भेनेजुएलाको दोहोरो भूकम्प, ठूलो जनधनको क्षति भएको आशंका

49
Shares

एजेन्सी । दक्षिण अमेरिकी देश भेनेजुएलामा केही सेकेन्डको अन्तरमा दुई शक्तिशाली भूकम्प जाँदा राजधानी काराकाससहित विभिन्न क्षेत्रमा व्यापक क्षति भएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार बुधबार साँझ स्थानीय समयअनुसार ६ बजेर ४ मिनेटमा पहिलो ७.२ म्याग्निच्युडको भूकम्प गएको थियो भने त्यसको करिब ४० सेकेन्डपछि ७.५ म्याग्निच्युडको अर्को शक्तिशाली भूकम्प गएको थियो । यी भूकम्पहरू पछिल्लो एक शताब्दीभन्दा बढी समययताका भेनेजुएलाका सबैभन्दा शक्तिशाली भूकम्पमध्येका मानिएका छन् ।

भूकम्पपछि भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले देशभर आपत्कालीन अवस्था घोषणा गरेकी छन् । उनले घटनामा ज्यान गुमाएकाहरूका परिवारप्रति समवेदना व्यक्त गरेकी छन् । यद्यपि, हालसम्म मृतक र घाइतेको आधिकारिक संख्या सार्वजनिक गरिएको छैन ।

अमेरिकी भूगर्भ सर्वेक्षणले भने ठूलो जनधनको क्षति हुन सक्ने र हताहतको संख्या उच्च हुन सक्ने चेतावनी दिएको छ । संस्थाका अनुसार यो विपद्को प्रभाव व्यापक रहेको र विनाशको स्तर अझै स्पष्ट हुन बाँकी छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार राजधानी काराकासमा धेरै बहुमञ्जिले भवनहरू भत्किएका छन् भने भग्नावशेषमा पुरिएकाहरूको खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ । उद्धारकर्मी, सुरक्षाकर्मी र स्वयंसेवकहरू प्रभावित क्षेत्रमा खटिएका छन् । सामाजिक सञ्जाल र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा सार्वजनिक भएका तस्बिर तथा भिडियोहरूमा भवनहरू भत्किएको, सडकमा चर्को क्षति पुगेको र मानिसहरू त्रसित अवस्थामा खुला स्थानतर्फ भागेको देखिएको छ ।

भूकम्पका कारण देशको मुख्य अन्तर्राष्ट्रिय विमानस्थल सिमोन बोलिभार अन्तर्राष्ट्रिय विमानस्थलमा गम्भीर क्षति पुगेपछि उडान सेवा बन्द गरिएको छ । केही सार्वजनिक यातायात सेवा, मेट्रो तथा रेल सेवा पनि प्रभावित भएका छन् । अस्पतालहरूलाई उच्च सतर्कतामा राखिएको छ भने प्रभावित क्षेत्रमा अस्थायी आश्रयस्थल स्थापना गर्ने काम सुरु गरिएको छ ।

भूकम्पको केन्द्रबिन्दु काराकासबाट करिब १६० किलोमिटर पश्चिममा रहेको मोरोन क्षेत्र आसपास रहेको बताइएको छ । यसको धक्का भेनेजुएलाका अधिकांश क्षेत्रमा महसुस गरिएको थियो भने छिमेकी कोलम्बियाको राजधानी बोगोटासम्म पनि कम्पन महसुस भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । केही समयका लागि सुनामीको चेतावनी जारी गरिए पनि पछि फिर्ता लिइएको थियो ।

भूकम्प राष्ट्रिय बिदाका दिन परेकाले धेरै नागरिक घरमै रहेका बेला गएको थियो । त्यस कारण क्षतिको दायरा अझ बढेको हुन सक्ने अनुमान गरिएको छ । उद्धार कार्य जारी रहेकाले मृतक, घाइते तथा भौतिक क्षतिको यकिन विवरण आउन अझै समय लाग्ने अधिकारीहरूले बताएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरू र उद्धार निकायहरूले यसलाई हालैका वर्षहरूमा भेनेजुएलाले सामना गरेको सबैभन्दा ठूलो प्राकृतिक विपत्तिमध्ये एक हुन सक्ने बताएका छन् ।

Skip This