
जेनजी आन्दोलन र त्यसबाट प्राप्त हुने नतिजा यतिबिघ्न विध्वंसकारी र कहालीलाग्दो होला भन्ने कल्पना सायद कसैले पनि गरेका थिएनौं । सुशासन कायम गर्नुपर्ने, भ्रष्टाचारको अन्त्य हुनुपर्ने र राज्य सञ्चालनमा सुधार आउनुपर्ने माग सहितको जेनजी आन्दोलनले त्यस्तो रूप लिन्छ भन्ने कल्पना कसैले गर्न नसक्नु पनि स्वाभाविक नै हो ।
जेनजी आन्दोलनका क्रममा जुन किसिमको तोडफोड, आगजनी र लुटपाट भयो त्यसले सबै क्षेत्रमा नकारात्मक असर पुर्यायो । आन्दोलनका क्रममा राज्यले संयम गुमाउँदा ठूलो मानवीय क्षति पुग्यो । राज्यको तर्फबाट कलिला बालबालिकाको टाउकोमा गोली हान्दा सबैको मन भक्कानियो । जोजसले सो क्रममा ज्यान गुमाउनुभयो, उहाँहरूप्रति भावपूर्ण श्रद्धाञ्जली र परिवारजनमा समवेदना छ ।
भविष्यमा यस्तो अवस्था कहिल्यै देख्न र भोग्न नपरोस् भन्ने कामना पनि छ । प्रदर्शनका क्रममा आन्दोलन नियन्त्रणभन्दा बाहिर पुग्दा मुलुकले ठूलो मात्रामा भौतिक र आर्थिक क्षति भोग्नुपर्यो । आन्दोलनले निजी क्षेत्रका व्यावसायिक भवन र कारोबार खरानीमा परिणत हुँदा मनोवैज्ञानिक र मानसिक असर पर्नु स्वाभाविक थियो।
औद्योगिक र व्यावसायिक यात्राको झण्डै अढाई दशकको यात्रामा अनेकौं उतारचढाव नभोगेको होइन । तर, जेनजी आन्दोलनमा जस्तो मानसिक र मनोवैज्ञानिक त्रास भने भोग्नुपरेको थिएन । मेरो औद्योगिक र व्यावसायिक कारोबार कोशी र बागमती प्रदेशमा केन्द्रित छ भने करिब ४०० जनाले रोजगारी पाएका छन् । व्यक्तिगत रूपमा मेरो उद्योग व्यवसायमा क्षति नपुगेको भए पनि मानसिक र मनोवैज्ञानिक क्षति भने भोग्नुपर्ने स्थिति आयो ।
मुलुकको अर्थतन्त्र एउटा लयमा हिँडिरहेको समयमा भएको जनेजी प्रदर्शनले देशको दिशामा नै परिवर्तन ल्याएको छ । भोलिको बाटो के हो भन्ने अन्योलको स्थिति छ । जेनजी आन्दोलनपछि व्यावसायिक वातावरण बनाउन सरकारले केही हदसम्म प्रयास गरिरहेको छ जुन निकै सकारात्मक छ ।
सरकारले गरेका प्रयासहरूबाट केही हदसम्म सुरक्षा महसुस भएको छ । हुन त, निर्वाचन गराउने अहिलेको सरकारको मुख्य म्यान्डेट हो । त्यो म्यान्डेट सरकारले चाँडै पूरा गर्नुपर्छ । अब निर्वाचनपछि आउने सरकारले अहिलेको निजी क्षेत्रको मनोबल उकास्ने प्रयासलाई थप निरन्तरता दिन आवश्यक छ ।
जहाँसम्म निजी क्षेत्रको विषय छ, आजका दिनसम्म पनि निजी क्षेत्रमाथि नकारात्मक दृष्टिकोण राख्नुपर्ने आवश्यकता देखिँदैन । निजी क्षेत्र मुलुक र नागरिक समाजको महत्त्वपूर्ण हिस्सा हो । निजी क्षेत्रबिना मुलुकमा आर्थिक गतिविधि र रोजगारीका अवसरको सृजना सम्भव छैन । निजी क्षेत्र र उद्योगी व्यवसायीलाई हेर्ने दृष्टिकोण नै परिवर्तन गर्न आवश्यक छ ।
निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न सरकार र मिडियाको पनि महत्त्वपूर्ण भूमिका छ । कानुनमा पनि परिवर्तन गर्नुपर्ने आवश्यकता छ । निजी क्षेत्रलाई पहिला सुन्ने र पछि मात्र थुन्ने नीति राज्यले लिन आवश्यक छ । निजी क्षेत्र भनेको नितान्त व्यवसाय गर्ने, रोजगारी सिर्जना गर्ने, सरकारलाई राजस्व तिर्ने तथा आफ्नो र देशकै आर्थिक अवस्था उकास्ने उद्देश्यका साथ लागेको वर्ग हो । तसर्थ, यस वर्गमाथि गलत दृष्टिकोण राखेर हुँदैन ।
हाम्रो समाजमा अहिले अपराध गर्नेलाई पुरस्कार र निर्दोषलाई सजाय दिने किसिमको प्रवृत्ति छ । कुशासन र भ्रष्टाचारको जड नेपाली समाजमा व्याप्त हुँदा जनआक्रोश बढेको छ । अब मुलुकका सबै तह यसमा गम्भीर हुनुपर्ने समय आएको छ । अब नयाँ पुस्ताको भावनालाई समेटेर, उनीहरूलाई साथमा लिएर अघि बढ्ने बाटोमा सरकार र समाज हिँड्नुपर्छ । नयाँ नेतृत्वमा पुरानै झल्को देखियो र विगतका कमजोरी फेरि दोहोरिने भयो भने त्यसले युवाहरूको असन्तुष्टि थप बढाउँछ ।
आजका दिनमा मुलुकमा युवाहरूका लागि पर्याप्त अवसरको अभाव छ । कसैलाई पनि रहरले विदेश जान मन लाग्दैन । तर, यहाँ धेरै युवाहरू दिनहुँ बिदेसिन बाध्य छन् ।
यो अवस्था अन्त्यका लागि हामीले एउटा आधार (प्लेटफर्म) तयार गर्नुपर्छ । निजी क्षेत्रका नाताले हामी आफ्नो भूमिका निर्वाह गर्न तयार छौं । सरकारले पूर्वाधार विकास गरेर सहजकर्ताको भूमिका निर्वाह गरिदिनुपर्छ । निजी क्षेत्रलाई काम गरेर खाने वातावरण बनाइदिनुपर्छ । हाम्रो समाजमा अत्यधिक नकारात्मक आक्रोश थियो । त्यो आक्रोश कुनै न कुनै समयमा विस्फोट हुन्छ जस्तो लागेको थियो । दुर्भाग्यवश, त्यो नराम्रोसँग विस्फोट भयो ।
अब हामीले त्यसलाई एउटा नराम्रो सपनाका रूपमा बिर्सेर अघि बढ्नुको विकल्प छैन । त्यसका लागि सरकारले सुरक्षाको प्रत्याभूत गरेर लगानीको वातावरण सृजना गर्नुपर्छ । व्यापार घाटालाई न्यूनीकरण गर्न स्वदेशी उत्पादन बढाउने रणनीति तर्जुमा गर्नुपर्छ । स्वदेशमा निकासीजन्य उद्योग स्थापना गर्न विद्यमान कानुनी झन्झट हटाएर नीति र करका दरमा संशोधन गर्नुपर्छ । यसो गरेमा मुलुकमा लगानीको वातावरण बन्ने देखिन्छ ।
(प्रस्तुत लेख ‘जेनजी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरण’ अध्ययन प्रतिवेदन तयार गर्ने क्रममा सोधिएका प्रश्नहरुमा एमएम ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक सुयस प्याकुरेलले दिएको जवाफका आधारमा तयार पारिएको हो।)








प्रतिक्रिया