अमेरिकाको साउथ क्यारोलाइना गोलीकाण्ड, २ जनाको मृत्यु

0
Shares

एजेन्सी । साउथ क्यारोलाइना स्टेट युनिभर्सिटीको एक छात्रावासमा बिहीबार राति भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको र अर्का एकजना घाइते भएका छन् ।

घटनापछि क्याम्पस लकडाउन गरिएको त्यहाँका अधिकारीहरूले एक विज्ञप्तिमा बताएका छन् ।

विश्वविद्यालयको फेसबुक पेजमा पोस्ट गरिएको विज्ञप्ति अनुसार, स्थानीय समय अनुसार राति करिब ९ः१५ बजे ह्युजिन सुइट्स विद्यार्थी आवासीय परिसरको एउटा अपार्टमेन्टमा गोली चलेको खबर प्राप्त भएको थियो ।

गोली चलाउने व्यक्ति अझै फरार छ कि छैन भन्ने लगायतका थप आधिकारिक विवरणहरू तुरुन्तै उपलब्ध हुन सकेनन् ।

विज्ञप्तिमा भनिएको छ, ‘विश्वविद्यालयका अधिकारीहरूले पीडितहरूको पहिचान वा घाइते व्यक्तिको अवस्थाको बारेमा अझै पुष्टि गरिसकेका छैनन् ।’

साउथ क्यारोलिना स्टेटमा ३ हजारभन्दा बढी विद्यार्थीहरू छन् । ओरेन्जबर्ग साउथ क्यारोलिनाका दुई ऐतिहासिक अश्वेत विश्वविद्यालयहरूमध्ये एक हो ।

यो शहर राज्यको राजधानी कोलम्बियाबाट करिब ४० माइल दक्षिणपूर्वमा अवस्थित नदी किनारको कलेज शहर हो । अर्को विश्वविद्यालय क्लाफलिन युनिभर्सिटी हो ।

बिहीबार राति विश्वविद्यालयको सार्वजनिक सुरक्षा कार्यालयको फोन उठाउने एक व्यक्तिले आफूलाई घटनाको बारेमा कुनै पनि जानकारी दिने अनुमति नभएको बताए ।

विश्वविद्यालयले गोलीकाण्डको छानबिन गर्न राज्यको कानुन कार्यान्वयन विभागलाई आग्रह गरेको र शुक्रबारका कक्षाहरू रद्द गरिएको जानकारी दिएको छ ।