प्रधानमन्त्री बालेनपत्नी सविनाले भनिन्,’‘त्यो ब्याग सुरक्षाकर्मीकै निजी हो’

315
Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)की पत्नी सबिना काफ्लेले आफ्नो एउटा तस्बिरलाई लिएर सञ्चारमाध्यममा आएका समाचारप्रति आपत्ति जनाएकी छिन् ।

चितवनमा जारी रास्वपा महाधिवेशनमा सहभागी भई काठमाडौं फर्किने क्रममा सुरक्षाकर्मीले उनको ब्याग बोकेको भन्दै सार्वजनिक भएको फोटोप्रति उनले सामाजिक सञ्जालमार्फत आपत्ति जनाएकी हुन् ।

उनले उक्त ब्याग आफ्नो नभई सम्बन्धित सुरक्षाकर्मीकै निजी ब्याग भएको दाबी गरेकी छिन् । ‘जुन सुरक्षाकर्मीले त्यो ब्याग बोकेका छन्, त्यो ब्याग उनकै निजी हो,’ प्रधानमन्त्री पत्नी सबिनाले भनेकी छिन्, ‘तर यहाँ अनेक शंका र अड्कलबाजीले मेरो चरित्र हत्या गर्न खोजिएको छ ।’

आफूविरुद्ध नियोजित रूपमा समाचार सम्प्रेषण गरिएको आरोप लगाउँदै उनले घटनाको सत्यता नबुझी समाचार लेखिएकोमा दुख व्यक्त गरेकी छिन् । विशेष गरी महिलाको चरित्र हत्या गरेर चर्चामा आउन चाहने मिडियाबाट यस्तो प्रचार सुरू गरिएको उनले लेखेकी छन् ।

पछिल्लो समय आफूलाई पुराना पात्रहरूसँग तुलना गरेर अनावश्यक टिप्पणी हुने गरेको भन्दै उनले चित्त दुखाएकी छिन् । उनले भनेकी छिन्, ‘नयाँहरू आए तर नयाँलाई हेर्ने पुरानो दृष्टिकोण अझै उस्तै छ । विगत केही समयदेखि मलाई पुराना पात्रहरूसँग दाँजेर समाचार र कमेन्टहरू भइरहेका थिए, जसमा मैले बोल्नु आवश्यक ठानेकी थिइनँ । तर आजको ब्यागको विषयले मलाई चुप बस्न मन लागेन ।’

राजनीति र सार्वजनिक जीवनमा रहेका व्यक्ति वा उनीहरूको परिवारप्रति जनताको चासो र सचेतता हुनु स्वभाविक भए पनि बिना आधार चरित्र हत्या गर्नु गलत भएको उनले लेखेकी छन् ।

Skip This