सम्पूर्ण अपडेट

बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

1.7k
Shares

काठमाडौं । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले करिब दुईतिहाइ बहुमत ल्याउने गरी प्रभावशाली प्रदर्शन गरेको छ । निर्वाचन अघिनै पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई रास्वपाले प्रधानमन्त्री बनाउने घोषणा गर्दै मत मागेको थियो । निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएपछि संविधानअनुसार प्रधानमन्त्री चयन हुने व्यवस्था छ।

बालेन प्रधानमन्त्री बन्दा उनी एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री बन्ने छन् । निर्वाचन आयोगको तथ्यांक अनुसार बालेन ३६ वर्षका हुन् ।

विश्वका सबैभन्दा कम उमेरका प्रधानमन्त्री भने अस्ट्रियाका सेबास्टियन कुर्ज बनेका थिए । अस्ट्रियामा प्रधानमन्त्री सरहको पदलाई चान्सलर भनिन्छ । उनी सन् २०१७ मा ३१ वर्षको उमेरमा चान्सलर बनेका थिए । उनी आधुनिक इतिहासमा सबैभन्दा कम उमेरमा सरकार प्रमुख बन्ने व्यक्ति हुन् ।

बालेन प्रधानमन्त्री बन्दा एसियाबाट सबैभन्दा कम उमेरका प्रधानमन्त्रीमध्ये दोस्रो हुने छन् ।

एसियाबाट पहिलो कम उमेरको प्रधानमन्त्री भने ३८ वर्षअघि पाकिस्तानले बेनजिर भुट्टोलाई पाएको थियो । उनी सन् १९८८ मा ३५ वर्षको उमेरमा पाकिस्तानको प्रधानमन्त्री बनेकी थिइन् । उनी कुनै पनि मुस्लिम बाहुल्य राष्ट्रको प्रधानमन्त्री बन्ने पहिलो महिला र एसियाकै कम उमेरकी प्रधानमन्त्री बनेकी थिइन् ।

पाकिस्तानका सैनिक शासक जियाउलहकको मृत्युपछि सन् १९८८ मा आम निर्वाचन भएको थियो। उक्त निर्वाचनमा बेनजिर भुट्टोको पार्टी ‘पाकिस्तान पिपुल्स पार्टी’ सबैभन्दा ठूलो दल बनेको थियो।

एसियामा सबभन्दा कम उमेरको प्रधानमन्त्रीको तेस्रोमा थाइल्यान्डकी पेतोङतार्न शिनावात्राले बनाएकी छन् । उनी ३७ वर्षको उमेरमा प्रधानमन्त्री बनेकी हुन् ।

सन् १९८६ अगस्ट २१ मा जन्मेकी शिनावात्राले सन् २०२४ अगस्ट १६ मा प्रधानमन्त्री पद सम्हालेकी थिइन् । उनी पूर्व प्रधानमन्त्री थाक्सिन शिनावात्राकी छोरी हुन् । तर, पदीय नैतिकता पालन नगरेको भन्दै थाइल्यान्डको संवैधानिक अदालतको निर्णय आएपछि उनी सन् २०२५ अगस्टमा पदमुक्त भएकी थिइन् ।

फिनल्याण्डकी ३४ वर्षीय सान्ना मारिन विश्वको सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बन्ने पहिलो महिला हुन् । सन् २०१९ मा उनी ३४ वर्षको उमेरमा फिनल्याण्डको प्रधानमन्त्री बनेकी थिइन् ।