
एजेन्सी । अमेरिका बिहीबार औपचारिक रूपमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट बाहिरिँदैछ ।
यसले अमेरिकी र विश्वव्यापी स्वास्थ्य दुवैमा असर गर्ने चेतावनीका बाबजुद र वाशिङटनले संयुक्त राष्ट्रसंघको यस स्वास्थ्य एजेन्सीलाई तिर्न बाँकी रहेको २६ करोड डलर शुल्क तिर्नुपर्ने अमेरिकी कानुनको उल्लंघन गर्दै यो कदम चालिएको हो ।
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२५ मा आफ्नो राष्ट्रपतिकालको पहिलो दिनमै एक कार्यकारी आदेशमार्फत अमेरिका यो संगठनबाट बाहिरिने सूचना दिएका थिए । अमेरिकी कानुन अनुसार, बाहिरिनुअघि एक वर्षको सूचना दिनुपर्ने र सबै बाँकी शुल्कहरू तिर्नुपर्ने हुन्छ ।
बिहीबार अमेरिकाको विदेश मन्त्रालयका प्रवक्ताले सूचना नियन्त्रण गर्न, व्यवस्थापन गर्न र साझा गर्न डब्ल्यूएचओको असफलताले अमेरिकालाई खर्बौं डलरको नोक्सानी भएको बताए । राष्ट्रपतिले डब्ल्यूएचओलाई भविष्यमा दिइने कुनै पनि अमेरिकी सरकारी कोष, सहयोग वा स्रोतहरूको हस्तान्तरण रोक्न आफ्नो अधिकार प्रयोग गरेको जानकारी पनि उनले दिए ।
‘अमेरिकी जनताले यस संगठनलाई पर्याप्तभन्दा बढी भुक्तानी गरिसकेका छन् र यो आर्थिक क्षति संगठनप्रतिको कुनै पनि वित्तीय दायित्वको प्रारम्भिक भुक्तानीभन्दा निकै माथि छ,’ प्रवक्ताले इमेलमार्फत भने ।
गत वर्षदेखि धेरै विश्वव्यापी स्वास्थ्य विज्ञहरूले अमेरिकालाई बाहिरिने निर्णयमाथि पुनर्विचार गर्न आग्रह गर्दै आएका छन् । तिनमा डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयसस पनि समावेश छन् ।
अमेरिकाले सन् २०२४ र २०२५ को लागि तिर्नुपर्ने शुल्क अझै तिरेको छैन । सदस्य राष्ट्रहरू फेब्रुअरीमा बस्ने डब्ल्यूएचओको कार्यकारी बोर्डमा अमेरिकाको बहिर्गमन र यसलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे छलफल गर्न तयार रहेको डब्ल्यूएचओका प्रवक्ताले रोयटर्सलाई इमेलमार्फत बताए ।
‘यो अमेरिकी कानुनको स्पष्ट उल्लंघन हो,’ वाशिङटनस्थित जर्जटाउन विश्वविद्यालयको ओ’निल इन्स्टिच्युट फर ग्लोबल हेल्थ ल का संस्थापक निर्देशक र डब्ल्यूएचओका निकट पर्यवेक्षक लरेन्स गोस्टिनले बताए, ‘तर ट्रम्प यसबाट उम्किने उच्च सम्भावना छ ।’
डाभोसमा रोयटर्ससँग कुरा गर्दै अमेरिकाले अल्पकालमा पुनर्विचार गर्ने अपेक्षा नगरेको बिल गेट्सले बताए । उनी गेट्स फाउन्डेशनका अध्यक्ष र विश्वव्यापी स्वास्थ्य पहल एवं डब्ल्यूएचओका केही कार्यका प्रमुख आर्थिक सहयोगी हुन् ।
‘अमेरिका निकट भविष्यमा डब्ल्यूएचओमा फर्केला जस्तो मलाई लाग्दैन,’ उनले भने । सको पक्षमा वकालत गर्ने अवसर पाउँदा गर्ने उनले थपे । ‘विश्वलाई विश्व स्वास्थ्य संगठनको आवश्यकता रहेको उनको भनाइ छ ।
डब्ल्यूएचओका लागि, अमेरिकाको बहिर्गमनले बजेट संकट निम्त्याएको छ । यसकारण उसले आफ्नो व्यवस्थापन टोलीलाई आधा घटाएको छ र एजेन्सीभरिको बजेट कटौती गर्दै कामहरू सीमित गरेको छ ।
वाशिङटन परम्परागत रूपमा राष्ट्रसंघको यो स्वास्थ्य एजेन्सीको सबैभन्दा ठूलो आर्थिक सहयोगी रहँदै आएको छ । यसले उसको कुल कोषमा करिब १८ प्रतिशत योगदान पुर्याउँदै आएको थियो । डब्ल्यूएचओले यस वर्षको मध्यसम्ममा आफ्ना कर्मचारीहरूको करिब एक चौथाइ हिस्सा कटौती गर्नेछ ।
उसले पोहोर साल अमेरिका र सूचना आदानप्रदानमा सहकार्य गर्दै आएको थियो । अबको दिनमा यो सहकार्य कसरी अगाडि बढ्छ भन्ने कुरा स्पष्ट छैन ।
विश्वव्यापी स्वास्थ्य विज्ञहरू यसले अमेरिका, डब्ल्यूएचओ र विश्वका लागि जोखिम खडा गरेको बताउँछन् ।
‘डब्ल्यूएचओबाट अमेरिकाको बहिर्गमनले स्वास्थ्य खतराहरू पत्ता लगाउन, रोक्न र प्रतिकार गर्न विश्वले भरोसा गर्ने प्रणाली र सहकार्यलाई कमजोर बनाउन सक्छ,’ अमेरिकामा रहेको गैरनाफामूलक संस्था ब्लुमबर्ग फिलान्थ्रोपिजकी जनस्वास्थ्य कार्यक्रम प्रमुख केली हेनिङले भनिन् ।








प्रतिक्रिया