डीबी बम्जनसहितका सञ्चालकहरूले बचत रकम अपचलन गर्दा समस्याग्रस्त भएको गोरखा सेभिङ

0
Shares

काठमाडौं । गोरखा सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका अध्यक्ष इमानसिंह राईसहित ४ जना पक्राउ परेका छन् । समस्याग्रस्त घोषणा भएको सहकारीका तत्कालीन अध्यक्ष राई र व्यवस्थापक लालबहादुर क्षेत्रीसहित ४ जनालाई सहकारीको बचत रकम अपचलन गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होबिन्द्र बोगटीले पुष्टि गरे ।

पक्राउ पर्नेहरूमा सहकारीका अध्यक्ष इमानसिंह राई, प्रमुख कार्यकारी अधिकृत लालबहादुर क्षेत्री, सञ्चालकहरू कर्णबहादुर राई र अनिलकुमार राई रहेका छन् । गोरखा सेभिङ एन्ड क्रेडिट को-अपरेटिभका ३ हजार १०२ जना बचतकर्ताको ३ अर्ब ८९ करोड ७२ लाख ६७ हजार रुपैयाँभन्दा बढी रकम अपचलन भएको जाहेरी परेको एसएसपी बोगटीले बताए ।

सरकारले यस सहकारीलाई समस्याग्रस्त घोषणा गरी सम्पत्ति तथा दायित्व फर्स्योटको लागि ‘समस्याग्रस्त सहकारी व्यवस्थापन समिति’ मा पठाएको छ । सरकारले २०८१ असार ६ गते यसलाई समस्याग्रस्त घोषणा गरेको थियो । समितिमा हालसम्म २,५९४ जना बचतकर्ताले ३ अर्ब २३ करोड ४८ लाख ४५ हजार रुपैयाँ बराबरको मागदाबी पेस गरेका छन् ।

हाल गोरखा सेभिङमा इमानसिंह राई र अन्य पात्रहरू देखिए पनि यसको जरा भने सिभिल सहकारीको रकम अपचलनमा जेलमा रहेका इच्छाराज तामाङ र गोरखा डेभलपमेन्ट बैंकको घोटालामा संलग्न डम्बरबहादुर बम्जन (डीबी) को नेतृत्वमा भएको ठूलो रकम अपचलनसँग जोडिएको छ । उनै बम्जन परिवार र उनलाई साथ दिने विगतका तथा हाल पक्राउ परेका सञ्चालक र व्यवस्थापकले ठूलो रकम दुरुपयोग गर्दा सहकारी समस्याग्रस्त बनेको हो ।

सहकारीले बचतकर्ताबाट उठाएको करिब साढे ४ अर्ब रुपैयाँमध्ये ठूलो हिस्सा डीबी बम्जनको परिवार र अन्य केही व्यक्तिले दुरुपयोग गर्दा ३ हजारभन्दा बढी बचतकर्ता मारमा परेका हुन् । डीबी बम्जनसहित केही व्यक्ति र परिवारले सहकारीबाट लिएको ऋण एक दशकसम्म पनि भुक्तानी नगर्दा सर्वसाधारणको बचत जोखिममा परेको हो ।

डीबी बम्जन र सहकारीको सेयर सदस्य समेत नरहेका उनका दाइ तेजबहादुर बम्जनले लिएको रकम वर्षौंदेखि नतिर्दा सहकारी संकटमा परेको सहकारी विभागले नेपाल राष्ट्र बैंकबाट जनशक्ति मगाएर गरेको एक अनुगमन प्रतिवेदनले देखाएको थियो । उक्त प्रतिवेदन अनुसार ४ अर्ब २८ करोड बचत दायित्व र ४ अर्ब ५६ करोड ऋण लगानी रहेको यस संस्थामा बहालवाला र पूर्वपदाधिकारीले नै रकम अपचलन गरेका थिए।

सहकारीका सीमित पदाधिकारी, पूर्वपदाधिकारी र कर्मचारीले बचतकर्ताको करिब ७५ प्रतिशत रकम ऋणका रूपमा लिएर दुरुपयोग गरेको र दशकसम्म पनि फिर्ता नगरेको पाइएको थियो । बचतकर्ताले रकम फिर्ता नपाएपछि सहकारी विभाग, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), जिल्ला प्रहरी परिसर र जिल्ला प्रशासन कार्यालयमा पटक–पटक उजुरी पुगेको थियो । तर, सरकारले समयमै छानबिन गर्नुको सट्टा सहकारीलाई समस्याग्रस्त घोषणा गरी व्यवस्थापन समितिमा पठायो । यद्यपि, समितिले ऋण असुली र बचत फिर्ताको प्रक्रियामा ठोस प्रगति गर्न सकेको छैन ।

करिब २ वर्षदेखि जाहेरी परेर पनि कारबाही अगाडि नबढेको यस प्रकरणमा प्रहरीले अनुसन्धान तीव्र पारेसँगै अध्यक्ष इमानसिंह राईसहित ४ जना पक्राउ परेका हुन् । सिभिल सहकारी ठगीमा पुर्पक्षका लागि थुनामा रहेका इच्छाराज तामाङ संस्थापक अध्यक्ष रहेको गोरखा सहकारीमा उनीपछिका अध्यक्ष उनकै नातेदार डीबी बम्जन भएका थिए । डीबी बम्जन र उनीसँगै संस्थाको कार्यकारी भूमिकामा रहेका करिब डेढ दर्जन व्यक्तिले पदको दुरुपयोग गरी बचत रकम अपचलन गरेको विभागको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार डीबी बम्जन र उनका दाइ तेजबहादुर तामाङले मात्रै १ अर्ब ३२ करोड ५३ लाख रुपैयाँभन्दा बढी ऋण तिर्न बाँकी छ । तेजबहादुर तामाङ शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन मुद्दामा फरार प्रतिवादी हुन् र उनी उक्त सहकारीका तत्कालीन सचिव समेत हुन् ।

सहकारीको सेयर सदस्य समेत नरहेका तेजबहादुरले २०६७ सालमा विभिन्न शीर्षकमा लिएको ऋणको साँवा–ब्याज भुक्तानी नगरेको र २०८० चैत मसान्तसम्ममा उक्त दायित्व (जरिवानासहित) ७६ करोड ९७ लाख ७९ हजार पुगेको छ । तत्कालीन अध्यक्ष डीबीले नै आफ्ना दाजुलाई यसरी कर्जा दिएर रकम दुरुपयोग गरेका थिए । यस्तै, डीबी आफैंले लिएको ऋणको साँवा, ब्याज र जरिवाना गरी २०८० चैत मसान्तसम्म ५५ करोड ५५ लाख ३७ हजार रुपैयाँ पुगेको छ ।

डीबीकी श्रीमती कुमारी तामाङले लिएको ३ करोड ६ लाख ५३ हजार रुपैयाँ ऋण पनि भुक्तानी भएको छैन । धितो राखिएको जग्गा लिलाम गर्दा पनि ऋण चुक्ता हुन नसकी बाँकी रहेको २ करोड ५६ लाख ३९ हजार ७ सय ५० रूपैयाँलाई पुनः ऋणमै देखाइएको थियो । बम्जन परिवारले लिएको कुल ऋणको साँवा–ब्याज र जरिवाना १ अर्ब ३२ करोड रुपैयाँभन्दा बढी पुगेको छ । सोही रकम हालको गोर्खाज फाइनान्स (तत्कालीन गोरखा डेभलपमेन्ट बैंक) को सेयर खरिदमा प्रयोग भएको विभागको प्रतिवेदनले औँल्याएको छ । सहकारीसँग धितोका रूपमा गोर्खाज फाइनान्सको करिब ४-५ करोडको सेयर भए पनि अन्य ऋणका लागि कुनै सुरक्षण छैन ।

सहकारीले ४ वैशाख २०८० मा तेजबहादुर र डीबीको नाममा रहेको गोर्खाज फाइनान्सको सेयर लिलामीको सूचना निकाले पनि त्यो बिक्री हुन सकेन । बचत अपचलन गर्नेमा पूर्वअध्यक्ष बम्जनसँगै हाल पक्राउ परेका इमानसिंह राई पनि प्रमुख छन् । राईले २०७० सालदेखि मसलकुमार राई, दीपेन्द्र घले र धनराज राईका नाममा पटक–पटक लिएको ऋणको साँवा, ब्याज र हर्जानासहित ६ करोड ९ लाख ८५ हजार रुपैयाँ तिरेका छैनन् ।

सहकारीका सञ्चालक समिति सदस्य भूषण राईले राजेन्द्रकुमार राईका नाममा लिएको ३ करोड १० लाख ऋणको दायित्व २०८० चैतसम्म ५ करोड ५२ लाख ३६ हजार पुगेको छ । अर्का सञ्चालक मनप्रसाद सुनुवारले ५ करोड ८१ लाख ८४ हजार अपचलन गरेका छन् । उनी र भूषण राई २०५८ देखि सञ्चालक समितिमा रहँदै आएका थिए ।

गोर्खाज फाइनान्सका सञ्चालक समेत रहेका पूर्व लेखा सुपरीवेक्षण समिति सदस्य कर्णबहादुर राईले २०६८ देखि २०७७ सम्म लिएको ऋणको साँवा–ब्याज र हर्जानासहित २५ करोड १४ लाख ९५ हजार रुपैयाँ तिरेका छैनन् । यस्तै, एमाले नेता शेरधन राई सञ्चारमन्त्री र कोशी प्रदेशको मुख्यमन्त्री हुँदा उनका स्वकीय सचिव रहेका पारुहाङले लिएको ऋणको ब्याज तथा जरिवानासहित करिब १९ करोड रुपैयाँ तिर्न बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी, पूर्व कोषाध्यक्ष भवानीप्रसाद राईले साढे ११ करोड, कर्मचारी पहलमान घिसिङले विभिन्न व्यक्तिका नाममा ऋण लिएर साढे १४ करोड, र पूर्वसञ्चालक प्रेमबहादुर बेघाले साढे २७ करोड रुपैयाँभन्दा बढी अपचलन गरेका छन् । अन्य ऋणीहरू गणेशप्रसाद दाहालले ११ करोड ८६ लाख ६३ हजार र राजु खड्काले ७ करोड ७५ लाख ७० हजार रुपैयाँ भुक्तानी गरेका छैनन् ।

ललितपुरको सातदोबाटोबाट सुरु भएको यो सहकारी ‘ब्रिटिस गोर्खा ग्रुप’ द्वारा प्रवर्द्धित भन्दै प्रचार गरिएको थियो । जीबी राई, जो डीबी बम्जनका बहिनी–ज्वाइँ हुन्, उनी पनि यसै समूहसँग जोडिएका थिए । डीबीका दाइ ज्ञानबहादुर बम्जनले पछि सूर्यदर्शन (पोखरा), कल्याण उपकार (बानेश्वर), स्वर्णलक्ष्मी (कालिमाटी) र लालीगुराँस (नयाँबजार) जस्ता सहकारी स्थापना गरी आफन्तहरूलाई सञ्चालक बनाएका थिए ।

गोरखा सेभिङमा ३० जना ठूला ऋणीले कुल ऋणको ७० प्रतिशतभन्दा बढी हिस्सा ओगटेका छन् । २०८० चैत मसान्तसम्म सहकारीको बचत दायित्व ४ अर्ब २७ करोड ८९ लाख ८६ हजार ५ सय २५ रुपैयाँ छ भने संस्था ३७ करोड ४ लाख ३२ हजार ६ सय रुपैयाँ सञ्चित घाटामा छ । सहकारीले गोरखा हस्पिटलमा गरेको २४ करोड ८० लाख ५१ हजार रुपैयाँ ऋण लगानी पनि असुल हुन सकेको छैन । २०६९ सालकै अनुगमनमा अपचलनको संकेत देखिए पनि कारबाही नहुँदा आज हजारौँ बचतकर्ता ठगिएका छन् ।