रेशम चौधरीको उम्मेदवारी खारेज


कैलाली । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीको प्रतिनिधि सभा सदस्यका लागि दर्ता भएको उम्मेदवारी खारेज भएको छ ।

कैलाली क्षेत्र नम्बर १ बाट नाउपाको तर्फबाट उम्मेदवारी दिएका चौधरीविरुद्ध परेको उजुरीमाथि छानबिन गर्दै निर्वाचन अधिकृतको कार्यालयले सो निर्णय गरेको हो ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार चौधरीको मनोनयनपत्र प्रचलित कानून बमोजिम कायम रहन सक्ने नदेखिएकाले खारेज गरिएको हो। “नागरिक उन्मुक्ति पार्टी नेपालका उम्मेदवार रेशमलाल चौधरीको मनोनयनपत्र प्रचलित कानून बमोजिम कायम रहन सक्ने अवस्था नदेखिँदा खारेज गरिदिएको छ,” निर्वाचन अधिकृतको निर्णयमा उल्लेख छ ।

टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका चौधरीले सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी पाएका थिए। तर, प्रतिनिधि सभा निर्वाचन ऐनअनुसार जन्मकैदको सजाय पाएका व्यक्ति निर्वाचनमा उम्मेदवार हुन नपाउने कानुनी प्रावधान रहेको छ। सोही प्रावधानलाई आधार मान्दै उनको उम्मेदवारी बदर गरिएको हो ।

यसअघि २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि रेशम चौधरीले बर्दिया क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका थिए। त्यतिबेला उनी जेलमै रहेको अवस्थामा उनको उम्मेदवारी खारेज भएको थियो।

चौधरीको उम्मेदवारी खारेज भएपछि अघिल्लो निर्वाचनमा उनका बुवा लालवीर चौधरी बर्दिया-२ बाट स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका थिए। लालवीर पछि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका थिए र हाल उनी सोही पार्टीमा आबद्ध छन्।