
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेपालका ४३ औं प्रधानमन्त्री बनेका छन् । शीतल निवासमा आयोजित विशेष समारोहमा बालेनले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
शुक्रबार मध्याह्न १२:३४ बजे बालेनले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
शपथ समारोहलाई विशेष धार्मिक विधिसहित सम्पन्न गरिएको हो । कार्यक्रममा सातवटा शंखबाट शंखनाद गरिएको थियो भने १०८ जना बटुकले स्वस्तिवाचन गरे । साथै, १०६ जना भिक्षुबाट अष्टमंगल पाठ गरिएको थियो ।
गत फागनु २१ मा सम्पन्न प्रनितिधि सभा निर्वाचनमा करिब दुई तिहाइ सिटमा जित हात पारेको रास्वपाले बालेनलाई बिहीबार संसदीय दलको नेता चयन गरेको थियो ।
संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा बालेन प्रधानमन्त्री बनेका हुन्गरेका हुन्।
नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक हो ।
को हुन् बालेन ?
३६ वर्षीय बालेन सबैभन्दा कम उमेरमा देशको निर्वाचित प्रधानमन्त्री बनेका हुन् । काठमाडौंमा जन्मिएका मधेशी मूलका बालेन पेशाले सिभिल इन्जिनियर हुन् । राजनीतिमा आउनुअघि उनी नेपाली र्याप संगीतमार्फत चिनिएका थिए। उनका गीतहरूमा भ्रष्टाचार, असमानता र राज्यप्रतिको असन्तुष्टि झल्किन्थ्यो, जसले उनलाई युवामाझ लोकप्रिय बनायो ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौं महानगरपालिकाको मेयरमा विजयी भएपछि बालेन राष्ट्रिय राजनीतिमा स्थापित भए । उनले परम्परागत दलहरूलाई चुनौती दिँदै ‘नयाँ विकल्प’ को रूपमा आफूलाई प्रस्तुत गरे ।
भदौ २३/२४ को जेनजी आन्दोलन र त्यसपछिको राजनीतिक परिवर्तनपछि उनी राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत राष्ट्रिय राजनीतिमा प्रवेश गरे । फागुन २१ मा झापा क्षेत्र नम्बर ५ बाट पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ५० हजार मतान्तरले हराउँदै उनी निर्वाचित भएका थिए ।
नेपाली राजनीतिमा एउटा नयाँ इतिहास रच्दै काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेनले मुलुकको कार्यकारी प्रधानमन्त्री बनेका हुन् । २०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौं महानगरको मेयरमा निर्वाचित भएपछि शाहको चर्चा चुलिएको थियो । मेयरका रूपमा सफल कार्यकाल बिताइरहेकै बेला उनले प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुन उम्मेदवारी दर्ता गर्नुभन्दा अघि मात्र मेयर पदबाट राजीनामा दिएका थिए ।
त्यसलगत्तै उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा वरिष्ठ नेताको पदसहित प्रवेश गरेका थिए । रास्वपाले शाहलाई नै भावी प्रधानमन्त्रीको रूपमा अघि सारेर निर्वाचनमा होमिएको थियो । पार्टीको पूर्वघोषणा र जनताको म्यान्डेटअनुसार उनी प्रधानमन्त्री बनेका हुन् ।
पारिवारिक पृष्ठभूमि र शिक्षा: इन्जिनियरिङमा दख्खल
२०४७ वैशाख १४ मा काठमाडौंको नरदेवीमा जन्मिएका बालेन्द्र शाहको पुर्ख्यौली थलो मधेश प्रदेशको महोत्तरी जिल्ला हो । उनी आयुर्वेदिक चिकित्सक डा. रामनारायण शाह र धुव्रादेवी साहका सन्तान हुन् ।
उनको शैक्षिक यात्रा काठमाडौंबाटै सुरु भएको हो । नरदेवीस्थित जल्जला स्कुलबाट प्रारम्भिक शिक्षा लिएका उनले तीनकुनेस्थित भिएस निकेतनबाट उच्च माध्यमिक शिक्षा पूरा गरे । उनले काठमाडौंको हिमालयन ह्वाइट हाउस कलेजबाट सिभिल इन्जिनियरिङमा स्नातक गरेका छन् । उच्च शिक्षा (स्नातोकत्तर) का लागि उनी भारत पुगेका थिए, जहाँ उनले कर्नाटकबाट स्ट्रकचरल इन्जिनियरिङमा डिग्री हासिल गरे । प्राविधिक ज्ञान र निर्माणसम्बन्धी कार्यमा उनीसँग उनको अनुभव छ।
बालेन शाह केवल र्यापर, राजनीतिज्ञ मात्र नभई एक दक्ष प्राविधिक पनि हुन् । ‘बालेन कन्सल्टिङ र कन्स्ट्रक्सन प्रालि’का सञ्चालक समेत रहेका उनले २०७२ सालको विनाशकारी भूकम्पपछि देशका विभिन्न स्थानमा पुगेर पुनःनिर्माणको कार्यमा महत्वपूर्ण भूमिका खेलेका थिए । भूकम्प र कोभिड महामारीका बेला उनले आफ्नो पेसागत दक्षतालाई सामाजिक सेवामा लगाए । नेतृत्व तहमा नबसी आफ्ना योजनाहरू प्रभावकारी ढंगले लागू गर्न नसकिने महसुस गरेर नै उनी मूलधारको राजनीतिमा होमिएका हुन् ।
इन्जिनियरिङ र राजनीतिको व्यस्तताबीच पनि शाहले आफ्नो सांगीतिक रुचिलाई मर्न दिएका छैनन् । उनी ‘नेपाली र्याप ब्याटल’को दोस्रो लिगका विजेता हुन् । सानैदेखि संगीत र कवितामा रुचि राख्ने उनले कक्षा ९ मा पढ्दा नै ‘सडक बालक’ नामक गीत लेखेका थिए, जुन २०१२ मा सार्वजनिक भयो । र्याप विधामा उनको छुट्टै पहिचान छ र देश–विदेशमा उनका थुप्रै प्रशंसकहरू रहेका छन् । प्रधानमन्त्रीको शपथ लिनुअघि मात्र बालेनले रिमेक गरेर नयाँ गीत सार्वजनिक गरेका छन् ।
बालेन वर्तमान नेपालको सामाजिक र राजनीतिक परिदृश्यमा आशालाग्दो नेता हुन् । बालेनले आफ्नो परिचयलाई केवल एउटा क्षेत्रमा मात्र सीमित राखेका छैनन् । उनी एक स्ट्रक्चरल इन्जिनियर, चर्चित र्यापर र काठमाडौं महानगरपालिकाको पूर्व मेयर हुन् ।
भी.एस. निकेतनबाट विज्ञान विषयमा प्लस टु उत्तीर्ण गरेपछि बालेन ह्वाइट हाउस इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको विश्वेश्वरैया टेक्नोलोजिकल युनिभर्सिटीबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर हासिल गरे । शैक्षिक रूपमा उनी एक दक्ष प्राविधिक हुन् ।
बालेनले आफ्नो इन्जिनियरिङ ज्ञानलाई व्यावहारिक क्षेत्रमा कुशलतापूर्वक प्रयोग गरेका छन् । २०७२ सालको विनाशकारी भूकम्पपछि उनले ‘नेसनल सोसाइटी अफ अर्थक्वायक टेक्नोलोजी’ सँग मिलेर क्षति मूल्यांकन को काम गरेका थिए । उनले ‘एशियन कन्स्ट्रक्सन कम्पनी’ मा ब्रिज इन्जिनियरका रूपमा काम गरे । साथै ‘बालेन कन्सल्टिङ एण्ड कन्स्ट्रक्सन प्रालि’ को म्यानेजिङ डाइरेक्टर भई विभिन्न शहरी डिजाइन र सिभिल कन्स्ट्रक्सनका कामहरू सम्हाले ।
उनले हेल्प नेपाल अर्गनाइजेसन, सोल्टी सिटी र एएसएफ नेपाल जस्ता संस्थाहरूमा प्राविधिक सल्लाहकार र प्रोजेक्ट म्यानेजरका रूपमा अनुभव बटुलेका छन् ।
इन्जिनियरिङ अध्ययन गर्दागर्दै पनि बालेनको रुचि संगीत र र्यापमा थियो । वि.सं. २०६९ मा उनले ‘सडक बालक’ नामको पहिलो गीत रेकर्ड गरे। ‘रअ बार्ज’ नामक र्याप ब्याटलबाट उनले युवा पुस्तामा अभूतपूर्व लोकप्रियता पाए । उनका गीतहरूमा प्राय: सामाजिक विसंगति, राजनीति र समसामयिक मुद्दाहरू झल्किन्छन्, जसले उनलाई बौद्धिक र्यापरको रूपमा चिनारी दियो ।
बालेनको राजनीतिक यात्रा वि.सं. २०७९ को स्थानीय तह निर्वाचनबाट उत्कर्षमा पुग्यो । स्वतन्त्र उम्मेदवारका रूपमा लौरो चुनाव चिन्ह लिएर उठेका बालेनले स्थापित राजनीतिक दलहरूलाई पराजित गर्दै काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भए । उनको ‘स्वतन्त्र’ अभियानले देशभरि नै एउटा नयाँ राजनीतिक चेतना र लहर पैदा गर्यो ।
वि.सं. २०८२ माघमा उनले काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिए । त्यसपछि ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ (रास्वपा) मा प्रवेश गरे । २०८२ फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा-५ बाट विजयी भए ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले करिब दुईतिहाई बहुमत पाएसँगै वरिष्ठ नेता बालेन आज चैत १३ गते नेपालको ४७ औं प्रधानमन्त्री नियुक्त बनेका छन् ।








प्रतिक्रिया