ।
अभियानमा विद्यमान ब्याजदर जोखिम समेतको व्यवस्थापन गर्न सहजीकरण गर्ने गरी स्रोत व्यवस्थापन हुन आवश्यक छ ।
अभियानमा विद्यमान कुल बचतको चार प्रतिशत स्रोत केन्द्रीय तरलता कोषमा राख्नु पर्ने हुन्छ । परिचालनमा विद्यमान जोखिम व्यवस्थापनका लागि सुपरिवेक्षण तथा तहगत रूपमा सुरक्षणको व्यवस्थापन गर्न आवश्यक छ । सरोकारवाला निकायहरूसँगको सहकार्य पनि महत्त्वपूर्ण हुन्छ ।
– डेटा–ड्रिभन तरलता ड्यासबोर्ड, नेट–क्यास आउटफ्लो, कन्सन्ट्रेसन लिमिट, ग्याप आदिको विश्लेषण ।
– प्रि–पोज्ड कोलेटरल र स्तरीय कानुनी ढाँचा, आपतकालमा तुरुन्त उपयोग हुने व्यवस्थापन ।
– स्तरीय प्राइसिङ, सुशासन र जोखिम प्रोफाइल व्यवस्थापन योग्य भएका संस्थालाई सस्तो दर ।
– इन्सेन्टिभ–लिङ्क, तरलता समर्थनसँगै सुधार योजना, क्षमता विकास र आईटी अपग्रेड अनिवार्य ।
– संयुक्त–सुपरभिजन, सीएलएफ, नियामक र संघले अर्ली वार्निङ सेयर गर्ने ।
– सञ्चार प्रोटोकल, मिडिया ब्रिफ र सदस्य सञ्चार ।
– बोर्ड उत्तरदायित्व, वार्षिक ‘स्टेट अफ लिक्विडिटी’ प्रतिवेदन सार्वजनिक गर्ने ।
अन्तर्राष्ट्रिय असल अभ्यास
बचत तथा ऋण सहकारी अभियान चलेका हरेक देशको कानून अनुसार केन्द्रीय तरलताको स्वरूप फरक हुन्छ तर सरकारको स्वीकृतिमा केन्द्रीय तरलता सुविधा व्यवस्थापन गर्ने संरचनाहरु रहेका हुन्छन् । मासिक तरलता रिपोर्ट, कोषको प्रयोग संरचना, औसत अवधि, लागत र रिकभरी दर, वार्षिक स्वतन्त्र अडिट, आईटी अडिट र अनुपालन परीक्षण, हितधारक सञ्चार, सदस्य, नियामक, सहयोग निकाय र सार्वजनिकमा नियमित बुलेटिन जस्ता कार्यहरु सफल संरचना भएका देशहरुमा अभ्यास भएको पाइन्छ ।
केतसु संरचना कार्यान्वयन मार्गचित्र
चरण–१ : कानुनी आधार स्पष्ट गरी ऐन र नियममा परिभाषा, कर र रिपोर्टिङ सहुलियत जस्ता पक्षहरुको स्पष्ट व्यवस्थापन गर्ने ।
चरण–२ : संस्थागत कार्यढाँचा स्वीकार, संघको स्वामित्व, जोखिम व्यवस्थापन समिति सञ्चालन गर्ने ।
चरण–३ : सदस्य योगदान, प्रारम्भिक अनुदान र सफ्ट–लोन, केन्द्रीय बैंक लाइन–अफ–क्रेडिट पाउने सुनिश्चित गर्ने ।
चरण–४ : आईटी–डाटा—कोर–बैंकिङ र लेजरसँग एपीआई, दैनिक तरलता अपलोड, स्ट्यान्डर्ड टेम्प्लेट विकास गरी कार्यान्वयन गर्ने ।
चरण–५ : सीमित संस्थाहरूसँग पाइलट, सिकाइअनुसार नियम समायोजन र फुल फेजमा कार्यान्वयन ।
चरण–६ : पूर्ण सञ्चालन, आपतकालीन ब्याक–स्टप, प्रशिक्षण र क्षमता विकास कार्यक्रमको निरन्तरता ।
निष्कर्ष
केन्द्रीय तरलता सुविधा सहकारी क्षेत्रको सुरक्षा सञ्जाल मात्र होइन, दिगो विस्तार र नवप्रवर्तनको आधार हो । अन्तर्राष्ट्रिय अनुभवले देखाएझैं, डेटा–आधारित शासन, पारदर्शी मूल्य निर्धारण, पर्याप्त कोलेटरल र बहु–तहको जोखिम सुरक्षा बिना सीएलएफ दिगो हुँदैन । तर सही डिजाइन, बलियो आईटी, सहयोगी नियमन र सदस्य–केन्द्रित संस्कृतिसँग जोडिएमा सीएलएफले सहकारीको विश्वसनीयता, लागत–प्रतिस्पर्धा र संकट–सहनशीलता तीनै पक्षमा उल्लेखनीय सुधार ल्याउन सक्छ ।
(ढकाल नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)का अध्यक्ष हुन् ।)







प्रतिक्रिया