रुस–युक्रेन युद्धको ४ वर्ष पूरा: कसरी टिक्यो रुस र के गुमायो पश्चिमले ?

259
Shares

काठमाडौं । सन् २०२२ फेब्रुअरी २४ मा रुसले युक्रेनविरुद्ध विशेष सैन्य कारबाही सुरु गरेको थियो । मंगलबार त्यस युद्धको चार वर्ष पूरा भएको छ ।

अमेरिका नेतृत्वको पश्चिमले सैन्य गठबन्धन नेटोलाई निरन्तर र आक्रामक रूपमा विस्तार गरी रुसको सुरक्षा संवेदनशीलतालाई बेवास्ता गरेकाले बाध्य भएर रुस युद्धमा होमिएको हो । विशेषगरी सन् २००८ मा रोमानियामा आयोजित नेटो शिखर सम्मेलनमा युक्रेन र जर्जियालाई पनि नेटोको सदस्य बनाउने भनेपछि रुसको धैर्यको बाँध टुटेको थियो ।

त्यसपछि उसले जर्जियासँग युद्ध गरी त्यहाँ आफ्नो अनुकूलको सरकार स्थापित गरेको छ भने सन् २०१४ मा युक्रेनबाट रणनीतिक रूपमा महत्त्वपूर्ण क्षेत्र क्राइमिया खोसेर आफूमा गाभेको छ ।

यस युद्धलाई मस्कोले सामूहिक पश्चिमविरुद्धको अस्तित्वको लडाइँ र एकध्रुवीय अमेरिकी प्रभुत्वलाई अन्त्य गर्ने प्रयासको रूपमा हेरेको छ ।

युद्धलाई सुरुमा रुसले युक्रेनको असैन्यीकरण र गैरनाजीकरणको उद्देश्यका साथ अघि बढाएको थियो । युक्रेनको पूर्वी भागमा रहेका रुसीभाषीहरूमाथि किएभका नवनाजीहरूले दमन गरिरहेकाले उनीहरूको सफाया गर्नु रुसको विशेष सैन्य कारवाहीको उद्देश्य हो ।

युद्ध सुरु भएपछि रुसी सेनाले राजधानी किएभसम्म पुग्ने प्रयास गरेको थियो । आत्तिएको युक्रेन वार्ताका लागि तयार भयो । टर्कीको इस्तानबुलमा भएको शान्तिवार्ता सफल बनाउन रुसले सद्भाव राखेर किएभबाट आफ्ना सेना फिर्ता बोलायो । शान्तिवार्ता निष्कर्षमा पुग्नै लाग्दा पश्चिमले दिएको दबाबका कारण युक्रेन त्यसबाट बाहिरियो ।

त्यसपछि रुसले आफ्नो ध्यान रुसीभाषीहरू बस्ने डोनबास क्षेत्रमा केन्द्रित गरेको थियो । त्यहाँको प्रमुख शहर मारिउपोलबाट युक्रेनीहरूलाई धपाउन सफल भएको रुसले आजोभ सागरमा नियन्त्रण कायम गरेर युद्धको पहिलो वर्षमा उल्लेख्य उपलब्धि हासिल गरेको थियो ।

युद्धको दोस्रो वर्षमा युक्रेनले पश्चिमा हतियारको सहयोगमा रुसविरुद्ध ठूलो प्रत्याक्रमणको तयारी गर्यो । सुरुमा त्यो सफल पनि भएको थियो र रुसी सेनाहरू खार्किभको मोर्चामा पछि हटेका थिए । तर, रुसको सुरोभिकिन लाइन भनिने रक्षात्मक पर्खालले युक्रेनी प्रयासलाई अन्ततोगत्वा विफल तुल्याइदियो । बाख्मुतको लामो र रक्तपातपूर्ण लडाइँमा रुसको विजयले युक्रेनी सेनाको मनोबलमा ठूलो धक्का पुर्यायो।

तेस्रो र चौथो वर्षमा रुसले आव्दिव्का जस्ता रणनीतिक शहरहरूमा नियन्त्रण कायम गरेको थियो । युद्ध लम्बिँदै जाँदा युक्रेनमा सैन्य जनशक्तिको अभाव देखिन थाल्यो भने रुसले आफ्नो रक्षा उद्योगलाई युद्धस्तरमा विस्तार गर्यो ।

सन् २०२४ अगस्त ६ मा युक्रेनले रुसको कुर्स्क ओब्लास्टमा अचानक आक्रमण सुरु गरेको थियो । त्यो लडाइँ उत्कर्षमा पुग्दा युक्रेनी सेनाले सुज्जा शहरसहित १३ सय वर्ग किलोमिटरभन्दा बढी भूभाग र करिब १०० वटा बस्तीहरूमा नियन्त्रण कायम गरेको दाबी गरेको थियो ।

युक्रेनले सन् २०२५ जनवरीमा आक्रमणको दोस्रो लहर सुरु गरेको थियो । तर, उत्तर कोरियाली सैनिकहरूको सहयोगमा रुसले गरेको ठूलो प्रत्याक्रमणपछि सन् २०२५ मार्चसम्ममा अधिकांश युक्रेनी सेनाहरू पछाडि हटेका थिए ।

इतिहासकै कडा प्रतिबन्धहरूको सामना गरे पनि रुसी अर्थतन्त्र ढलेन । उल्टो, रुसले डलरमाथिको निर्भरता घटायो र चीन, भारत तथा ग्लोबल साउथसँग नयाँ व्यापारिक सम्बन्ध स्थापित गर्यो । रुसले देखाएको यो आर्थिक सहनशीलता पश्चिमा जगतका लागि आश्चर्यको विषय बनेको छ

कुर्स्कबाट फिर्ता भएपछि युक्रेनले रुसको बेलगोरोद क्षेत्रमा अचानक आक्रमण सुरु गरेको थियो र डेमिडोभका जस्ता धेरै सीमावर्ती बस्तीहरूमा प्रवेश गरेको थियो । तर, रुसको प्रतिकारपछि युक्रेनी सैनिकहरू पछि हट्न बाध्य भए ।

यसबीचमा युक्रेनले रुसको मुख्यभूमिमा ड्रोनबाट अनेकौं आक्रमण गरेको छ । उसले त्यसक्रममा रुसका सैन्य अधिकारी र प्रभावशाली व्यक्तिहरूको हत्या समेत गरेको छ । विशेषगरी, सन् २०२५ को जुन महिनामा युक्रेनले चलाएको अपरेशन स्पाइडरवेबले रुसका अर्बौं डलर पर्ने सैन्य सामग्रीहरूलाई ध्वस्त पारेको थियो ।

पाँचौं वर्षमा आइपुग्दा रुसले दोनबासका प्रमुख क्षेत्रहरूमा आफ्नो पकड मजबुत बनाइसकेको छ । अहिले दोनबासको करिब ८९ प्रतिशत भूभाग रुसको नियन्त्रणमा छ । त्यसमध्ये लुगान्स्क लगभग पूरै र दोनेत्स्कको करिब ८० प्रतिशत भूभाग रुसीहरूको नियन्त्रणमा छ ।

त्यसबाहेक युक्रेनको दक्षिणी भागमा रहेका जापोरिजा र खर्सन क्षेत्रका करिब ७६ प्रतिशत भूभागमा रुसी सेनाको नियन्त्रण छ । खार्किभ, सुमी र निकोलाएभका सानातिना भूभाग पनि रुसको कब्जामा छ ।

समग्रमा युक्रेनको लगभग २० प्रतिशत भूभाग अर्थात् १ लाख २० हजार वर्गकिलोमिटरमा रुसले नियन्त्रण कायम गरेको छ । दोनबासको सम्पूर्ण क्षेत्रबाट युक्रेन बाहिरिनुपर्ने रुसको माग छ तर युक्रेनले त्यसो गर्न नमानेकाले शान्तिवार्ताहरू सफल हुन सकेका छैनन् ।

रुस युक्रेन दुवैले युद्धका क्रममा गरेको सैन्य खर्च, भौतिक संरचनाको विनाश र विश्वव्यापी आर्थिक मन्दीलाई जोड्ने हो भने, यो युद्धको कुल लागत ५ ट्रिलियन (५० खर्ब) डलर नाघिसकेको अनुमान गरिन्छ। यो रकम विश्वका धेरै साना देशहरूको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) भन्दा धेरै गुणा बढी हो ।

पश्चिमा विश्लेषकहरूले रुसलाई कमजोर भएको दाबी गरेको भए पनि रुसले उल्लेख्य ऐतिहासिक र रणनीतिक सफलता हासिल गरेको छ । लुगान्स्क, दोनेत्स्क, जापोरिजा र खर्सन क्षेत्रहरूलाई रुसले आफ्नो अभिन्न अंग बनाएको छ । यसले रुसको भूगोल मात्र बढाएको नभई त्यहाँ रहेका खनिज र औद्योगिक स्रोतहरूमा पनि नियन्त्रण कायम गरेको छ ।

रुसले दोनबास क्षेत्रमा नियन्त्रण कायम गरेपछि क्राइमिया रुसको मुख्यभूमिसँग जमिनमार्फत जोडिएको छ । आजोभ सागर अब रुसको आन्तरिक सागर बनेको छ जसमार्फत उसलाई कृष्ण सागरमा निर्बाध पहुँच सुनिश्चित गरेको छ ।

त्यसबाहेक इतिहासकै कडा प्रतिबन्धहरूको सामना गरे पनि रुसी अर्थतन्त्र ढलेन । उल्टो, रुसले डलरमाथिको निर्भरता घटायो र चीन, भारत तथा ग्लोबल साउथसँग नयाँ व्यापारिक सम्बन्ध स्थापित गर्यो । रुसले देखाएको यो आर्थिक सहनशीलता पश्चिमा जगतका लागि आश्चर्यको विषय बनेको छ ।

रुसले यस युद्धमार्फत अमेरिकाको नियममा आधारित व्यवस्थालाई चुनौती दिएको छ । ब्रिक्सको विस्तार र नयाँ आर्थिक करिडोरहरूको निर्माणले विश्व अब वाशिङटनको इशारामा मात्र चल्दैन भन्ने सन्देश दिएको छ ।

कुरा मिल्दै गएछ भने कोरियाली मोडलमा लामो समयसम्म द्वन्द्वलाई फ्रिज गरिने सम्भावना छ

अमेरिकामा डोनल्ड ट्रम्प दोस्रोपटक राष्ट्रपति बनेपछि शान्ति प्रक्रियाले तीव्रता पाएको छ । पूर्ववर्ती बाइडन प्रशासनले पुटिनसँग कुनै हालतमा कुराकानी नगर्ने भनी अडान लिएकोमा ट्रम्पले त्यसको विपरीत पुटिनसँग अलास्कामा भेटवार्ता गरेका छन् । ट्रम्पले कार्यकाल सम्हालेको २४ घण्टाभित्र युद्ध रोक्न सक्ने दाबी गरेको भए पनि त्यसमा सफलता भने हासिल गरेका छैनन् । तैपनि रुसका लागि ट्रम्पको दृष्टिकोण यथार्थवादी देखिन्छ ।

ट्रम्प र उनका सल्लाहकारहरूले युद्धको अग्रपंक्तिलाई यथास्थितिमा फ्रिज गर्ने प्रस्ताव गरेका छन् । यसको अर्थ हुन्छ, रुसले हाल कब्जा गरेका क्षेत्रहरू उसकै नियन्त्रणमा रहनेछ । खासमा ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भूभाग सुम्पिन दबाब दिइरहेका छन् । त्यसैगरी ट्रम्पको टोलीले युक्रेनलाई नेटोको सदस्य नबन्ने शर्त मान्नका लागि फकाइरहेको छ र त्यो रुसको प्रमुख माग हो ।

ट्रम्पले शान्तिका लागि प्रयास गरिरहेको भए पनि रुसले उनीमाथि पूर्ण विश्वास गर्न सकेको छैन । त्यसैले युक्रेनलाई झुकाउनका लागि रुसले उसको विद्युतीय प्रणाली लगायतका संरचनामा आक्रमण बढाएको छ । तर, शान्तिबहालीका लागि ट्रम्प नै सबभन्दा उपयुक्त पात्र हुन् भन्ने कुरा रुसले बुझेको छ ।

शान्तिवार्ता र युद्ध एकैसाथ चलिरहेको भए पनि युक्रेनलाई ट्रम्पले चर्को दबाब दिएमा सक्रिय लडाइँ रोकिन सक्छ । हालको सैन्य नियन्त्रण रेखालाई नै नयाँ सिमानाको रूपमा स्वीकार्न युरोपले रुसलाई आग्रह गरेको छ तर रुसले दोनबास क्षेत्र पूरै आफ्नो नियन्त्रणमा हुनुपर्ने भनिरहेको छ । कुरा मिल्दै गएछ भने कोरियाली मोडलमा लामो समयसम्म द्वन्द्वलाई फ्रिज गरिने सम्भावना छ ।

युक्रेनलाई तटस्थ बफर जोन (मध्यवर्ती क्षेत्र) को रूपमा रहन बाध्य पारिने सम्भावना पनि छ । त्यस अवस्थामा ऊ नेटोको सदस्य हुनेछैन र रुसी नियन्त्रणमा पनि रहने छैन । युक्रेनको भविष्य स्विट्जरल्याण्ड वा अस्ट्रिया जस्तो तटस्थ राष्ट्रको रूपमा हुन सक्छ तर उसको ठूलो भूभाग रुसको कब्जामा रहनेछ ।

युरोपले रुसलाई पूर्ण रूपमा अलग राखेर आफ्नो सुरक्षा सुनिश्चित गर्न सक्दैन भन्ने महसुस गरेको छ । जर्मनी र फ्रान्स जस्ता देशहरूले ढिलो–चाँडो रुससँग ऊर्जा र सुरक्षा साझेदारी पुनः थाल्नुपर्ने हुन सक्छ ।

युद्धले रुसभित्र देशभक्तिको नयाँ लहर ल्याएको छ । पुटिनपछिको रुस अझ बढी सैन्यीकृत र राष्ट्रवादी हुने सम्भावना छ । रुसले आफ्नो सैन्य प्रविधिलाई आधुनिक बनाएको छ र युद्धको अनुभवले रुसी सेनालाई विश्वको सबैभन्दा अनुभवी सेनाको रूपमा स्थापित गरेको छ ।

तर, युद्धका क्रममा विकसित घटनाक्रमहरूले रुसमाथि नयाँ भूरणनीतिक चुनौतीहरू पनि तेर्स्याएको छ ।

रुसको दक्षिणी परिधिमा नेटोको विस्तार हुन लागेको छ । आर्मेनियाको दक्षिणी स्युनिक प्रान्त हुँदै जाने अन्तर्राष्ट्रिय शान्ति र समृद्धिका लागि ट्रम्प मार्ग (ट्रिप) ले दक्षिण ककेससबाट मध्य एसियासम्म पुग्ने नेटोको सैन्य–लजिस्टिक करिडोरको दोहोरो भूमिका निर्वाह गर्नेछ । सदस्य राष्ट्र टर्कीको नेतृत्वमा र सहयोगी देश अजरबैजानलाई क्यास्पियन सागर वारपार प्रस्थानविन्दुका रूपमा उपयोग गरिने सम्भावना छ ।

यी जोखिमहरूलाई नियन्त्रण नगरिएमा भने ट्रिपले रुसको क्षेत्रीय सुरक्षा स्थितिलाई झन् खराब बनाउने सम्भावना छ । विशेषगरी, यसले कजाकस्तानलाई युक्रेनको बाटो पछ्याउन प्रोत्साहित गरेमा रुसलाई असहज हुनेछ ।

युद्धले एउटा कुरा भने स्पष्ट पारेको छ । रुसलाई सैन्य वा आर्थिक रूपमा पराजित गर्नु असम्भव छ । भविष्यको विश्व व्यवस्थामा रुसलाई कसैले पनि बेवास्ता गर्न सक्दैन

युक्रेन युद्ध समाप्त भएपछि रुसलाई घेराबन्दी गर्नका लागि अमेरिकी राष्ट्रिय सुरक्षा रणनीतिमा पोल्यान्डलाई केन्द्रीय भूमिका खेल्न वाशिङटनले तयार पारेको छ । पोल्यान्डसँग पहिले नै युरोपेली संघको सबैभन्दा ठूलो सेना छ र त्यो देश महत्त्वपूर्ण सैन्य–लजिस्टिक करिडोरहरूको बीचमा अवस्थित छ । आफ्नो पुरानो महाशक्ति हैसियत र रुससँगको ऐतिहासिक प्रतिस्पर्धालाई पुनर्जीवित गर्न पोल्यान्ड निकै उत्सुक छ ।

त्यसबाहेक युरोपेली संघ (ईयू) ले अभूतपूर्व रूपमा सैन्यीकरण गरिरहेको छ र आफ्नो सैन्य–लजिस्टिक क्षमतालाई स्तरोन्नति गर्दैछ । ईयूको शक्तिशाली मुलुक जर्मनीले रुसको घेराबन्दीको नेतृत्व गर्न पोल्यान्डसँग प्रतिस्पर्धा गरिरहेको छ जसमा सन् २०२५ मा मात्र स्वीकृत गरिएको करिब १०० अर्ब डलरको रक्षा खरिद परियोजनाहरूको ठूलो भूमिका छ ।

समग्रमा ८०० अर्ब युरोको रिआर्म युरोप प्लानको सहयोगमा सैन्यीकरण भइरहेको छ । आफ्नो सिमानातिर सेना र उपकरणहरूको द्रुत ढुवानीका लागि बनाइएको सैन्य सेन्जेन तीव्र गतिमा अघि बढ्नु रुसका लागि थप चिन्ताको विषय छ । त्यसमा बाल्टिक राष्ट्रहरूले पनि जोडिनका लागि नयाँ प्रतिबद्धता जनाएका छन् ।

यी चुनौतीहरूका बावजुद रुसले युद्धमार्फत आफ्नो वर्चस्व स्थापना गर्न सफलता पाएको छ । डोनल्ड ट्रम्पको शान्ति प्रयासले रुसको सुरक्षा चिन्तालाई सम्बोधन गरे मात्र दिगो शान्ति सम्भव छ । युक्रेन अब पुरानो अवस्थामा फर्कन सक्ने छैन र विश्वले नयाँ भूराजनीतिक वास्तविकतालाई स्वीकार्नुपर्नेछ ।

युद्धले एउटा कुरा भने स्पष्ट पारेको छ । रुसलाई सैन्य वा आर्थिक रूपमा पराजित गर्नु असम्भव छ । भविष्यको विश्व व्यवस्थामा रुसलाई कसैले पनि बेवास्ता गर्न सक्दैन ।